विसं २०३६ को विद्यार्थी आन्दोलन नेपालको राजनीतिक इतिहासमा एक महत्वपूर्ण घटना थियो । पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइएको विरोधमा पाकिस्तानी दूतावासमा नेपाली विद्यार्थीले विरोधपत्र बुझाउन जाने क्रममा भएको झडपको बहानामा सुरु भएको विद्यार्थी आन्दोलनले विस्फोटक रूप लियो– २०३६ साल जेठ ९ गते । केही विद्यार्थी नेतालाई कालोमोसो दलेर नयाँसडक परिक्रमा गराउने क्रममा आन्दोलनले उग्र रूप लिन पुग्यो । सोही भिडले गोरखापत्र संस्थानमा आगो लगाइदिएको थियो । गोरखापत्र संस्थान जल्दा निस्केको धुवाँको मुस्लो मैले वसन्तपुरबाट डराई डराई हेर्नेहरूको भिडबाट हेरेको सम्झना अझै टड्कारो छ । साँझसम्म धुवाँको मुस्लो आइरहेको थियो ।
त्यसको भोलिपल्ट अर्थात् २०३६ साल जेठ १० गते बिहान रेडियोको धार्मिक कार्यक्रम यथावत् थियो तर ७ बजेको समाचारको साटो एक विशेष प्रकारको धुन बज्न थाल्यो र उद्घोषण भयो– आजको समाचारअघि विशेष प्रसारण हुँदै छ । त्यसपछि पुनः सोही धुन बज्न लाग्यो । मैले लख काटेँ– हिजोको घटनाकै कारण यो सब भएको हो ।
७ बजेर झन्डै १० मिनेटपछि राजा वीरेन्द्रबाट देशवासीका नाममा सम्बोधन गर्दै जनमतसङ्ग्र्रह घोषणा भयो । जनमतसङ्ग्रह ‘बहुदल’ या ‘सुधारिएको पञ्चायत’ बिच हुने भएको थियो ।
त्यतिबेला म साहित्यमा भर्खर उदाउँदै थिएँ । पहिलो रचना कोपुण्डोलको फ्रेन्ड्स क्लबको ‘आस्था’ पत्रिकामा तथा केही रचना साप्ताहिक अखबारहरूमा प्रकाशित हुन थालेका थिए । नयाँसडकमा पिपलबोटमुनि भेला हुने साहित्यकारको जमातमा मेरो संलग्नता भइसकेको थियो । पिपलबोटमुनि केहीबेर गफगाफ गरेपछि फोटो कन्सर्नको पारिपट्टि मोतीमहल रेस्टुराँमा चियाका लागि गइन्थ्यो । जनमतसङ्ग्र्रह घोषणापछि साहित्यकारहरू पनि साहित्यभन्दा त्यसैको विषयमा चर्चा गर्न थालेका थिए । सिङ्गो देश र विदेशमा समेत जनमतसङ्ग्रहका बारेमा चर्चा चल्न थालेको थियो ।
जेठ २६ गते हामी केही युवा तथा अग्रज साहित्यकार पिपलबोटमुनिको गफगाफ सकेर अर्को चरणको गफगाफ र चियाका लागि मोतीमहल रेस्टुँरामा पसेका थियौँ । चिया पिउने उपक्रम चल्दै थियो, अचानक त्यहाँ आएर भानु पत्रिकाका सम्पादक तथा साहित्यकार भवानी घिमिरेले घोषणा गर्नुभयो, “भोलिदेखि बहुदलका लागि सडकमा कविता क्रान्ति हुँदै छ, इच्छुकहरू आउनुहोला । भोलि साँझ ५ बजे, पिपलबोटमुनि ।”
