काठमाडौँ, पुस ३० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ मा ८० प्रतिशत बेरुजु फस्यौट गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले मन्त्रालय मातहतका सबै विभाग, प्रतिष्ठान, बोर्ड र अस्पताललाई परिपत्र गर्दै माघ महिनामा बाँकी बेरुजुको कम्तिमा २० प्रतिशत र आर्थिक वर्ष २०८२÷८३ मा ८० प्रतिशत बेरुजु फस्यौट गर्न लगायतका छ बुँदे निर्देशन दिएको हो ।
पुस २५ को सचिवस्तरीय निर्णय अनुसार मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
कार्यलयमा मौज्दात रहेका जिन्सी मालसामानको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ९६ बमोजिमको प्रकृया गरी तीन महिनाभित्र मूल्य कायम गर्ने ।, वार्षिक जिन्सी निरीक्षण प्रतिवेदनमा लिलाम योग्य भनी समावेश भएका जिन्सी मालसामानहरू आर्थिक वर्ष २०८२÷०८३ भित्र लिलाम गर्ने निर्देशन दिएको छ ।
त्यसैगरी, प्रतिष्ठान र बोर्डहरू तीन महिना भित्र आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा गर्ने ।, अन्य निकायले मन्त्रालयको आन्तरिक व्यवस्थापन कार्यविधि २०८२ का व्यवस्थाहरू अनिवार्य कार्यान्वयन गर्ने ।, बजेटरी निकाय र प्रतिष्ठान बोर्ड आदि (गैर बजेटरी निकाय)ले मन्त्रालयबाट प्राप्त अनुदानबाट हुने खरिद कार्यको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम २१ को व्यवस्था बमोजिम खरिद सम्झौताको प्रतिवद्धता रकम सिजिएएस प्रणालीमा अनिवार्य प्रविष्टि गर्न मन्त्रालयले निर्देशन दिएको छ ।