• १६ पुस २०८२, बुधबार

चिसोबाट जोगाउन नेपाली सेनाद्वारा बाँकेमा दाउरा वितरण

blog

नेपाली सेनाको बज्रदल गणले दाउरा वितरण गरेर आगो बाल्दै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, पुस १६ गते ।
बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सोबाट सर्वसाधारणको राहातका लागि नेपाली सेनाको बज्रदल गण राँझाले बाँकेका विभिन्न स्थानमा आगो ताप्न दाउरा वितरण गरेको छ ।

सेनाको बज्रदल गण राँझाका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले दिनुभएको जानकारी अनुसार केही दिन यता बढेको अत्यधिक चिसोलाई मध्यनजर गरेर  सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था गर्न दाउरा वितरण गरिएको हो ।

उहाँले जिल्लाका खजुरा, पुरैना, फुलटेक्रा, आलानगर लगायत विभिन्न स्थानहरुमा आगो ताप्न दाउरा सहयोग गरेको बताउनुभयो । सेनाले चोकचोकमा पुगेर दाउरा खसालेर बालेपछि चिसोबाट अत्यधिक पीडित बनेका स्थानीयहरुले आगो तापेका छन् ।

नेपालगन्ज पुरैनाका राजकुमार श्रेष्ठले सेनाले चिसो पीडितका लागि निकै राम्रो काम गरेको जनाउँदै अन्य स्थानहरुमा पनि वितरण गर्न आग्रह गर्नुभयो । उहाँले केही दिन यता बढेको चिसोले सर्वसाधारणलाई अतिनै समस्यामा पारेको पनि बताउनुभयो ।  

सोही प्रकारले बाँकेका स्थानीय तहहरुले पनि दाउरा वितरण गर्ने कार्य सुरु गरेका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन रुपन ज्ञवालीका अनुसार चिसो धेरै बढेकोले जिल्लाका आठ वटै पालिकाले दाउरा वितरण गरिरहेका छन् ।

उहाँका अनुसार केही स्थानीय तहले गरीब तथा विपन्नलाई कम्बल वितरण समेत गरिरहेका छन् । हालसम्म विभिन्न पालिकामा एक हजार ८० थान कम्बल वितरण भइसकेको ज्ञवालीले जानकारी दिनुभयो । जानकी गाउँपालिकामा ८००, राप्तीसोनारी गाउँपालिकामा १८०, कोहलपुर खजुरामा ५०÷५० थान कम्बल वितरण गरिएको छ । बैजनाथले पनि कम्बल वितरण सुरु गरेको जनाएको छ ।

जाडो बढेपछि यहाँका सबै पालिकाले विद्यालयहरुमा जाडो बिदा दिएका छन् । बाँकेमा जिल्ला विपद् व्यवस्थापन समितिले चिसो तथा शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी सोही अनुसार काम गरिरहेको जनाएको छ । उक्त योजना अनुसार यस वर्ष बाँकेमा ३६ हजार घरपरिवारका एक लाख ७६ हजार मानिस चिसो तथा शीतलहरबाट प्रभावित हुने प्रक्षेपण गरिएको थियो ।