भोलिपल्ट २७ जेठका दिन पिपलबोटमुनिको उत्तरपूर्वी कुनामा भवानी घिमिरेको उद्घोषसाथ सडकमा कविता क्रान्ति सुरु भयो । पहिलो दिन कविता पाठ गर्नेमा अशेष मल्ल, मोहन कोइराला, हरिभक्त कटुवाल, गगन विरही, किशोर पहाडी, लव गाउँले, म तथा स्वयम् भवानी घिमिरेसहित करिब १० जना थियौँ । त्यसपछि सुरु भएको त्यो कविता क्रान्ति असार २७ गते न्युरोड पिपलबोटमै आएर टुङ्गियो । त्यसबिचमा कविता क्रान्ति रत्नपार्क ढोका, डिल्लीबजार पिपलबोट चौतारो, बानेश्वर देवकोटाचोक, बानेश्वर बत्तिसपुतली, गौशाला, पशुपति देवपाटन, चाबहिल, कोपुण्डोल, पाटन मङ्गलबजार, पाटनढोका, जावलाखेल चौर, लगनखेल, कालीमाटी, भक्तपुर न्यातपोल खुमा टोल, बानेश्वर, कमलाक्षी इनबहाल, कीर्तिपुर सोह्रखुट्टे पाटी, क्षेत्रपाटी, सिंहदरबार ढोका, बागबजार, कमलपोखरी, असन डबली, अमृत साइन्स क्याम्पसको ढोका, बालाजु, महाराजगन्ज, जैसीदेवल, भाटभटेनी, ठहिटी, बनेपा, पकनाजोल, लगन, काठमाडौँ गणेशस्थान, कुसुमबयँलाक्षीमा भएका थिए ।
३२ दिनमा काठमाडौँ उपत्यकाका ३६ ठाउँमा कविता वाचन सम्पन्न भएपछि सडक कविता क्रान्तिको टोली काठमाडौँबाहिर असार २९ गते तनहुँदेखि १ साउनसम्म पोखरामा सम्पन्न गरेर २ साउनमा पोखरा–काठमाडौँ बसयात्रामा समेत कविता क्रान्तिका कविता पढ्दै आएका थियौँ । २९ गते तनहुँको चुँदी बेँसी, रम्घास्थित सेपा बगैँचा, भन्सार, चौतारो, डुम्रे, दमौली, दुलेगौँडा तथा पोखरामा विन्ध्यवासिनी चौतारो, महेन्द्रपुलमा सडक कविता क्रान्ति भएको थियो ।
पोखरा जाने टोलीमा टोलीनेता भवानी घिमिरेसहित हरिभक्त कटुवाल, किशोर पहाडी, दीपक जोशी, शैलेन्द्र सिम्खडा, भूमिनन्द देवकोटा, श्रीहरि फुयाँल, सुदन खुसः, भैरव निरासी, मलगायत थियौँ । मूल रूपमा सडक कविता क्रान्ति भवानी घिमिरे नेतृत्वमा भएका यिनै मुख्य भए पनि धरान, विराटनगर, दैलेख आदि ठाउँमा पनि सडक कविता क्रान्ति भएका थिए ।
कविता वाचन गर्दै भाग्दै
सडक कविता क्रान्तिमा केही अविस्मरणीय घटना भएका थिए । हरेक जसो ठाउँमा हरिभक्त कटुवालको वाहवाही हुन्थ्यो । उहाँका कर्णप्रिय गीत सबैका ओठमा छाएको बेला थियो । उहाँ प्रायः ‘म ऐलान गरिरहेछु’ कविता पाठ गर्नुहुन्थ्यो । ‘बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु’ उहाँको अर्को कविता थियो, नियमित पढ्ने । त्यसपछि पनि उहाँलाई ‘वन्स मोर’ को आवाजले पिछा गथ्र्यो । सडक कविता क्रान्तिमा ऋषिराज बराल पनि सहभागी हुनुहुन्थ्यो तर उहाँ सरकारको गुप्तचर विभागमा पनि काम गर्नुहुन्छ भन्ने पत्तो पाएपछि भवानी घिमिरेले उहाँको नाम सडक कविता आन्दोलनबाट खारेज गरिदिनुभएको थियो ।
