• २३ पुस २०८२, बुधबार

गुलर्या माघ महोत्सवमा तीन हजार सहभागीलाई निःशुल्क ढिक्रीको व्यवस्था

blog

महोत्सवका लागि ढिक्री बनाउदै थारू महिलाहरु । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, पुस २२ गते ।
गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२ (थारु सम्बत २६४९) को तयारी अन्तिम चरणमा पुगेको छ । “एकता, विकास र आत्मनिर्भरताका लागि सांस्कृतिक अभियान” भन्ने मूल नाराका साथ यही पुस २७ गते घोराही उपमहानगरपालिका १७ गुलरियास्थित शहिल नेत्रलाल पार्कमा आयोजना हुन लागेको महोत्सवको तयारी करिब ८० प्रतिशत सम्पन्न भइसकेको महोत्सव मूल आयोजक समितिका संयोजक अशोक कुमार चौधरीले जानकारी दिनुभएको छ ।

अहिले महोत्सवलाई सफल बनाउन सिङ्गो गाउँ नै सक्रिय रूपमा जुटेको संयोजक चौधरीले जानकारी दिनुभयो । गाउँ–गाउँमा प्रचार–प्रसार, मटाँवा, अगुवाहरुलाई निम्तो गर्ने, नाच दर्ता गर्ने, आर्थिक सङ्कलन गर्ने, ढिक्री पकाउनका लागि बनबाट दाउरा ल्याउने, ढिक्री बनाउनका लागि पिठो पिसाउने, आलु खन्ने, अचार बनाउने, डुना–टपरी तयार पार्ने जस्ता कामहरू तीव्र रूपमा भइरहेको उहाँले बताउनुभयो ।

महोत्सवमा सहभागी सबैलाई थारू परिकारको स्वाद चखाउने उद्देश्यसहित करिब तीन हजार जनालाई निःशुल्क ढिक्री र आलुको अचार खुवाउने तयारी गरिएको संयोजक चौधरीले जानकारी दिनुभयो । “महोत्सव अवलोकन गर्न आउने सबै सहभागीलाई निःशुल्क रूपमा ढिक्री र आलुको अचार खुवाउने हाम्रो तयारी छ, उहाँले भन्नुभयो, त्यसैअनुसार अहिले गाउँभरिका महिला, युवा तथा स्थानीय बासिन्दा काममा खट्नुभएको छ  ।” मासु, अनडीको रोटी तथा अन्य परिकारमा भने सामान्य शुल्क लाग्ने उहाँको भनाइ छ ।

गुलरिया टोल विकास संस्थाको मुख्य आयोजनामा तथा सौरा बगालको सहआयोजनामा हुन लागेको यो महोत्सव थारू समुदायको मौलिक संस्कृति, भाषा, साहित्य, भेषभूषा र खानपानको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । महोत्सवमा गाउँ–गाउँबाट आएका विभिन्न समूहद्वारा मघौटा नाचको आकर्षक प्रस्तुति रहनेछ । आयोजक संस्थाका अनुसार अहिलेसम्म ४० वटा नाच दर्ता भइसकेका छन्, थप नाच दर्ता क्रममा छन । यसका साथै ढुम्रु गीतको प्रस्तुति, थारू  भाषामा रचना गरिएका साहित्यिक कृति वाचन कार्यक्रमसमेत महोत्सवमा समावेश गरिनेछ ।

खानपानतर्फ ढिक्री र आलुको अचार बाहेक अनडीको रोटी, अनडीको भात, घोंघी, माछा, गंगटा, सिध्रा माछा, मुसाको मासु, सुंगुरको पक्वालगायत विभिन्न परम्परागत थारु परिकारहरूको बिक्री, वितरण तथा प्रदर्शनीका लागि विशेष स्टलहरू राखिने संयोजक चौधरीले बताउनुभयो । त्यसैगरी महोत्सवमा थारु भाषा, साहित्य, इतिहास र संस्कृतिसँग सम्बन्धित पुस्तकहरू, थारू  हस्तकला सामग्री, भेषभूषा तथा गरगहनाहरूको प्रदर्शनी तथा बिक्रीका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरिने आयोजक समितिले जनाएको छ ।