अमृतप्रसाद पौडेल
म्याग्दी, पुस १९ गते । म्याग्दीको बेनी नगरपालिका–६ का व्यवसायीक गाइपालक किसान दिनेश खत्रीको घरमा पालिएको गाईको पेटबाट धातुका टुक्रा तथा भारतीय रुपियाँको सिक्का निकालिएको छ ।
खत्रीले पालेको गाइले केही दिनदेखि घाँस राम्रोसँग नखाने तथा दूध उत्पादन घट्ने, उठबस गर्न गाह्रो हुने तथा असहज देखिने जस्ता समस्या देखिन थालेपछि बेनी नगरपालिकाको पशु सेवा शाखामा खबर गर्नुभएको थियो । गाईको अवस्था कमजोर हुँदै गएपछि किसान खत्रीले उक्त समस्याबारे खबर गरेसँगै पशु चिकित्सक डा. आशिष सापकोटाले (टीआरपी) हुन सक्ने आशङ्कासहित परीक्षण गरी पुष्टि गर्नुभएको थियो ।
पशु चिकित्सक डा. सापकोटासहितको टोलीले गाईको स्वास्थ्य परीक्षण गर्दा आधुनिक म्याग्नेट डिटेक्सन टेस्ट प्रयोग गरेको थियो । परीक्षणका क्रममा म्याग्नेट डिटेक्टरबाट आवाज आएको र गाईको पेटभित्र धातुजन्य वस्तु रहेको पुष्टि भएको डा. सापकोटाले जानकारी दिनुभयो । डा.सापकोटाले भन्नुभयो, ‘‘हामी पहिला आशङ्कामा थियौं, तर परीक्षणपछि मेसिनले देखाएको प्रतिकृया र आवाजबाट गाई टीआरपीबाट ग्रसित भएको पुष्टि भयो ।’’
रोग पुष्टि भए तत्काल उपचार प्रक्रिया अघि बढाएको र उपचारका क्रममा विशेष म्याग्नेटको सहायताले पेटभित्र रहेका सिक्का, साना फलामका टुक्रा, किल्ला तथा अन्य धातुका वस्तुहरू सावधानीपूर्वक निकालिएको डा.सापकोटाले जानकारी दिनुभयो । धातुजन्य वस्तु सफलतापूर्वक निकालिएपछि आवश्यक औषधोपचार तथा नियमित हेरचाह गरिएको बेनी नगरपालिका पशु शाखाले जनाएको छ ।
उपचारपश्चात गाईको स्वास्थ्य अवस्थामा सुधार देखिएको किसान दिनेश खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार अहिले गाईमा धेरै सुधार आएको छ, घाँस राम्रो सँग खाने तथा सामान्य रूपमा हिँड्डुल गर्न थालेको र समग्र स्वास्थ्य अवस्था राम्रो हुँदै गएको छ ।
डा. सापकोटाका अनुसार गोठ तथा वरपर फ्याँकिएका किल्ला, तार, सिक्का, साना फलामका टुक्रा, निर्माण सामग्री नजिकै खुला चरन, दानासँगै धातुका कण मिसिनु र गोठ सरसफाइमा कमी जस्ता कारणले गाईभैँसीमा टीआरपी देखिने गर्दछ । यस रोगका प्रमुख लक्षणहरूमा भोक नलाग्ने वा कम खाने, आँखाबाट आँसु झार्ने, दूध उत्पादन घट्नु, हिँड्डुल गर्दा दुखाइ देखिनु, ज्वरो आउनु, पेट दुखेको जस्तो गरी कराउनु तथा उठबस गर्न गाह्रो हुनु रहेका छन् । पशुले घाँस तथा दानासँगै धातुका टुक्राहरु खाँदा यस्तो समस्या मुख्य रुपमा हुने उहाँको भनाइ छ ।
टीआरपी पहिचानका लागि आधुनिक र सरल विधिका रूपमा म्याग्नेट डिटेक्सन टेस्ट प्रभावकारी रहेको डा. सापकोटाको भनाइ छ । म्याग्नेट डिटेक्टर प्रयोग गर्दा पेटभित्र धातु भएमा डिटेक्टरबाट आवाज आउने भएकाले रोग पहिचान गर्न सहज हुने उहाँले बताउनुभयो ।
म्याग्दी जिल्लामा सम्भवतः पहिलो पटक टीआरपी रोगको पहिचान र सफल उपचार गरिएको यो घटना पशुपालकहरूका लागि सचेतनामूलक र उदाहरणीय बनेको डा. सापकोटाले उल्लेख गर्नुभयो । उहाँले पशुपालक किसानहरूलाई गोठ सरसफाइमा ध्यान दिन, धातुजन्य फोहोर हटाउन र पशुमा असामान्य लक्षण देखिए तत्काल पशु चिकित्सकसँग सम्पर्क गरेर उपचार विधि अगाडि बढाइनु पर्ने धारणा राख्नुभयो ।