तीन दिनअघि वीरेन्द्रनगर नगरपालिका–१२, बिरुवाबारी सुर्खेतमा गोपी बुढाको कोठामा कोइला बालेर सुतेका कारण अक्सिजन कम भई ३८ दिनको एक शिशुको ज्यान गएको छ । गोपीका श्रीमती तारा बुढा, उहाँकी भदैनी सङ्गम बुढा र छोरा प्रकाश बुढालाई निसास्सिएर बेहोस अवस्थामा उद्धार गरी भेरी अस्पतालमा पु¥याइएको थियो र हाल उहाँहरू उपचाररत हुनुहुन्छ । गोपी बुढा भने कामको सिलसिलामा बाहिर हुनुहुन्छ ।
चिसोले झाडापखाला, निमोनिया, टाउको र छाती दुख्ने, हातखुट्टाका औँला र कान रातो हुने, चिलाउने, सुन्निने र घाउ हुने गर्छ । रुघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्या, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुक्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी पनि हुन्छ । अपच, पखाला, आउ“ जस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याएकाले अस्पतालमा भिड हुन्छ । मुटु, श्वासप्रश्वास र दमका बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पारेकाले उनीहरूकै भिड बढी छ ।
भोजभतेरका बेला बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्रिाइटिस, झाडाबान्ता, पखाला हुने र जन्डिस, टाइफाइड पनि प्रशस्त पाइन्छ । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्छन् । चिसो हावाले रक्तधमनीको पर्खाल बाक्लो हुने वा रक्तनली खुम्चने, रक्तसञ्चार कमी भई रगत र अक्सिजन नपुगी तथा खुम्चेको नसामा रक्तप्रवाह गर्दा पर्ने अतिरिक्त परिश्रमले मुटुमा असर परी हृदयाघातको सम्भावना बढाउँछ । त्यस्तै रक्तप्रवाहको कमीले स्ट्रोक, मांसपेशी र जोर्नीको पीडा, श्वासनली खुम्ची दम, निमोनिया ६० वर्षभन्दा बढी उमेरमा हाड्डी खिइने, एलर्जी, टन्सिल, हातखुट्टा सुन्निने, निलो हुने गर्छ ।
शीताङ्ग
शरीरको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा तल झरेको अवस्थालाई शीताङ्ग भनिन्छ । यस्तो बेला हातखुट्टा चिसो हुनुका साथै सास फेर्न असजिलो, मुटुको चाल बढ्ने, रक्तचाप कम हुने र शरीरको तापक्रम कम भएपछि मृत्युसमेत हुन सक्छ । शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम भए जिउ काम्न बन्द हुन्छ, सोच्न र बोल्न असजिलो हुन्छ । यस्तै शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम भए बिरामी हिँड्न सक्दैन ।
स्वास्थ्य जोखिम
जाडो बढेसँगै जताततै आगो तापिरहेको देखिन्छ । आगो ताप्न टायर, प्लास्टिक तथा सडककिनारमा थुपारिएका फोहोर सबै बालेर आगो तापेको देखिन्छ, जसले तत्काल त न्यानो हुन्छ तर उत्पन्न धुवाँले स्वास्थ्यमा तत्कालै तथा वातावरणमा दीर्घकालीन नकारात्मक असर गर्छ । त्यसैमा प्लास्टिक, टायर बाल्दा कार्बन मोनो डाइअक्साइड, प्युरेन, डाइअक्सनले क्यान्सरसम्म गराउन सक्छ । वायुप्रदूषणले बढी स्वास्थ्यमा नकारात्मक असर देखाउँछ । शरीर तताउन मद्यपानलाई सजिलो विकल्प ठानी मातेर राति ढलेकाहरू भोलिपल्ट बिहान नउठ्न पनि सक्छन् ।
