संस्कृत भाषाको शिर अस्त्र अथवा शिरको सुरक्षाका लागि लगाउने सामग्रीले टोपीलाई बुझाउँछ । नेपाली शब्दकोशमा ‘शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षा गर्नका निमित्त चाउलो वा घेरा हाली सिएको वस्त्र, शिरपोस’ भनेर वर्णन गरिएको छ । कानमा लगाउने गहनालाई कुण्डल, घाँटीमा लगाउनेलाई कण्ठी, शिरमा लगाउने शिरफूल, शिरबन्दी, गलामा लगाउने गलबन्दी भने जस्तै टाउकोमा लगाउने भएकाले टोपी भनिएको हुन सक्छ । संस्कृत भाषामा टोप भन्नाले स्तूप अथवा शिरमा लगाउने वरिपरि जालीदार घेरा भएको टोपीलाई बुझाउँछ (वसन्तकुमार शर्मा नेपाल, नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ ५६४) । कानेटोपी, माक्कले टोपी, बिर्के टोपी, भादगाउँले टोपी, पाल्पाली ढाका टोपी, तेह्रथुमे ढाका टोपी, छत्रेटोपी, आदि विभिन्न टोपी चलनचल्तीमा रहे पनि ढाका टोपीलाई विशेष रूपमा लिने गरिन्छ ।
मानव जातिको इतिहासलाई हेर्दा टाउकोलाई सुरक्षित राख्न, कपाललाई बचाउन र अक्सर चिसो हुनबाट जोगाउन टोपीको विकास भएको थियो भन्न सकिन्छ । अमेरिकाका नागरिकले लगाउने प्राचीन टोपी, चीनमा लगाउने टोपी, भानुभक्तले लगाउने टोपी, भीमसेन थापाले लगाउने टोपी, बलभद्र कुँवरले लगाउने टोपी हेर्दा अहिलेको ढाका टोपी त्यसैको विकसित रूप हो भन्न सकिन्छ ।
हाम्रो ढाका टोपीले हिमालको चुचुराको प्रतिनिधित्व दर्शाउँछ । ढाका टोपीको चुच्चो परेको माथिल्लो भागले हिमाली भागको आभास हुन्छ । टोपी सामान्य व्यावहारिक हिँडडुलको काममा मात्र नभएर चाडपर्व, विवाह, मेला पर्व, महोत्सव, सभा समारोह, गोष्ठीका साथै सामाजिक संस्कारमा विशेष महत्वका साथ लगाउने चलन छ । हाम्रो संस्कार हेर्ने हो भने टोपी नलगाएको अवस्थाले शोकमा परेको अवस्थालाई बुझाउने गरेको छ । मन्दिरमाथिको गुजुरको रूपमा हामीले लगाउने ढाका टोपीलाई मान्ने चलन बढ्दै गएको छ । ढाका टोपी लगाउने तरिका मध्ये विशेष रूपमा मध्यम उचाइमा छेउ उच्चो बनाएर देब्रेपट्टि ढल्काएर लगाउने, टोपीको चक्कीको भागलाई बराबर डाउन गरेर देब्रेपट्टि ढल्काएर लगाउने, घेरो दाहिने पार्ने बिचमा उठाउने नमस्ते गरेजसरी लगाउने जस्ता विविध तरिका रहँदै आएका छन् । पृथ्वीनारायण शाहले ‘चार जात छत्तीस वर्णको साझा फूलबारी नेपाल हो’ भनेको टोपी सबै फूललाई एउटै मालामा गुथ्ने सफल धागो हो । यस्ता विचारले हामी सबै नेपालीलाई एउटै मालामा एकाकार हुन सहयोग गर्छ । जाति, भाषा, धर्म, सम्प्रदाय, सबैको गौरव हो नेपाली ढाका टोपी । देश विदेशका जुनकुनै कुनामा रहेका नेपालीको एकताको सूचकको रूपमा टोपीलाई मान्न थालिएको छ । हाम्रो सान, हाम्रो मान, नेपाली टोपी हाम्रो पहिचान । राष्ट्रिय पोसाक लगाऔँ नेपाली राष्ट्रियता जोगाऔँ ।
