• १ माघ २०८२, बिहिबार

सुख्खा र खडेरीका कारण हुम्लाका वनमा आगलागी बढ्दै

blog

नाम्खा गाउँपालिका–१ धिंगा गाउँको वनमा लागेको आगो। तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, माघ १ गते ।
हिमाली जिल्ला हुम्लामा हिउँदयाम सुरु भएसँगै वनजङ्गलमा आगलागीका घटनाहरू बढ्दै गएका छन् । हालसम्म वर्षा तथा हिमपात नभएकाले सुख्खा र खडेरीका कारण आगलागीका घटना वृद्धि भएको हो ।

आगो लगाउनेको यकिन पहिचान हुन नसके पनि पैदल यात्रु, पशु चराउने गोठाला तथा चोरी–छिपी वनमा शिकार खेल्न गएका स्थानीयले आगो लगाएको हुन सक्ने आशङ्का गरिएको छ ।

दुई दिनभित्र हुम्लाका चार वटा वन क्षेत्रमा आगलागी भएको सर्केगार्ड गाउँपालिका–२ जोगमल फडेराले जानकारी दिनुभयो । हिउँदे महिना आफैँमा सुख्खा हुने र यस वर्ष हालसम्म वर्षा तथा हिमपात नहुँदा खडेरीले समस्या बढेको उहाँले बताउनुभयो । एकै दिनमा दुई वटा वन क्षेत्रमा आगलागी हुँदा वनजङ्गलमा क्षति पुगेको उहाँको भनाइ छ । आगलागी कसले लगाएको हो भन्ने खुलेको छैन । पशु चराउन गएका गोठालाबाट आगो फैलिएको हुन सक्ने र आगलागीबाट पशुहरू जोगाउन कठिनाइ भएको उहाँले बताउनुभयो ।

त्यस्तै, आइतबार खार्पुनाथ गाउँपालिका–२ थाली गाउँको वनमा पनि आगलागी हुँदा वनजङ्गल नष्ट भएको स्थानीय जानकी रावलले बताउनुभयो । उक्त आगो हालसम्म पूर्ण रूपमा नियन्त्रणमा लिन नसकिएको उहाँको भनाइ छ । गोठाला, घाँस, स्याउला तथा दाउरा सङ्कलन गर्न वन जाने क्रममा वर्षेनी यस्ता आगलागीका घटना हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

यता, नाम्खा गाउँपालिका–१ धिंगा गाउँको वनमा पनि ठूलो आगलागी भएको स्थानीय पेम्बा लामाले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सदरमुकाम सिमकोटबाट खटिएको टोलीले सहयोग गरेको उहाँले बताउनुभयो । स्थानीयस्तरमा आगो लगाएपछि अर्को वर्ष घाँस र गुच्ची च्याउ राम्रो फल्ने विश्वासका कारण पनि आगलागी हुने गरेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु श्रेष्ठले हिउँदयामसँगै वन आगलागीका घटना बढिरहेको बताउनुभयो । आगो लगाउनेको खोजी स्थानीयको सहयोग बिना कठिन हुने भन्दै उहाँले वनमा आगो नलगाउन र कुनै घटना भए तत्काल प्रहरीलाई जानकारी गराउन जिल्लावासीसँग आग्रह गर्नुभयो । वन आगलागीबाट बनजङ्गलसँगै मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले सचेत रहन उहाँले अनुरोध गर्नुभयो ।