गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा मुलुकको अर्थतन्त्रले ३.०२ प्रतिशतले वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार पहिलो त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै मौसमी प्रभाव नरहेको अवस्थामा सो बराबरको वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो । यस अवधिमा कुल १८ वटै औद्योगिक क्षेत्रमा धनात्मक वृद्धिदर रहने आकलन कार्यालयको छ ।
कार्यालयले अर्थतन्त्रलाई विभिन्न १८ वटा क्षेत्रमा वर्गीकरण गरेर तत् क्षेत्रको वृद्धिदरको औसतका आधारमा अर्थतन्त्रको वृद्धिदर प्रक्षेपण गर्छ । सबै क्षेत्रको धनात्मक वृद्धिदरले अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत गर्छ । गत आवको सोही अवधिमा २.९ प्रतिशतको वृद्धिदर रहेको थियो ।
चालु आवको पहिलो त्रैमासमा खाद्यान्न बाली, वनपैदावार, निर्जीवन बिमा, आन्तरिक उत्पादनका निर्माण सामग्रीको उत्पादनमा सङ्कुचन आएको कार्यालयले जनाएको छ । यद्यपि विद्युत् उत्पादन तथा वितरण, वित्तीय व्रिmयाकलाप, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी, व्यापार सेवा, पर्यटनलगायतका व्रिmयाकलापमा वृद्धि हुँदा अर्थतन्त्रमा उल्लिखित बराबरको वृद्धिदर हुने कार्यालयले अनुमान सार्वजनिक गरेको छ ।
अर्थतन्त्रमा मौसमी प्रभावलाई समेत समायोजन गर्दा वृद्धिदर भने नकारात्मक हुने कार्यालयको प्रक्षेपण छ । कार्यालयका अनुसार मौसमी प्रभावलाई समेट्दा पहिलो त्रैमासको वृद्धिदर १.६८ प्रतिशतले सङ्कुचित हुने देखिन्छ । गत आवको सोही अवधिमा ०.४ प्रतिशतको वृद्धिदर थियो । मौसमी प्रभावको समायोजन गर्दा कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये प्रशासनिक तथा सहयोगी सेवा, पेसागत, वैज्ञानिक तथा प्राविधिक सेवा, सूचना तथा सञ्चार, विद्युत्, ग्यास, आवास र खाद्यान्न सेवाबाहेक १३ वटा क्षेत्रहरूको वृद्धिदर नकारात्मक रहेको छ ।
विद्युत् क्षेत्रको वृद्धिदर धेरै
पहिलो त्रैमासमा मौसमी प्रभावलाई समायोजन नगर्दा विद्युत् तथा ग्यास क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा बढी हुने अनुमान गरिएको छ ।
कार्यालयका अनुसार समीक्षा अवधिमा यस क्षेत्रको वृद्धिदर १४.९१ प्रतिशत हुने अनुमान छ । त्यसपछि वित्तीय तथा बिमाक्षेत्रको
७.०७ प्रतिशत, पेसागत, वैज्ञानिक तथा प्राविधिक सेवाको ५.५२ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवाको ५.४६ प्रतिशत, थोक तथा खुद्रा व्यापारको ३.८९ प्रतिशतको वृद्धिदर हुने अनुमान छ ।
खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.७६ प्रतिशत हुँदा निर्माणको क्षेत्रको ३.२६ प्रतिशत र शिक्षा क्षेत्रको २.६८ प्रतिशतको हुने अनुमान गरिएको छ । अर्थतन्त्रमा महìवपूर्ण योगदान हुने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने १.३६ प्रतिशतको वृद्धिदर हुने प्रक्षेपण कार्यालयले गरेको छ ।