नेपाली टोपीको सुरु कसरी भयो त भनी खोजी गर्दा यसको सुरु काठमाडौँ उपत्यकामा जुद्धशमशेरका पालाबाट मात्र भएको रहेछ । कमल दीक्षितका अनुसार सम्भवतः ढाकाको चलन पाल्पाबाट काठमाडौँ आएको हो अनि पाल्पामा चाहिँ बङ्गालबाट आयो होला । यसरी ढाकाको साइनो आजको बङ्गलादेशको राजधानी (ढाका) सित पनि जोडिएको रहेछ । आरजी मजुमदरको ‘बङ्गालको इतिहास’ का आधारमा ‘भारतीय इतिहास कोश’ का लेखक सच्चिदानन्द भट्टचार्य (१९७६ ई.) अनुसार बङ्गालमा सेनहरूले ११ औँ शताब्दीको अन्त्यदेखि १३ औँ शताब्दीको प्रारम्भसम्म राज्य गरे । बख्तियार खिल्जीका छोरा इख्तियार खिल्जीको आक्रमणले बङ्गालबाट सेन वंशको विस्थापित भयो ।
क्यारमका गोट्टी झैँ कुनै शक्तिशाली राजवंश एउटा केन्द्रबाट विस्थापित भएपछि त्यसको त्यस केन्द्रका छेउछाउमा धक्का दिन्छ । छिमेकीलाई विस्थापित गरेर आफ्नो नयाँ केन्द्र बनाउँछ । यसरी बङ्गालका पाल र सेनहरू इतिहासका विभिन्न चरणका धक्काले विस्थापित हुँदै नेपालसम्म पनि आइ पुगे । चौधौँ शताब्दीमा जुम्लाको खस राजवंशको पतन भएपछि पृथ्वी मल्लका रजौटा बेग्लाबेग्लै टुक्रे राज्यका राजा भए । मुकुन्द सेन सम्भवतः पहिलो खस राज्यकै रजौटा थिए । मुकुन्द सेनले पाल्पामा सेन वंशको बलियो जग हाले । सम्भवतः ढाकाको संस्कृति सेनहरूसँगै पाल्पा आइपुग्यो । आफ्ना काका रणोदीप सिंहको हत्या गरेपछि श्री ३ भएका वीरशमशेरले आफ्ना भाइ खड्गशमशेरलाई पाल्पा धपाएका थिए । खड्गशमशेर पाल्पा धपाइएपछि राजदरबारको ओहोर दोहोर पाल्पा र काठमाडौँको सांस्कृतिक आदानप्रदान बढ्दै गयो । त्यसै ऐतिहासिक कारणले पाल्पाबाट काठमाडौँमा ढाकाको चलन पसेछ । भारत र पाकिस्तान नछुट्टिउन्जेल ढाका पनि बङ्गालकै एउटा सहरमा थियो भन्ने कुरो इतिहासको ज्ञान भएका सबैलाई थाहा हुने भयो ।
कमल दीक्षितको भनाइ अनुसार राणाका रानीहरूले दुई पक्ष मलमलले ढाकेको ढाकाको चोलो लगाउँथे र पछ्यौरा पनि ओढ्थे । सम्भवतः पाल्पामा धपाइएकी खड्गशमशेरकी रानी र उनको पाल्पा दरबारका महिलामा यो चलन पहिले बन्यो पछि त ठुला व्यापारीका पत्नीहरूले पनि ढाकाको चोलो लगाउँथे र ढाकाको पछ्यौरा ओढ्थे । उनीहरूले लगाएको बस्त्र पुरानो भएपछि मात्र त्यो ढाकाको कपडाबाट सर्वसाधारणले लगाउने टोपी बनाइन्थ्यो । यसरी सक्कली ढाका टोपीको संस्कृति चाहिँ राणा दरबारको परिणाम रहेछ । त्यस्तो टोपी काठमाडौँको केल टोलमा मात्र पाइन्थ्यो भन्ने दीक्षितको सूचना छ ।
