चितवन समाचारदाता
चितवन, पुस १९ गते । चितवनको माडीमा रहेको परवीखोलाकिनारका चेपाङ बस्तीलाई नमुना बस्ती निर्माण गर्न प्राविधिकहरू खटिएका छन् । यसका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राविधिक खटिएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जले घेरिएको चेपाङका ससाना घरलाई नमुना बस्तीका रूपमा विकास गर्न प्रदेश सरकारले लगानी गर्न थालेको हो । प्रदेश सरकारले गर्ने निर्माणमा पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीले डिजाइन तयार गर्न लागेका छन् । माडी नगरपालिका–७ स्थित सीमान्तकृत चेपाङ बस्तीलाई नमुना बनाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारी प्रदेश सरकारले गरेको छ ।
बागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सहरी विकास कार्यालयको सहयोग र नेपाल चेपाङ सङ्घको सहकार्यमा एकीकृत बस्ती निर्माणका लागि काम अघि बढेको छ । एकीकृत नमुना बस्ती बनाउन पुल्चोक इन्जिनियरिङ क्याम्पसका २३ जना इन्जिनियरिङ पढ्दै गरेकाहरूले समूह बनाएर स्थानीयसँग घर घरमा पुगेर अध्ययन गरिरहेका छन् । टोलीले एक हप्ता बसेर अध्ययन गरी परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पारी बागमती प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।
बागमती प्रदेशको सहरी विकास तथा भवन कार्यालय मकवानपुर डिभिजनका इन्जिनियर अभिषेक बुढाथोकी, नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, माडी नगरपालिका–८ का वडाध्यक्ष चन्द्रकुमारी बानियाँ, स्थानीय चेपाङ अगुवा कमल चेपाङलगायतसँग टोलीले अन्तव्रिर्mया पनि गरेको छ । नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले तत्काल चार करोड रुपियाँमा बस्ती निर्माणको काम सुरु गरिने बताउनुभयो ।
माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले पालिकाको मात्रै स्रोतले नपुग्ने भएपछि प्रदेश सरकारमार्फत बस्ती निर्माणका लागि पहल गरेको जानकारी दिनुभयो । सीमान्तकृत जातिको नमुना बस्ती निर्माण गरेर यहाँ आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने योजना रहेको उहाँले बताउनुभयो ।
यस बस्तीमा ५७ घरपरिवार बसोबास गर्दै आएका छन् । विभिन्न सामाजिक सङ्घ संस्था तथा व्यक्तिले दिएको राहतका भरमा यहाँका अधिकांश चेपाङ परिवारले गुजारा चलाउँदै आएका छन् । मौसमी मजदुरी गर्दै जीवन गुजारा गर्दै आएका यहाँका चेपाङको आर्थिक अवस्था नयाँ घर बनाउन सक्ने नभएको पनि बताइएको छ । माडी नगरपालिका–९ मा पर्ने कुसुमखोलाको बस्ती २०७५ सालमा चितवन राष्ट्रिय निकुञ्जले हटाउन थालेपछि उनीहरूलाई नगरपालिकाको समन्वयमा वडा नं. ७ मा पर्ने परवीखोलाकिनारमा ल्याएर राखिएको थियो ।
कुसुमखोलामा १६० घर थिए । त्यहाँबाट निस्केर कोही प्याउली, कोही शिवद्वार, कोही राईडाँडा बसेका छन् । ५७ घर परवीखोलाको आडमा आएका थिए तर परवीखोलाको बस्ती पनि खोलाकै बगरमा भएकालेसुरक्षित नहुँदा हरेक बर्खा सन्त्रासमा बित्ने गरेको स्थानीय कमल चेपाङले बताउनुभयो । बस्तीमा सबैसँग ससाना छाप्रा छन् । सानो झुपडीमा परिवारका पाँच÷सात जना सदस्य बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
उनीहरूले सुरुमा खोलाबाटै पानी खाने गरेका थिए । अहिले बस्तीमा खानेपानीका १२ वटा धारा र दुई वटा ट्युबेल छन् । यो बस्तीमा पक्की शौचालयको अभाव छ । केही घरमा मात्र कच्ची शौचालय छन् ।
अर्जुन तिम्सिना स्नातक तहमा आर्किटेक पढ्दै गरेका आठौं सेमेस्टरका विद्यार्थी हुन्। आफ्ना २३ जना साथीहरुसहित परुई खोलामा भेटिएका अर्जुनले भन्नुभयो , ‘घर भनेको ठ्याक्क बस्ने मात्रै, घामपानी छेक्ने मात्रै नभइ रितिरिवाज संस्कृति सबै झल्कने हुनु पर्छ। घरप्रति भावना जोडिनु पर्छ । भावना नजोडिए घरमा कोही बस्दैन। आर्थिक उपार्जनको अवसर पनि त्यहाँ हुनु पर्यो ।’