• १३ साउन २०८१, आइतबार

‘हातहतियार खरिद विधिसम्मत हुन्छ’

blog

काठमाडौँ, असार २८ गते । नेपाल प्रहरीले आफ्ना लागि हातहतियार आवश्यक रहेकाले हतियार खरिद विधिसम्मत हुने जनाएको छ । प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले विज्ञप्ति जारी गरी खरिदसम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै यससम्बन्धी समाचार प्रवाह गर्दा संवेदनशील हुन पनि आग्रह गर्नुभएको छ । उहाँले राज्यको सीमित स्रोतसाधनबाट नेपाल प्रहरीको अत्यावश्यक सामग्री खरिदमा विनियोजन भएको बजेटबाट तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै हातहतियार खरिद प्रक्रिया हुने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “खरिद प्रक्रियाबारे सार्वजनिक चासो, चिन्ता र सकारात्मक अपेक्षाको मूल्याङ्कन गर्दै प्रचलित खरिदसम्बन्धी ऐन, नियम र कार्यविधिमा व्यवस्था भएबमोजिम पारदर्शी ढङ्गले खरिद प्रक्रिया अवलम्बन गर्न नेपाल प्रहरी प्रधान कार्यालय सदैव सचेत, सजग एवं संवेदनशील छ ।”उहाँले नेपाल प्रहरीको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीलाई आवश्यक हातहतियार खरिद गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “प्रहरीको सङ्गठनात्मक ढाँचा र दरबन्दीमा पछिल्लो समयमा भएको बढोत्तरी एवं सात वर्षभन्दा लामो समयदेखि प्रहरीलाई अत्यावश्यक रहेको हातहतियार खरिद नभएकाले नेपाल प्रहरीले आवश्यक हातहतियारको चरम अभाव झेल्दै आएको वास्तविकता जानकारी गराउन चाहन्छौँ ।” 

उहाँले समय–समयमा जनधनको क्षति हुने, शान्ति र अमनचयन खल्बल्याउने प्रकृतिका दङ्गा–फसाद, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी आम नागरिकमा सुरक्षाको थप अनुभूति दिलाउन प्रयोग हुँदै आएको कम घातक हातहतियार, छोटो दूरीको पेस्तोल, सर्टगन र ग्यास सेलहरूको आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

प्रवक्ता राईले मौजुदा हातहतियार खटिने जनशक्तिलाई अपुग हुने, पुरानो भई काम नगर्ने, बिग्रने र मिति समाप्त हुने हातहतियारलाई क्रमशः विस्थापन गरी प्रयोग मिति समाप्त भएका ग्यास सेलको प्रयोगमा प्रश्नचिन्ह उठ्न सक्ने बताउनुभएको छ ।