नेपाली टोपीको चलन चाहिँ त्योभन्दा पुरानो रहेको छ । रणबहादुर शाहले लगाए जस्तो टोपीको बान्की कैलाश पर्वतको प्रभाव हो भन्ने योगी नरहरिनाथको विचार थियो अरे । भादगाउँले (भक्तपुरे) टोपीको बान्की यस्तै टोपीसित झन्नै मिल्छ । डेभिड क्रिस्चियन (१९९८ ई. १२८) को ‘हिस्टी« अफ एसिया, सेन्ट्रल एसिया एन्ड मङ्गोलिया’ का अनुसार इसापूर्व आठौँ शताब्दी (भारतीय उपमहादीपमा ‘अथर्व वेद’ र ‘शतपथ ब्रहाण्ड’ को रचना भइरहेको बेला) देखि युरोपका घाँसे चउरमा घोडामाथि चढेर लडाइँ गर्ने शकहरू चुच्चे टोपी लगाउँथे । मानव जातिको इतिहासमा सबभन्दा पहिले घोडा चढेर लडाइँ गर्न जान्ने जाति पनि शक नै हो । ऋग्वेदमा पनि घोडाको रथमा जोत्ने, अश्वमेघ यज्ञ गर्ने आदि उपयोग भए पनि पिठिउँमै चढ्ने सवारीका रूपमा घोडाको उपयोग गरिएको पाइँदैन । खसहरू पनि शककै गोती (वा एउटा समूहका सदस्य) हुन् । शक र खसहरू आधारभूत रूपले इरानी (आर्य) कै बगाल हुन् । त्यसैले नरहरिनाथले जे भने पनि खसहरूले लगाउने गरेका टोपी शकहरूकै टोपीको विकसित रूप हुन सक्छ ।
दीक्षितको भनाइ अनुसार भानुभक्त अथवा मोतीराम भट्टले लगाए जस्तो कार्चोपी भरेको टोपी राणाकालमा सुब्बा वा त्योभन्दा ठुला पदाधिकारीले मात्र लगाउन पाउँथे । फुर्को भएको त्यस्तो टोपी टर्कीबाट नेपालमा आएको हो । काठमाडौँका मुसलमानले त्यस्तो टोपी लगाएको त दीक्षितले पनि देखेका थिए अरे । टर्कीको अग्लो टोपी काठमाडौँमा होचो बनाइयो र फुर्कोका ठाउँमा डल्लो हालियो । तुर्कीहरूले दिल्लीमा शासन गर्न थालेको १३ औँ शताब्दीमा मात्र हो । यस्तो तुर्केली टोपी दक्षिण एसियामा १३ औँ शताब्दीभन्दा अगाडिको हुन सक्दैन तर दीक्षितको भनाइ अनुसार नेपालमा मुसलमानलाई १५ औँ शताब्दीका राजा रत्न मल्लले काशीबाट झिकाएका हुन् ।
हामी हाम्रा चाडपर्व, धर्म, संस्कार आदिलाई हर्षोल्लासका साथ मनाउँछौँ । आफ्ना दुःख पीडालाई भुलेर पनि चाडपर्वमा रमाउने हाम्रो स्वभाव रहेको छ । जातिगत रूपमा हामी अनेकौँ छौँ । अनेकौँ जातजातिका अनेकौँ संस्कार, सभ्यता रहेका छन् । यस्ता अनेकानेक कारणले गर्दा नै हाम्रो देश नेपाल सांस्कृतिक सम्पदामा सम्पन्न मुलुकका रूपमा चिनिएको छ । संस्कार, संस्कृति मनाउने क्रममा चलनचल्तीका रूपमा रहेका विभिन्न टोपीमध्ये ढाका टोपीको प्रयोग उल्लेख्य मात्रामा भएको छ । विवाह, व्रतबन्ध, उत्सव, मेला, चाडपर्वका अवसरमा आफ्नो मौलिक पहिचान जोगाउन ढाका टोपी लगाउने चलन बढ्दो छ । इतिहास लम्बिँदै जाँदा नेपाली पोसाकप्रतिको आकर्षक बढ्दो छ । आफ्नो संस्कार र संस्कृतिलाई जोगाउनु भनेको आफ्नो पहिचानलाई बचाउनु हो, आफ्नो अस्तित्वलाई जोगाउनु हो । यो समग्र नेपालीको धर्म पनि हो । आगामी पुस्ताले नेपाली पोसाक दौरा, सुरुवाल, ढाका टोपी, गुन्युचोली लगाउन, नेपाली भाषा साहित्य, संस्कृति सिकाउन, अनि आफ्नो पहिचानलाई विज्ञानसँग जोड्न सक्नु पर्छ ।