मूलतः सन्तोष भट्टराई कविता पढ्दा निकै उत्तेजित हुनुहुन्थ्यो र आक्रोशको पराकाष्ठामा पुग्नुहुन्थ्यो कविता सकिने बेलासम्म । कविता सुनाइसकेपछि त्यो कविता मञ्चमै धुजा धुजा पारेर फालिदिनुहुन्थ्यो । आश्चर्य त तब हुन्थ्यो, जब भोलिपल्टको कविता वाचनमा उहाँ त्यही कविता दुरुस्त पढ्नुहुन्थ्यो र त्यसै गरी च्यात्नुहुन्थ्यो ।
सडक कविता क्रान्तिका क्रममा बालाजुमा कविता वाचन हुने ठाउँमा तत्कालीन मण्डले भनिनेहरूले हामीलाई आक्रमण गर्ने सुइँको पाएर मिनीबसमा चढेर भागाभाग भएको थियो । खासमा एक मिनीबसका ड्राइभरले हामीलाई आक्रमण गर्ने कुरा थाहा पाएर सुनाएका थिए र हामीलाई भगाउन उनैले मद्दत गरेका थिए । जावलाखेलमा हुने सडक कविता क्रान्तिमा पनि बहुदलविरोधीले हाम्रो कार्यक्रम बिथोल्न खोजेका थिए तर बहुदलपक्षधर दर्शक समूहले तिनीहरूलाई लखेटिदिएपछि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।
सडक कविता क्रान्तिमा नियमित जसो संलग्न २७ कविले एक संयुक्त कविता लेखे ‘कविहरू : एउटै स्वर : एउटै लहर’ शीर्षकमा । ती कवि थिए– मोहन कोइराला, अशेष मल्ल, ओममणि शर्मा, वनमाली निराकार, ओम शर्मा, किशोर पहाडी, हरिभक्त कटुवाल, गगन विरही, गोविन्द गिरी प्रेरणा, विनोद अश्रुमाली, कर्णाद महर्षि, राजव, दीपक जोशी, शैलेन्द्र साकार, लव गाउँले, ध्रुव सापकोटा, जेएल श्रीवास्तव, कृष्ण प्रधान, कुमुद देवकोटा, सन्तोष भट्टराई, श्रीहरि फुयाँल, भूमिनन्द देवकोटा, इन्द्रशरण, मननराज पोखरेल, भवानी घिमिरे, बेञ्जु शर्मा तथा दिनेश सत्याल ।
यो कविता भानु पत्रिकाको सडक कविता क्रान्ति विशेषाङ्कमा प्रकाशित भएको थियो ।
भानु पत्रिकाको सडक कविता क्रान्ति विशेषाङ्क प्रकाशनअघि नै ‘स्वतन्त्रता’ पत्रिकाले सडक कविता अङ्क प्रकाशित गरेको थियो । त्यस अङ्कमा सडक कविता क्रान्तिमा नियमित भाग लिने केही प्रमुख कविका कविता समावेश गरिएका थिए तर भानुको सडक कविता क्रान्ति विशेषाङ्कले सडक कविता क्रान्तिको सम्पूर्ण पक्ष समावेश गरी प्रकाशित गरेको थियो ।
मञ्चमा स्थानीय कवि
सडक कविता क्रान्तिमा भाग लिने कवि सयौँ हुन्थे । सडक कविता क्रान्तिको टोलीका कविहरूका साथै जहाँ जहाँ कार्यक्रम हुन्छ, त्यहाँ त्यहाँका स्थानीय कविहरू पनि सामेल हुन्थे । नियमित रूपमा विभिन्न ठाउँमा गएर भवानी घिमिरेको नेतृत्वमा कविता पढ्ने कविहरू १०/१५ जना भए पनि सडक कविता क्रान्तिमा स्थानीयसमेतको सहभागिताले यो सङ्ख्या सयौँ हुन पुगेको थियो । यसरी स्थानीय कविले पनि कविता पाठ गर्ने मौका पाउँदा स्थानीय कविहरू आयोजनाका लागि निकै जोडतोडसाथ तयारी गर्ने गर्थे ।
कविता क्रान्तिबारे नेता
