• १७ पुस २०८२, बिहिबार

मनाङ उत्कृष्ट जिल्ला घोषित

blog

मनाङ समाचारदाता 

मनाङ, पुस १७ गते । गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको मूल्याङ्कन नतिजा अनुसार कुल २९.२५ पूर्णाङ्कमध्ये मनाङले २८.७५ अङ्क प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको हो । ‘क’ वर्गका २६ वटा जिल्लामध्ये २८.७५ अङ्क प्राप्त गर्दै ललितपुर पहिलो भएको छ । त्यसै गरी ‘ख’ वर्गका ३५ वटा जिल्लामध्ये २८.५० अङ्क प्राप्त गर्दै धनकुटा पहिलो भएको छ । ‘ग’ वर्गका जिल्लामा रसुवा, तेह्रथुम, रुकुमपूर्व, मुगु, म्याग्दी, सोलुखुम्बु, दार्चुला, मुस्ताङ, रुकुमपश्चिम, ताप्लेजुङ, बाजुरा, हुम्ला, डोल्पा, बझाङ र कालीकोट रहेका छन् । यीमध्ये मनाङ पहिलो भएको हो भने दोस्रोमा रसुवा र तेस्रोमा तेह्रथुम रहेका छन् । 

उत्कृष्ट नतिजा हासिल गर्ने जिल्ला प्रशासन कार्यालय मनाङको नेतृत्व प्रमुख जिल्ला अधिकारी नवराज पौड्‍यालले गरिरहनुभएको छ । इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख रहनुभएका उपसचिव पौड्याललाई गृह मन्त्रालयले भदौ ४ गते मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । मनाङ उपसचिवस्तरको प्रमुख जिल्ला अधिकारी रहने जिल्ला हो । 

गृह मन्त्रालयसँग गरिएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन भएको तथ्य मन्त्रालयकै मूल्याङ्कन नतिजाले पुष्टि गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहोरात्र खट्दै आएका जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीसहित जिल्लास्थित सबै कार्यालयको सामूहिक प्रयासको नतिजा हो यो ।”

मनाङमा केही महिनाअघि हिमपातका कारण प्रभावित जनजीवन सहज बनाउने तथा आन्तरिक र बाह्य पर्यटकको उद्धार कार्यमा उहाँले खेलेको भूमिकाको प्रशंसा भएको थियो ।

गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका सूचक र मापदण्डका आधारमा नियमित रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।