• २३ पुस २०८२, बुधबार

संयोजक प्रचण्ड नयाँ दिल्लीमा

नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाइने

blog

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्लीमा प्रवासी नेपालीहरूको सहभागितामा ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै । तस्बिर : संयोजक प्रचण्डको सचिवालय

काठमाडौं, पुस २१ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने बताउनु भएको छ । 

भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा प्रवासी नेपालीहरूको सहभागितामा ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ लाई सोमबार सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

नेपाली समाज भारतको आयोजनामा लाजपत भवन अडिटोरियम, लाजपत नगरमा सोमबार सम्पन्न उक्त कार्यक्रममा उहाँले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्वबारे धारणा व्यक्त गर्नुभयो।

उहाँले प्रवासी नेपाली समुदाय नेपाल र भारतबीचको सम्बन्ध मजबुत बनाउने महत्वपूर्ण सेतुका रूपमा रहेको उल्लेख गर्दै एकता, संगठन र सहकार्यलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो।

साथै, लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्न आगामी निर्वाचनप्रति सबै पक्ष सचेत र सक्रिय हुनुपर्नेमा उहाँको जोड थियो।

कार्यक्रमको अध्यक्षता नेपाली समाज भारतका अध्यक्ष रामबहादुर डागीले गर्नुभएको थियो भने महासचिव आर.बी. खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। नेपाली समाज भारतका केन्द्रीय उपाध्यक्ष नारायण बञ्जाडेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो।


भारतका विभिन्न राज्यबाट आएका एक हजारभन्दा बढी प्रवासी नेपालीहरूको उपस्थितिमा रहेको कार्यक्रममा प्रवासी नेपालीका अधिकार, सम्मान, एकता, संगठन सुदृढीकरण तथा भावी कार्यदिशाका विषयमा गहन छलफल गरिएको थियो।

नेपाली समाज भारतले यस्ता कार्यक्रममार्फत प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाल–भारत मैत्री सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी समाजका महासचिव आरबि खड्काले दिनुभएको छ ।