• २६ मंसिर २०८०, मङ्गलबार

काठमाडौंमा पाँच दिने ‘क्यारिकेचर’ प्रदर्शनी (फोटोफिचर)

blog

काठमाडौं, असार २७ गते । काठमाडौंमा क्यारिकेचर प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी असार २६ देखि ३० गतेसम्म चल्ने आयोजकले बताएको छ । नेपाली क्यारिकेचर २०७९ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुनिष्ट क्लवको संयुक्त आयोजनामा भइरहेको छ ।  

प्रदर्शनी कक्षमा २५ महिलासहित ४९ जना कलाकारहरुले बनाएको क्यारिकेचर राखिएको छ । प्रदर्शनीमा राखिएका कार्टुनमा शताब्दीपुरुष सत्यमोहन जोशीदेखि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र धरानका प्रमुख हर्कराज साम्पाङसम्मको क्यारिकेचर राखिएका छ । प्रदर्शनीमा नेपालको सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिएका विभिन्न व्यक्तित्वका क्यारिकेचर समेत प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा पत्रकार किशोर नेपाल, ऋषि धमला, कलाकारहरु भुवन केसी, हरिवंश आचार्य, सन्तोष पन्त, सुनिल थापा, केदार घिमिरे, आयुषमान देशराज, राजाराम पौडेल, विपिन कार्की, सिताराम कट्टेल, नीर शाहलगायतका मुहारलाई क्रमबद्ध रुपमा राखिएको छ । 

क्यारिकेचर अर्थात् अनुहारको व्यङ्ग्यात्मक हाउभाउ व्यङ्ग्यचित्रको अर्को पाटो हो । रङ र रेखाको प्रयोग गरी भावसहितको अतिरञ्जना गरिएको चित्रको रुपमासमेत क्यारिकेचरलाई हेरिएको छ ।  

यसअघि प्रतिष्ठान र क्लबले क्यारिकेचर विधामा महिला कलाकारलाई अभिप्रेरित गर्ने लक्ष्य राखेर गत पुस २८–३० गतेसम्म महिला कलाकारको क्यारिकेचर कार्यशाला आयोजना भएको थियो । सो कार्यशालामा सहभागी २१ जना महिला कलाकारले भाग लिएका थिए । त्यस प्रदर्शनीका उत्कृष्ट क्यारिकेचर पनि छनोट गरी प्रदर्शनीमा समावेश गरिएको छ । 

राजनीतिक व्यक्तित्वको कार्टुनहरु सबैले बनाउने गर्छन् तर अरु क्षेत्रका कार्टुनहरु कमै देखिनेगरेको कार्टुनिष्टहरुको भनाइ छ । "क्यारिकेचरले सबै क्षेत्र समेट्नु पर्ने सोचले यो प्रदर्शनीमा सबै विधाका व्यक्तित्वलाई समावेश गर्न खोजिएको हो, मेलै कार्टुनिष्टको  नै कार्टुन बनाएँ”, कार्टुनिष्ट केशवराज खनालले भन्नुभयो ।  

उहाँका अनुसार यो प्रदर्शनी बिशेषगरी महिला कलाकारलाई लक्षित गरेर आयेजना गरिएको छ । खनालले बनाउनुभएको कार्टुनिष्ट अविन श्रेष्ठको क्यारिकेचर पनि प्रदर्शनीमा राखिएको छ ।  

प्रतिष्ठान र क्लबले २०७४ सालदेखि नियमित रूपमा क्यारिकेचर प्रदर्शनी गर्दैआएको छ । नेपालमा क्यारिकेचरप्रतिको कलाकार र दर्शकको अभिरूचिलाई ध्यानमा राखेर प्रदर्शनी गरिएको खनालले बताउनुभयो । 


Author
सनम महर्जन

उहाँ कला, संस्कृति र मनोरञ्जन विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।