प्रवीण कुमार शर्मा
रौतहट, पुस १७ गते । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गरी ११० जना उम्मेदवारको नाम निर्वाचन आयोगमा दर्ता गराएको छ । यस सूचीमा रौतहटबाट २ जनाले स्थान पाएका छन् ।
रौतहटबाट प्रतिनिधिसभा सदस्यका लागि डा. शाहजहाँ खातुन र सीता थपलिया (उर्मिला) समानुपातिक बन्दसूचीमा समेटिएका हुन् ।
नेपाली कांग्रेस स्वास्थ्य विभाग मधेश प्रदेशका सचिव समेत रहनुभएका ३९ वर्षीय डा. शाहजहाँ विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसमा सक्रिय रुपमा लाग्नुभएको छ । पार्टीमा उहाँको लगानी र पार्टी प्रतिको निष्ठाको प्रतिफल स्वरुप समानुपातिक बन्दसूचीमा नाम समेटिएको नेपाली कांग्रेस रौतहटका सभापति सुनिल कुमार यादवले प्रतिक्रिया दिनुभयो ।
डा. शाहजहाँको नाम समानुपातिक बन्दसूचीमा समेटिएसँगै रौतहट क्षेत्र नम्बर १ मा पार्टीको साङ्गठनिक अवस्था झन् मजबुत हुने विश्वास गरिएको छ ।
समानुपातिक बन्दसूचीमा नाम आएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनु हुँदै डा. शाहजहाँले आफ्नो पहिलो प्राथमिकता महिलाको क्षेत्रमा रहने बताउनुभयो । अहिले पनि मधेशमा महिलाहरु पछाडि परेको, शिक्षाबाट बञ्चित रहेको, आत्मनिर्भर हुन नसकेको लगायतका समस्या छन्, यसलाई निरुत्साहित पार्दै महिलालाई शिक्षित बनाउन, आत्मनिर्भर बनाउन तथा हरेक क्षेत्रमा महिलाको पहुँच पुर्याउन आफु दृढ सङ्कल्पका साथ अगाडि बढ्ने उहाँले बताउनुभयो ।