• १६ पुस २०८२, बुधबार

चर्चित कलाकारको प्रस्तुतीले बढायो बागलुङ महोत्सवमा रौनकता

blog

बागलुङ महोत्सवमा प्रस्तुती दिँदै कलाकार पूर्णकला बिक । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, पुस १६ गते ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा बाङेचौरस्थित खेल मैदानमा आठौं बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा रौनक बढाउने काम भने चर्चित कलाकारहरुको जमघटले बनाएको छ । चर्चित कलाकारको प्रस्तुतीले कठ्याङ्ग्रिदो चिसो पुसमा पनि संगीतका पारखीहरु झुमेको देखिन्छ ।

महोत्सवको दोस्रो दिनदेखि चर्चित कलाकार समीक्षा अधिकारीदेखि बसन्त थापा, अर्जुन सापकोटाका संगीतिक प्रस्तुतीले महोत्सव अवलोकन गर्न आउनेले मनोरञ्जन लिएका छन् । अहिले चर्चित गायिका समीक्षा अधिकारीको प्रस्तुतीमा धेरै दर्शकहरु हौसिए । दर्शकको मागले अधिकारीले कतिपय गीत दोहोर्‍याएर गाउनुपर्‍यो ।

‘मुटुमै बसेछौं माया थाहै भएन’ भन्ने गीतबाट प्रस्तुती सुरु गर्नुभएकी अधिकारीले सिरैमा सिन्दुर आहा, जुन जस्ती रे, शिरमा सिरबन्दी जस्ता गीत गाउँदा दर्शकहरु छमछम नाचेका थिए । जब गायक दुर्गेस थापा सहितको ‘हट भएर, पट भएर’ गाउन थालेपछि धेरै दर्शकले उहाँ गाउँदै नाच्दै गरेर साथ दिएका थिए । अधिकारीले बाटुली, सुर्ती माड्दै माड्दै गयो जोवन लगायतका गीत गायक दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो । 

महोत्सवमा बसन्त थापाका मौलीक गीतमा तात्यो । बागलुङ ‘बजारमा बाघको शालिक’ गीतले चर्चित थापाले आम नेपालीको मन छोएको गीत ‘मयाली’ प्रस्तुत गर्नुभयो । थापाका लोक लयका गीतमा बागलुङबासी छमछमी नाचेका थिए । थापाले म त गाउँले ठिटो, पिपलबोटे दाई, बाघको शालिक लगायतका गीत गाउँदा दर्शकले नाचेर साथ दिए ।

यस्तै, अस्मिता अधिकारीले ‘काले केटाले’, अर्जुन सापकोटाले ‘झलिको झलल’, तेजस रेग्मी लगायतका कलाकारको प्रस्तुतीले दर्शकलाई नचाएको थियो । महोत्सवमा पूर्णकला बिसी, ऋतु कंडेल, रामजी पौडेल, रिमा थापा, दिनेश थापा, आशा बिसी, गणेश नेपाली, अम्बिका पुन र रिमा थापाको प्रस्तुती दिईसक्नुभएको छ । महोत्सवमा ढोरपाटन क्षेत्रका झाँक्री नाँच, नेवारहरुको लाखे र शाक्यहरुको जोगी नाँच आम दर्शकको चासोमा परेका छ ।

महोत्सवमा कथा बाचन र योजना प्रस्तुतीले रौनक बढाएको छ । महोत्सवमा मेड इन बागलुङका स्टल समेत छन् । ती स्टलमा किसानका उत्पादन छन् भने व्यवसायिक स्टल दुई सय वटा छन् । महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता र पुरुष तथा महिला भलिबलले पनि रौनक थपेको संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो ।