गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २६ गते । गोरखापत्र दैनिकले प्रकाशन गर्दै आएको लोक सेवा तयारीसम्बन्धी सामग्री अब सामाजिक सञ्जालका निजी खातामा पनि उपलब्ध हुने भएको छ ।
लोक सेवा आयोगको परीक्षा दिने तयारी गरिरहेका पाठकलाई लक्षित गरी गोरखापत्रमा प्रत्येक बुधबार नियमित रूपमा प्रकाशन हुँदै आएको ‘ज्ञान सागर’ अब निःशुल्क रूपमा मोबाइलमार्फत पनि उपलब्ध गराइने छ ।
गोरखापत्रको डिजिटल प्रकाशनमार्फत ती सामग्री गोरखापत्र अनलाइन डटकम, गोरखापत्रका सामाजिक सञ्जाल, मोबाइल एप, ह्वाट्सएप तथा भाइबर जस्ता माध्यममा निःशुल्क पहुँचयोग्य बनाइएको छ । यसबाट पाठक तथा परीक्षार्थीले जुनसुकै स्थानबाट पनि सहज रूपमा अध्ययन गर्न सक्ने छन् ।
त्यसै गरी, वस्तुगत तथा विषयगत प्रश्नोत्तरसम्बन्धी सामग्री भिडियो सामग्रीका रूपमा समेत प्रस्तुत गर्न थालिएको छ, जसले श्रव्य–दृश्य माध्यमबाट अध्ययन गर्ने परीक्षार्थीलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले परीक्षार्थीका लागि लोक सेवाका सामग्री सहज र सरल पहुँच पु¥याउन संस्थानले उक्त व्यवस्था गरेको बताउनुभयो ।