शैक्षिक क्षेत्र अशान्त हुँदा त्यसको तत्कालीन मात्र होइन, दीर्घकालीन असरसमेत पर्ने छ । एक दिन विद्यालय बन्द हुँदा भविष्यका कर्णधार विद्यार्थीको अध्ययन गर्ने मनस्थितिमै प्रतिकूल असर पर्छ । मनोवैज्ञानिक असर पर्छ । बन्द, हडताल र अराजकताको लामो शृङ्खलाबाट देशको शैक्षिक जगत् पीडित छ तर यताका वर्षमा बन्द, हडताल र अराजकतामा न्यूनीकरण हुँदै गएको थियो । खास गरी एक दशकअघि संविधान निर्माण भएपछि बन्द, हडताल र अराजकतामा न्यूनीकरण हुँदै गएको हो । फेरि अराजकताका घटना देखिन थालेका छन् । मङ्गलबार कतिपय विद्यालय सञ्चालन हुन सकेनन् । कसले के माग राखेर विद्यालय बन्द गरिएको हो भन्ने राम्रो जानकारी पनि नपाइ विद्यालय बन्द भए । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनसमेतलाई असर पार्ने गरी बन्न आह्वान गरिएको हुन सक्ने कतिपयको भनाइ छ । विद्यालय मात्र होइन, देशकै उच्च शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय फेरि आन्दोलनको मारमा पर्न थालेको छ । केही समय मत्थर बनेको त्रिभुवन विश्वविद्यालय फेरि विद्यार्थी आन्दोलनको मारमा परेको भन्दै विद्यार्थी चिन्तित छन् । त्यसबाट शैक्षिक कार्यव्रmम प्रभावित हुने जोखिम बढेको छ । विश्वविद्यालयमा ताला नलगाउन विगतमा सर्वोच्च अदालतले नै आदेश दिएको थियो । आदेशको समेत उल्लङ्घन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल व्रmान्तिकारीले विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदार रिजालको कार्यकक्षमा ताला लगाएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा ताला लगाएको पनि धेरै दिन भइसक्यो । गएको पुस १९ गतेदेखि ताला लगाइएको रहेछ । तालाका कारण विश्वविद्यालयको शैक्षिक गतिविधिमा असर परिरहेको छ । त्यसै गरी प्रशासनिक तथा आर्थिक गतिविधिसमेत प्रभावित भएको छ । तालाका कारण विश्वविद्यालयका उच्च शैक्षिक नेतृत्व कार्यकक्षमा समेत प्रवेश गर्न पाएका छैनन् । कतिपय पदाधिकारी विश्वविद्यालय अन्तर्गतकै अन्य निकायका कार्यालयमा बसेर सामान्य दैनिक प्रशासनिक काम चलाइरहेको पाइएको छ । विश्वविद्यालयमा ताला लगाउने परिघटना विगतमा पनि नभएको होइन । गत जेठ १४ गते पनि तीन वटै पदाधिकारीको कार्यकक्षमा ताला लगाएको थियो । यसविरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले असार १८ गते ताला खोल्न आदेश दिएको थियो । सोही आदेशका आधारमा ताला खुलेको थियो । ताला खोल्ने त्यो आदेश त्यसबेलाको न्याय निरूपण मात्र होइन, विश्वविद्यालयमा बल प्रयोग नगरी समाधान खोज्नुपर्ने सन्देशसमेत हो । विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थामा पटक पटक तालाबन्दी हुनु राम्रो होइन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा त्यसको राम्रो सन्देश जाँदैन । अझ बढी विद्यार्थी पलायन हुने जोखिम बढ्छ । त्रिवि अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतको विभागमा रूपान्तरण गरिएको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, शान्ति, द्वन्द्व र विकास विभाग, लैङ्गिक अध्ययन विभाग र सामाजिक कार्य विभागले शुल्क घटाउने विषयमा अहिलेको समस्या आएको रहेछ । यो समस्या संवादबाट तत्काल समाधान गर्नु पर्छ ।
हरेक समस्याको शान्तिपूर्ण समाधान लोकतन्त्रको सुन्दर पक्ष हो । देशभित्र शिक्षा र रोजगारीको अवसर अभाव भएका कारण ठुलो सङ्ख्यामा देश बाहिर जाने व्रmम बढिरहेको छ । शिक्षाका निम्ति अस्ट्रेलिया, अमेरिका, क्यानडालगायतका मुलुक जाने व्रmम बढ्दो छ । यसबाट तीक्ष्ण जनशक्ति बाहिर अध्ययन गर्न गई उतै बस्न थालेबाट देशलाई दीर्घकालीन असर परेको छ । शिक्षाका निम्ति ठुलो धनराशि बाहिरिरहेको छ । ज्ञान उत्पादन र विद्यार्थीको भविष्य निर्माण हुने जस्तो संवेदनशील संस्थामा शान्तिपूर्ण गतिविधि मात्र मान्य हुनु पर्छ । बन्द, हडताल, तालाबन्दी मान्य हुन सक्दैन । विद्यार्थीका सङ्घ संस्थाले विद्यार्थीकै हितमा काम गरेको हो भने पनि बन्द, हडताल आदि नगरी शान्तिपूर्ण तवरबाट समस्याको समाधान खोज्नु पर्छ । तालाबन्दी गरी सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधि ठप्प पारेर त शैक्षिक संस्थाको अध्ययन अध्यापनको वातावरण नै बिग्रन्छ । कुनै पनि समस्याको दिगो समाधान आउन सक्दैन । संवाद गरेर दिगो समाधान खोज्नु पर्छ । शैक्षिक क्षेत्रको अराजकता देशको निर्वाचन हुन नदिने षड्यन्त्रको आरम्भ पनि हुन सक्छ । निर्वाचन नै मुलुकको राजनीतिक निकासको मूल मार्ग हो । नवपुस्ता अर्थात् जेनजी विद्रोहपछि तत्कालीन सरकार विघटन भयो । अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारले निर्वाचनको सम्पूर्ण तयारी गर्दै सुनिश्चिततातर्फ अगाडि बढेका बेला शैक्षिक क्षेत्रमा अन्योल ल्याई वातावरण बिगार्ने काम मान्य हुँदैन । शैक्षिक क्षेत्र शान्त हुनु पर्छ ।