मौन हत्याराको जोखिम
कोठा तथा शरीर न्यानो बनाउन प्रयोग गरिने धूमपान, मद्यपान, आगो ताप्नका लागि बालिने हिटरबाट पोलिने तथा झ्यालढोका बन्द गरी कोइला बाल्दा हुने क्षतिमा समेत बढोत्तरी छ । बिनाकुनै सङ्केत र लक्षण तथा केही लक्षण नभई कसैको ज्यान लिन सक्ने अवस्था वा कारकका रूपमा यसलाई लिइन्छ भने नेपालमा यसको प्रकोप झनै रहेको अनुमान लगाउन सकिन्छ । देख्न, सुँघ्न र महसुस गर्न नसकिने कार्बन मोनोअक्साइडलाई मौन हत्यारा पनि भनिन्छ । अमेरिकामा दुर्घटनावश मृत्यु गराउनेमा सिओ नम्बर एकमा पर्छ । सिडिसीका अनुसार वार्र्षिक पाँच सयभन्दा बढीको ज्यान लिन्छ भने २० हजारभन्दा बढीलाई अस्पताल पु¥याउँछ ।
सिओको विषाक्ततामा पर्ने मौसम सुरु भएको छ । सिओको विषाक्तताबाट बढी प्रभावित हुनेमा मुटुरोगी, साससम्बन्धी बिरामी, रगतको कमी भएका, गर्भावस्थाका महिला र वृद्धा पर्छन् । राजधानीमा मात्रै हरेक वर्ष तीन दर्जनको मृत्यु गराउने यो ग्यासले कमजोर बनाउँछ, चेतना हराउँछ, प्रभावित व्यक्ति कराउन पनि सक्दैनन् र स्लिपिङ टयाब्लेट खाए झँै लट्ठ पर्छन् र अन्ततः मृत्यु हुन्छ ।
युनाइटेड स्टेट्स इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सी (इपिए) को तथ्य अनुसार ग्यास, तेल, कोइला, पेट्रोल वा दाउरा जस्ता कार्बनयुक्त इन्धन हावाको कमीका कारण पूर्ण रूपमा उड्न सक्दैनन् र सिओ ग्यास उत्पन्न भई मात्रा बढ्छ । कुनै पनि इन्धन प्राकृतिक ग्यास, प्रोपेन, पेट्रोल, तेल, मटितेल, काठ वा कोइला डढाउ“दा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । कार, पेट्रोल, डिजल, ग्यासबाट चल्ने इन्जिन, स्टोभ, हिटिङ सिस्टमलगायतका उपकरणबाट सिओ ग्यास निस्कन्छ । त्यसैमा कोठामा चिम्नी वा भेन्टिलेसनको उचित व्यवस्था नहुँदा, रुम वा वाटर हिटर, कुकर जस्ता उपकरणको गलत तरिकाले फिट गरिनु, उचित रेखदेख नहुँदा सिओ ग्यास निस्कँदै जम्मा हुन्छ । त्यसैले चिम्नी नभएका उपकरणहरू घरबाहिर प्रयोग गर्न बनाइएका हुन्छन् भन्ने हेक्का राख्नु पर्छ ।
लक्षण
रङ्गहीन र गन्धहीन सिओ ग्यास शरीरमा अक्सिजन पु¥याउने रातो रक्तकोषमा असर पार्छ, अक्सिजन परिवहन प्रणालीमा प्रभावित पर्छ । अक्सिजन नपाउनाले शरीरका कोषहरू मर्न थाल्छन् र कार्बन डाइअक्साइडभन्दा बढी खतरनाक हुन्छ । सिओको सामान्य सम्पर्कमा आउँदा सुरु सुरुमा अलि अलि टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहँदा तीव्र टाउको दुखाइ, रिँगटा, थकान, वाकवाकी, छाला रातो, चिटचिट हुने जस्ता समस्या देखिन सक्छ । त्यस्तै निर्णय क्षमता, स्मरण शक्ति र अङ्गमा तालमेलको कमी हुन्छ । स्नायुतन्त्रमा दीर्घकालीन हानि, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ ।
