• २४ पुस २०८२, बिहिबार

रास्वपाको बृहत् राजनीतिक समायोजन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २२ गते । नवयुवा (जेनजी) आन्दोलनपछि मुलुकमा भ्रष्टाचार अन्त्य र सुशासन कायम आमनागरिकको आकाङ्क्षा पूरा गर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक समायोजन अभियान सुरु गरेको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने सङ्कल्पसहित रास्वपाले वैकल्पिक पार्टीसँगको एकतालाई प्राथमिकता दिँदै आएको छ ।

यसै क्रममा सोमबार रास्वपा र नागरिक उन्मुक्ति पार्टीको पूर्वनेतृत्व, थरुहट/थारुवान अभियन्ताबिच बृहत् राजनीतिक समायोजन सम्पन्न भएको छ । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट नेता कार्यकर्ता उक्त राजनीतिक समायोजनमा सहभागी भएका हुन् ।

सो क्रममा नाउपा रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जना सामूहिक रूपमा रास्वपामा समाहित भएका छन् । यसअघि समीक्षा बाँस्कोटा नेतृत्वमा रहेको विवेकशील साझा पार्टी र काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह नेतृत्वमा हाम्रो नेपाली पार्टी र कुलमान घिसिङ नेतृत्वका उज्यालो नेपाल पार्टीबिच पार्टी एकता सम्पन्न भइसकेको छ । 

सोमबारको बृहत् राजनीतिक समायोजन घोषणा सभामा रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले र थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारू, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरुहट/थारुवान अभियन्ता सुरेन्द्र चौधरीको उपस्थित रहेको थियो ।

उक्त घोषणा सभालाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले पार्टी स्थापना गर्दा बेलामा केन्द्रीय सदस्यका लागि आफूहरूले नागरिकता पाउन नसकेको अवस्था स्मरण गर्नुहुँदै सीमित साथीको अग्रसरतामा रास्वपा अभियान सुरु गरिएको बताउनुभयो । लामिछानेले भन्नुभयो, “रास्वपा यसरी विशाल हुन्छ भन्ने विश्वास थियो तर यो बुझाउन निकै कठिन भयो ।” उहाँले समावेशिताबारे आफूमाथि प्रश्न उठ्ने गरेको भए पनि नियत गलत नरहेको स्पष्ट पार्नुभयो ।

रास्वपा हाल ऐतिहासिक जिम्मेवारी वहन गर्नुपर्ने मोडमा उभिएको भन्दै उहाँले पार्टी देशभर फैलिएकाले अब कसैको लाभका लागिभन्दा पनि मुलुकको समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

राजनीतिक समायोजन घोषणा गर्नुअघि रास्वपा र थारुवान अभियन्ताबिच नौबुँदे सम्झौता सम्पन्न भएको छ । जसमा सामाजिक न्याय र आर्थिक सामाजिक समृद्धिका लागि आवश्यक सुधार गर्ने, पार्टीको नाम रास्वपा नै रहने र थारू बहुल क्षेत्रलाई ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी प्रक्रिया सुरु गर्ने सहमति भएको छ ।

नौबुँदे सहमतिमा जेनजी आन्दोलनको अपनत्व लिँदै समुन्नत र सामाजिक न्यायका लागि राष्ट्रिय उद्देश्यका आवश्यक नीतिगत, संस्थागत एवं संरचनागत सुधारमार्फत आर्थिक समृद्धिमा इमानदारसहित काम गर्ने सहमति भएको छ । 

त्यस्तै दोस्रो बुँदामा दलको नाम रास्वपा नै रहने र चुनाव चिह्न, झन्डा सबै रास्वपाकै रहने भनिएको छ । त्यस्तै भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै थारूको धार्मिक, सांस्कृतिक प्रणाली संरक्षण र प्रवर्धन गर्न संविधानको मर्म अनुसार थारू बहुल क्षेत्रलाई थारू संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी र संवैधानिक प्रक्रिया सुरु गर्ने समझदारी पनि भएको छ ।