सडक कविता क्रान्तिबारे देशका सुविख्यात् नेताहरूले आआफ्ना सकारात्मक धारणा प्रस्तुत गरेका थिए । टङ्कप्रसाद आचार्यले भन्नुभएको थियो, “बहुदलको पक्षमा नेपाली युवाकवि सडक सडकमा ओर्लेर सडक कविता क्रान्तिको आयोजना गरिरहेको सुन्दा खुसी लाग्यो ।” विश्वेश्वरप्रसाद कोइरालाले भन्नुभएको थियो, “जनमतसङ्ग्रहको परिप्रेक्ष्यमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि पोइट अन दल मुभको प्रयास सराहनीय छ ।”
कृष्णप्रसाद भट्टराईले “सडक कविता क्रान्तिले जेठ १० गते २०३६ सालको राजाको घोषणापछि देशमा नवीन जागरण र जागरुकता फिँजाउन ठुलो योगदान गरेको छ” भन्नुभएको थियो ।
गणेशमान सिंहले “सडक कविता क्रान्तिको सहनशीलता, भावविभोर भएको कविहृदय अविरल गतिमा प्रजातान्त्रिक मनोबललाई उठाउँदै हिँड्ने बाटोको नाम सडक कविता क्रान्ति नै राखेर हिँडेका छन्” भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
डा. केशरजङ्ग रायमाझीले भन्नुभएको थियो, “सडक कविता क्रान्तिका कविहरू बाँधबाट निस्केका पानीका पहिला लहर हुन्; जसले सडक कविता क्रान्ति सिर्जना गरी बहुदल पक्षलाई नौलो उपहार प्रदान गरेका छन् र प्रजातन्त्रको इतिहासमा यो उपहार सधैँ स्मरणीय रहने छ ।”
वामपन्थी नेता विष्णुबहादुर मानन्धरले भन्नुभएको थियो, “सडक कविता क्रान्तिको माध्यमद्वारा बहुदल व्यवस्थाको पक्षमा जनकविहरूद्वारा सञ्चालन गरिएको जनक्रान्ति जनप्रिय तथा प्रभावकारी रहेको छ ।”
डोरबहादुर विष्टले “सडक कवितामा कविता पाठ गर्नु लेख्नु नराम्रो काम होइन । त्यति मात्र नभएर स्वागतयोग्य पनि हो । कुनैबेला धर्मराज थापा, सरोजकुमार शाक्य आदिले सडकमा कविता पाठ गर्दै हिँडेको सुनिन्थ्यो । म पनि रुचि राख्ने र लेख्ने गर्थें । साथी विजय मल्ल, गोविन्द गोठाले पनि कविता सुनाउँथे । यसले क्रान्ति पनि ल्याउँछ” भनेर कविता क्रान्तिको समर्थन गर्नुभएको थियो ।
डा. वासुदेव त्रिपाठीले “सडक कविता क्रान्तिले कवितालाई सामाजिक, राजनीतिक प्रयोजनका निम्ति सोझै उपयोग गर्ने नयाँ परिपाटीको सूत्रपात हामीकहाँ गरेको छ । यसले जनजीवनमा कविताको सार्थकताको पुष्टि गर्छ” भन्दै कविलाई हौस्याउनुभएको थियो । डा. जयराज आचार्यले “नेपाली राजनीतिमा मात्र हैन, साहित्यको इतिहासमा पनि यस (सडक कविता क्रान्ति) को अविस्मरणीय स्थान हुने छ; किनभने यसले अवश्य बडो चोटिला उक्तिहरूद्वारा देशको अवस्थालाई कवितामा प्रस्तुत गरेर जनमानसलाई प्रभावित पारेको कुरा निर्विवाद छ” भन्दै आन्दोलनकारीको पक्षपोषण गर्नुभएको थियो ।
