• १९ पुस २०८२, शनिबार

मध्यपहाडी लोकमार्गको बागलुङखण्ड : कालोपत्र जीर्ण, यात्रामा सास्ती

blog

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–गलकोट सडकमा गरिएको मर्मत । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, पुस १९ गते ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ जिल्लामा एक सय ४२ किलोमीटर दूरी छ । त्यसमध्ये २५ किलोमीटर कालोपत्र भएको छैन । झण्डै ४० किलोमीटर कालोपत्र भए पनि जीर्ण र खाल्डैखाल्डाले जोखिमपूर्ण बनेको छ ।

लोकमार्गको बागलुङ खण्डमा पर्ने काठेखोला गाउँपालिका–५ को घोडाबाँधेदेखि गलकोट नगरपालिका जोड्ने सडकमा टालैटाला देखिन्छन् । सडकका खाल्डा पुर्न ती टाला हालिएको हो । पहिरो खसेको स्थानमा भने सडक जस्ताको त्यस्तै छ ।

बिहुँ खण्डमा वर्षौदेखि अलपत्र सडक कहिले बनिसक्छ भन्ने यकिन छैन । ठेकेदार पक्षले हरेक वर्ष हिउँदमा केही काम गरेपछि अलपत्र छाड्ने प्रवृत्ति हाबी भएको छ । केही बनेको सडक पनि वर्षातमा बगेर पुरानै अवस्थामा पुग्ने गरेको छ । गलकोट तर्फको सडक भने ६ वर्षअघि नै कालोपत्र भएको थियो । यो खण्डमा पटक पटक मर्मत गरिए पनि दिगो बन्न नसक्दा यात्रीले खेप्न बाध्य छन् ।

चौराहा, झाँक्रीस्थान नजिकका दुइवटा घुम्तीमा सडक भत्केर जोखिमपूर्ण भए पनि मर्मत भएको छैन । गलकोट नगरपालिका–९ र ११ को सिमानामा पर्ने भालुमारेमा सडक भत्केको दुई वर्ष भइसक्यो, तर मर्मत भएको छैन । गलकोट हटियादेखि बडिगाडको खर्वाङसम्मको सडक खण्डमा त खाल्डैखाल्डा परेका छन् ।

सडकका खाल्डाले साना सवारी साधन गुड्दा हैरानी खेपेको गलकोट नगरपालिका–९ का अध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । ‘‘हाम्रो नगरभित्रको सडक जीर्ण छ, नगरको बजेट राख्न नमिल्ने, लोकमार्गले वर्षौदेखि जीर्ण राखेको छ’’ उहाँले भन्नुभयो, ‘‘सार्वजनिक सुनुवाइदेखि वडामा आउने सेवाग्राहीले यो सडकको बेहालबारे पटक पटक प्रश्न गर्छन्, तर हामीले केही बताउन सकेका छैनौं ।’

यो सडकमा पश्चिम बागलुङवासी मात्र नभइ रुकुम, रोल्पा, जाजरकोट, डोल्पा र दैलेखका सर्वसाधारणले यात्रा गर्छन् । दैनिक सयौं गाडी गुड्न थालेपछि सडक भत्कने र जीर्ण बन्दै गएको हो । तत्कालीन अवस्थामा बुर्तिवाङसम्मका लागि खुलेको सडकलाई मध्यपहाडी लोकमार्गमा सूचिकृत गरेपछि राज्यको लगानी बढाइएको छ । तर ठेकेदारको लापरबाहीले काम अझै नसकिएको हो भने कतिपय स्थानमा लोकमार्गले सडक डिजिजनलाई हस्तान्तरण गरिसकेको छ ।

लोकमार्गकै बुर्तिवाङदेखि निसीहुँदै रुकुम तर्पmको अधिकांस सडकखण्ड सहज भए पनि निसीखोला गाउँपालिकामा सडकमै जोडेर घर बनाउने क्रम बढेको छ । सडक साँघुरो बन्दै जाँदा दैनिकजसो सडक दुर्घटनाका बढेका छन् । तत्काल सडकको मापदण्डलाई कायम गर्न नसकेमा सडक अत्याधिक साँघुरो हुने निसीखोला गाउँपालिका–२ का अध्यक्ष कुबिर बिकले बताउनुहुन्छ ।

सदरमुकाम बागलुङदेखि बिहुँ खण्डको सडक भने ठेकेदारको लापरबाहीले ढीला भइरहेको छ । स्थानीयले सडक ठप्प पारेर काम गराउन पहल गरेपछि केही गति लिएपनि काम सकिनेमा स्थानीय अझै विश्वस्त छैनन् । यो खण्डमा काम पूरा नहुँदा स्थानीय आक्रोसित छन् । कालोपत्र भए पनि जीर्ण भएको गलकोट खण्डमा स्तरोन्नति गर्न पटक पटक राज्यको ध्यानाकर्षण गरेपनि सुनुवाई हुन सकेको छैन ।

२०६८ सालदेखि थालिएको आयोजनाको काम अलपत्र पर्दा यात्रीले सास्ती खेप्ने गरेका हुन् । बिहुँ खण्डमा पर्ने अमर मावि, भीमसेन मावि, खोलातिर प्रावि, हिमालय आधारभूत विद्यालय, लालीगुराँस बोर्डिङसहित काठेखोला–५ र ६ का स्वास्थ्य चौकी समेत सडकको समस्याले आजित छन् । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर ऋषि गौतमले सडकका खाल्डा टाल्ने काम भएको, ठेकेदारलाई ल्याएर काममा लगाइएकाले टिकाटिप्पणी नहुने व्यवस्थापन मिलाउने बताउनुहुन्छ ।