पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, पुस १६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको गृहनगर पश्चिम नवलपरासीको बर्दघाट पुगेको छ ।
मङ्गलबार बर्दघाट नगरपालिकाले आफ्नो नगरको गौरव तथा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलका बुवा र आमालाई समेत भव्य सम्मान गरेको छ । बर्दघाट नगर सरकार र आम नगरवासीको तर्फबाट उहाँहरूलाई सम्मान गरिएको हो ।
टोलीले जितेको एनपिएलको ट्रफीसहितको विजय उत्सव टोली कप्तान रोहितको घरमै पुगेको थियो, जहाँ स्थानीय जनप्रतिनिधि, खेलप्रेमी र नगरवासीले भव्य स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले रोहित पौडेलले क्रिकेटको माध्यमबाट बर्दघाट र सिंगो नेपाललाई विश्वसामु चिनाएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले रोहित जस्तो प्रतिभावान खेलाडीलाई जन्म दिने र यो स्थानसम्म पु¥याउन त्याग गर्ने अभिभावकलाई सम्मान गर्न पाउनु नगरपालिकाको लागि गौरवको विषय भएको बताउनुभयो ।
लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा ट्रफी पुर्याएर खुसी साट्ने उद्देश्यले पुस ६ गते शनिबारदेखि यो यात्रा सुरु गरेको थियो । ट्रफी उत्सव यात्रा बर्दिया, दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा हुँदै पश्चिम नवलपरासी पुगेको हो। यो यात्रा पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर समापन हुनेछ ।