सडक कविता क्रान्तिको विषयमा तत्कालीन प्रमुख अखबार तथा साहित्यिक पत्रिकाले समेत आफ्नो सम्पादकीय तथा टिप्पणी लेखे । त्यसरी सम्पादकीय लेख्ने अखबारमा नेपाल टाइम्स दैनिक, राष्ट्रपुकार साप्ताहिक, चेतना साप्ताहिक, समीक्षा साप्ताहिक, स्वतन्त्रता मासिक, दी कमनर अङ्ग्रेजी दैनिक, सही आवाज दैनिक, कलाकार पत्रिका, विमर्श साप्ताहिक, हलचल मासिक, पूजा पत्रिका, वर्तमान पत्रिका आदि थिए ।
समीक्षा साप्ताहिकले त ३ अगस्त १९७९ को अङ्कमा मुखपृष्ठमै सडक कविता क्रान्तिमा सहभागी १४ प्रमुख कविको फोटोसहित ‘प्रजातन्त्र, प्रगति र देशभक्तिनिम्ति २०० कवि क्रान्ति मार्गमा’ शीर्षकसहित विशेष समाचार नै प्रकाशन गरेको थियो ।
सडक कविता क्रान्तिलगत्तै जस्तो भारतको पटनाबाट कवि रवीन्द्र राजहंश आएका थिए । उनी भारतमा इन्दिरा गान्धीले लगाएको सङ्कटकालको विरोधमा कवितामार्फत विरोध जनाउने नुक्कड कविता आन्दोलनका नेता थिए । उनले नुक्कड कविता आन्दोलनको एक पुस्तक पनि लिएर आएका थिए । उनी र हाम्रो सडक कविता क्रान्तिका कविहरूको टोलीबिच कविता वाचन र काव्यिक विचार आदानप्रदान तथा नुक्कड कविता आन्दोलन तथा सडक कविता क्रान्तिका अनुभवहरूको पनि चर्चा गरिएको थियो । यो भेटघाटको थलो कवि विश्वविमोहन श्रेष्ठको तत्कालीन निवास पुतलीसडक रहेको थियो ।
सरल कविताको बाटो
नेपाली साहित्यमा २० को दशक कविताले अमूर्तता र क्लिष्टता बढी अपनाएको कालखण्ड थियो । सडक कविता क्रान्तिले कवितालाई सरल बाटोमा ल्याएको थियो । मोहन कोइराला, मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, ईश्वरवल्लभ, बैरागी काइँला आदि क्लिष्टताको मार्गमा रमाएका कविहरूको जमात मानिन्थे । सडक कविता क्रान्तिमा मोहन कोइरालाले पढेको कविता भने क्लिष्टताको मार्गमा थिएन । यसलाई पनि साहित्यिक उपलब्धिका रूपमा धेरै अध्येताले चर्चा गर्न थालेको सुनिनु सुखद पक्ष थियो ।
केही सडक कविता क्रान्तिमा पढिएका कविता यस्ता थिए–
भित्ता–पर्खाल, मन्दिर सबैतिर
सत्यासत्य रातो कालो उन्नाइस वर्षले बोलेको छ
नौलो अभिनेतालाई देशले हेर्न खोजेको छ ।
मोहन कोइराला
म ऐलान गरिरहेछु
उनीहरू केवल कागजका बाघ मात्र हुन्
हरिभक्त कटुवाल
यो उन्नाइस बर्से फोहोरी लफङ्गो
औषधीले उपचार नगरी नहुने गरी कुहिसकेको छ
कर्णाद महर्षि
हामी भाटभटेनी हौँ
अनन्त आकाशमा झड्का लाउँदै
हराएको बच्चा खोजिरहेछौँ
अशेष मल्ल
मैले मन पुगुन्जेल हाँस्न चाहेथेँ
त्यसले मेरो गालामा एक चड्कन हान्यो–
मैले रुन बाध्य हुनु प¥यो ।
किशोर पहाडी
मान्छे मान्छेमा यौटा लहर आएको छ
कोही भन्छन्– आँधी आउँदै छ
कोही भन्छन्– भूकम्प आउँदै छ
तर केही हैन– केवल यो देश ब्युँझँदै छ ।
गोविन्द गिरी प्रेरणा
इतिहासलाई आफ्नो हत्केलामा राखेँ भन्नेहरू
