• १७ पुस २०८२, बिहिबार

यारी नाका भन्सार कार्यालय बन्द

blog

हिल्सामा रहेको यारी नाका भन्सार कार्यालय ।तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, पुस १७ गते  । तीन महिनाका लागि नेपाल र चीनको सिमाना हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालय बन्द गरिएको छ । हिल्सामा चीनको ताक्लाकोटबाट व्यापारी र सामान आयात रोकिएपछि कुनै कारोबार नहुँँदा भन्सार कार्यालय बन्द गरिएको हो । 

पुस महिनाबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामान आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा आइपुगेको उक्त कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । चीनको ताक्लाकोटबाट सामान आयात हुन छाडेपछि भन्सार विभागसँगको समन्वयमा कार्यालय बन्द गरेर कर्मचारी फिर्ता हुनु परेको उहाँले बताउनुभयो ।  चीनले हिल्सा नाका भने खुला नै राखेको छ । यारी नाका भन्सा कार्यालय चैत दोस्रो हप्ताबाट सञ्चालनमा आउने बताइएको छ । हिमपात भए सो समयमा पनि सडक अवरुद्ध हुने भएका कारण वैशाख महिनापछि मात्र पनि कार्यालयमा कर्मचारी उपस्थिति हुने सम्भावना पनि उस्तै रहेको छ । गत साउन महिना यता यारी नाका भन्सार कार्यालयले अठार लाख ६५ हजार रुपियाँ राजस्व असुली गरेको जनाएको छ । यो राजस्व गतवर्षभन्दा दोब्बर हो ।