• ३० पुस २०८२, बुधबार

फुपूमाथि आगो लगाउने भदैनी पक्राउ

blog

आगो लागेर घाइते हुनुभएको सिद्धिचरण नगरपालिका–११ मिलनचोककी ७४ वर्षीया धर्मलीला देवी राई । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, पुस ३० गते ।
पैसा सापटी नदिएको रिसमा फुपूमाथि पेट्रोल खन्याएर आगो लगाई हत्या गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका–११ मिलनचोककी ७४ वर्षीया धर्मलीला देवी राईमाथि गत कात्तिक १० गते उहाँकै घरमा गएर पेट्रोल खन्याई आगो लगाएको आरोपमा भदैनी नाता पर्ने ३९ वर्षीया विष्णु राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटनापछि फरार रहेकी राईलाई प्रहरीको विशेष टोलीले करिब तीन महिनाको खोजतलासपछि पुस २७ गते सिद्धिचरण नगरपालिका–११ मिलनचोकस्थित उहाँकै घरमा लुकिछिपी बसिरहनुभएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नुभएकी राईविरुद्ध ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । ओखलढुङ्गा जिल्ला अदालतको आदेशअनुसार सोमबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगो लगाउने घटनामा गम्भीर रूपमा घाइते भएकी वृद्धा धर्मलिला देवी राईको तीन महिनादेखि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घटनामा पीडितको अनुहार, घाँटी, छाती तथा कम्मरदेखि खुट्टासम्म शरीर जलेको छ । पीडित वृद्धा सँग विष्णु राईले पहिला पाँच लाख र त्यसपछि ९० हजार रुपियाँ सापटी माग्दा नदिएको भन्दै आक्रोशमा पेट्रोल खन्याई आगो लगाएको बयान दिनुभएको प्रहरीले जनाएको छ । वृद्धाका अनुसार आरोपीले त्यसअघि पनि तातो भात, तरकारी र मट्टीतेल समेत खन्याएर लाइटर प्रयोग गरी आगो लगाउने प्रयास भएको थियो । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।