आफैँ इतिहासको चक्रमा पिँधिएर टुक्रा टुक्रा हुने छन्
शैलेन्द्र साकार
अब किला ठोकिएका बुटले
वर्तमान तर्संदैनन् यहाँका मान्छेहरू
कि अब वर्तमान उनीहरूको भइसकेको छ ।
दिनेश अधिकारी
त्यसैले आवाजहरू एकत्रित हुँदै जानु पर्छ
किनकि तिनका नलीहाडहरूले
बहिराहरूको कान खोल्नै पर्छ ।
मञ्जु काँचुली
कवि नै बने आलोचनाको तारो
सडक कविता क्रान्तिको विषयमा व्यक्त विचारका कारण कवि ईश्वरवल्लभ र भूपी शेरचन आलोचनाको तारो बन्नुभएको थियो ।
कवि ईश्वरवल्लभले म कवितालाई सडकमा लैजान चाहन्नँ, सडकबाट माथि उठाउन चाहन्छु भनेर दीपज्योति साहित्यिक पत्रिकासँगको अन्तर्वार्तामा भनेबापत उहाँ सडक कविता क्रान्तिविरोधी कित्तामा पुग्नुभएको थियो । उहाँलाई त्यही आधारमा सडक कविता क्रान्ति पक्षधरहरूले आलोचना गरेका थिए ।
त्यस्तै नयाँ अभियान पत्रिकासँगको अन्तर्वार्तामा कवि भूपी शेरचनले सडक कविता क्रान्तिलाई रुसमा भएको समिज्दात अभियानको सिको गरेको भन्दै आलोचना गरेका थिए । वामपन्थी पृष्ठभूमिका कविका रूपमा चर्चित भूपी, राजाको नियुक्तिबाट नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा गएकोमा धेरै वामपन्थी पक्षकाहरू क्षुब्ध थिए । त्यसमाथि एकेडेमीको प्राज्ञ पदमा बसेर सडक कविता क्रान्तिको विरोध गर्दा उहाँ आलोचित हुनुभएको हो । भवानी घिमिरेले आरती साप्ताहिकमा लामो लेख लेखेर जमेरै भूपिको विचारको विपक्षमा मत जाहेर गर्नुभएको थियो ।
आन्दोलनका साथसाथै कवि
सडक कविता क्रान्तिका कविताहरू प्रजातन्त्रको पक्षमा थिए, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा थिए, सरल अभिव्यक्तिका पक्षमा थिए र पाठकमैत्री कविताको पक्षमा थिए । सडक कविता क्रान्तिको तत्काल राजनीतिक उद्देश्य भए पनि साहित्यिक हिसाबले त्यसको दीर्घकालीन महत्व थियो र अझै पनि छ ।
नेपालमा साहित्यको माध्यमले क्रान्तिको बिगुल फुक्ने पहिलो काम सडक कविता क्रान्तिमा भएको होइन । कृष्णलाल अधिकारीको मकैपर्व होस् कि योगमायाको नेतृत्व, उहाँहरूले साहित्यको माध्यमबाटै क्रान्तिको बिगुल फुक्नुभएको हो । पछि २०४६ सालमा पनि कविहरूले कविताको माध्यमले आन्दोलनलाई बल पु¥याएका थिए । २०६२/६३ को आन्दोलनमा पनि कविहरूको चासो, संलग्नता र सहभागिता थियो तर सडक कविता क्रान्तिमा जति कविहरू कुनै आन्दोलनमा देखिएनन् । सडक कविता क्रान्तिमा जस्तो व्यवस्थित रूपमा निरन्तर महिनौँ संलग्न भएको आन्दोलन दोस्रो कुनै भएन । त्यसैले पनि सडक कविता क्रान्तिको महत्व नेपाली साहित्यको इतिहासमा उच्च छ, मौलिक छ र अविस्मरणीय छ ।