टाउको दुखेको दुख्यै गर्नु, सोच्ने क्षमतामा असर हुनु, सास फेर्न असजिलो हुनु हड्बडाउन थाल्नु, आ“खा र हातको तालमेल हुन छाड्नु, मुटुको चाल बढ्नु, शरीरको तापव्रmम कम हुनु, पेटमा समस्या उतपन्न हुनु, रक्तचापमा कमी हुनु कार्बन मोनोअक्साइड विषाक्तताका लक्षण हुन् । विषाक्तता माटोको घरमा भन्दा सिमेन्टेड घरमा छिटो र बढी हुन्छ ।
प्रारम्भिक लक्षणमा ध्यान नदिँदा प्रभावित व्यक्ति बेहोसीको अवस्थामा जान्छन् तर कहिलेकाहीँ बिनाकुनै लक्षण बेहोस हुन सक्छन् । न्यून मात्राको सिओको निरन्तर सम्पर्कमा रहँदा वा एकै पटक धेरै मात्रामा सम्पर्कमा रहँदा स्रोत हटाए पछि पनि स्वास्थ्यमा दीर्घकालीन नोक्सान पुग्न सक्छ ।
रगतमा सिओ नाप्न मिल्ने गरी छोटो समय मात्र रहन्छ तुरुन्तै निस्किहाल्छ । शरीरमा वा रगतमा सिओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ । ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । रगतमा सिओको मात्रा ६० प्रतिशत हुँदा मान्छेले चेतना गुमाउँछ, बेहोसी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ ।
व्यवस्थापन
टाउको दुख्ने तथा बान्ता होला जस्तो हुनासाथ झ्यालढोका खोलिहाल्नु पर्छ । लक्षण देखिएको अनुभूति हुनासाथ तुरुन्त ताजा हावामा निस्केर सास फेर्नु पर्छ । घरमा झ्यालढोका खोल्नु पर्छ । स्टोभ, ओभन, हिटर जस्ता उपकरण बन्द गरेर घरबाहिर निस्कनु पर्छ । लक्षण वा बेहोसी देखिए तुरुन्त अस्पतालमा लग्नु पर्छ, जहाँ सास र रगतमा सिओको स्तर नापी छिट्टै उपचार थालिन्छ । ग्यास गिजरमा पानी तात्दै गर्दा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निसास्सिएर नुहाउने व्यक्तिको मृत्यु हुन सक्छ । गिजर प्रयोग हुँदा प्रोपेन ग्यास भारी हुने भएकाले भुइँमा बस्छ र अक्सिजन कम भएर सिओ ग्यासको निर्माण हुन्छ । जस कारण मृत्यु पनि हुन सक्छ ।
रोकथाम
हिटर वा अन्य कुरा बाल्दा त्यसको नजिकै पानी राख्नु पर्छ । दाउरा, गुइँठा र ब्रिकेट बाल्दा झ्याल वा भेन्टिलेटर खुला राख्ने, धुवाँलाई बाहिर जान दिने, दम, सिओपिडीका रोगी धुवाँनजिक बस्न हुँदैन । सुत्ने समयमा आगो, हिटर निभाउने, हिटर वा अन्य कुरा बाल्दा त्यसको नजिकै पानी राख्ने र बच्चाबच्चीको पहुँचभन्दा टाढा राख्ने, कोठाभित्र आगो वा हिटर ताप्दा अपनाउनुपर्ने सावधानी हुन् । बन्द कोठामा जेनेरेटर, गाडी वा धुवाँ फाल्ने कुनै पनि यन्त्र चलाउनु हुँदैन । कोठा तताउँदा, न्यानो पार्दा झ्यालढोका खुला राख्नु पर्छ । कोठामा हावाको उचित ओहोरदोहोर हुने व्यवस्था मिलाउनु पर्छ । बाथरुममा ग्यास गिजर उपयोग गर्दा झ्याल वा भेन्टिलेसन खुलै राख्नु पर्छ । ग्यास गिजर बाथरुमबाहिर राख्नु पर्छ । तातोपानी पहिले नै थापेर बाथरुमको ढोका बन्द गर्नु पर्छ । भेन्टिलेसन ठुला र खुला राख्नु पर्छ । बिच बिचमा सबै सावधानी चेक गर्नु पर्छ ।