• १६ पुस २०८२, बुधबार

बर्दिवास भूगोल ‘पार्क’ बन्ने अपार सम्भावना बोकेको क्षेत्र

blog

बर्दिबास–३ को राइमण्डलडाँडामा देखिएको लोपोन्मुख गिद्ध । तस्बिरः अजय शाह

अजय शाह
गौशाला (महोत्तरी), पुस १६ गते ।
भूगर्भ विज्ञ डा. सोमनाथ सापकोटाले महोत्तरीको बर्दिवास नगरपालिका क्षेत्र नेपालकै सबैभन्दा विविधितायुक्त भूगोल समेटिएको ‘भूगोल पार्क’का रूपमा विकास गर्न सकिने उच्च सम्भावना बोकेको स्थान भएका बताउनुभएको छ ।

विद्यावारिधिका क्रममा बर्दिवासको भूगोलमा लामो समय अध्ययन तथा अन्वेषण गर्नुभएका डा. सापकोटाका अनुसार यो क्षेत्र प्रागऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, भौगोलिक तथा पर्यावरणीय दृष्टिले अत्यन्तै विशिष्ट छ ।

जिल्लाको सम्पूर्ण चुरे क्षेत्र समेटिएको बर्दिवास नगरक्षेत्रमा मधेश भूभागमै उच्च पहाडी क्षेत्रमा पाइने वनस्पति र फलफूल उत्पादन हुने गरेको पाइएको उहाँको अध्ययनले देखाएको छ ।

“मधेशमा रहेर पनि यहाँ जुनार, सुन्तला जस्ता उच्च पहाडी फलफूल फल्नु आफैंमा अनौठो र महत्त्वपूर्ण तथ्य हो,” डा. सापकोटाले भन्नुभयो, “यहाँ लोपोन्मुख गिद्धको बासस्थान, सर्पको खानी, दुर्लभ जडीबुटी, महाभारतकालीन धार्मिक स्थल, पाषाण युगका हतियार निर्माणस्थल तथा ऐतिहासिक भूकम्पका प्रमाणहरू भेटिनु यो क्षेत्रको अनुपम विशेषता हो ।”

थप अध्ययन तथा अन्वेषणका क्रममा हाल बर्दिवास आइपुग्नुभएका डा. सापकोटाले बर्दिवास उद्योग वाणिज्य सङ्घको संयोजनमा मङ्गलबार आयोजित  अन्तरक्रिया कार्यक्रममा आफ्नो अनुसन्धान अनुभव साझा गर्नुभयो । उहाँका अनुसार माण्डवीगङ्गा (मडहा), सोनावती (शिरखोला), भब्सी र रातु नदीका उद्गमस्थल तथा चुरे पर्वतशृङ्खलाका भित्ताहरूको अध्ययन गर्दा सन् १२५५, १६००, १८३३ र १९३४ का ठुला भूकम्पका स्पष्ट असर फेला परेका छन् ।

“यहाँको भूगोलले कम्तीमा चार हजार पाँच सय वर्षअघि नै उन्नत मानव सभ्यता रहेको सङ्केत दिन्छ,” उहाँले भन्नुभयो, “यी सबै विशेषताका आधारमा बर्दिवासलाई मुलुककै नमुना विविधितायुक्त भूगोल पार्कका रूपमा विकास गर्न सकिन्छ ।” यसका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबिच सहकार्य भएमा ठुलो बजेटको आवश्यकता नपर्ने उहाँको धारणा छ । प्रारम्भिक चरणमा करिब एक करोड ५० लाख रुपियाँमै सम्भाव्यता अध्ययन र प्रारूप तयार गर्न सकिने उहाँले बताउनुभयो ।

बर्दिवास–३ को गौरीडाँडा सर्पको खानीका रूपमा चिनिन्छ भने राइमण्डलडाँडामा लोपोन्मुख गिद्धको बासस्थान रहेको छ । बर्दिवास–४ को सोलीघोप्टेडाँडा दुर्लभ जडीबुटीको भण्डार हो । यस्तै बर्दिवास–११ स्थित चनौटेडाँडा चुरे क्षेत्रकै अग्लो स्थान मानिन्छ, जहाँ उच्च पहाडी फलफूल उत्पादन हुन्छ । बर्दिवास–३ पाटु र राइमण्डल क्षेत्रमा करिब १० हजार वर्ष पुरानो पाषाण युगकालीन हतियार कारखानाका अवशेष फेला परेका छन् ।

धार्मिक दृष्टिले पनि बर्दिवास महत्त्वपूर्ण रहेको डा. सापकोटा बताउनुहुन्छ । बर्दिवास–५ टुटेश्वरमा महाभारतकालीन शिवालय टुटेश्वरनाथ रहेको विश्वास छ भने बर्दिबास–४ माइस्थानमा पाँच हजार वर्ष पूरानो देवी पञ्चधुराको मन्दिर अवस्थित छ ।

यसअघि पुरातत्व विभाग तथा भारतीय भूगर्भविद् र पुरातत्वविद्को टोलीले समेत यहाँको पाषाण युगकालीन हतियार कारखानाको अध्ययन गर्दै दक्षिणपूर्वी एसियामै यो क्षेत्र विशेष महत्त्वको रहेको निष्कर्ष निकालेको थियो । दुई वर्षअघि बर्दिवास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा सम्पन्न तीन महिने पदयात्राले ३८ स्थानलाई पर्यटकीय सम्भावनाका क्षेत्रका रूपमा पहिचान गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

आफ्नो भूगोल र इतिहासको यस्तो गौरवमय पहिचानले बर्दिवासवासी उत्साहित छन् । स्थानीयवासीले तीनै तहका सरकारले यस क्षेत्रको संरक्षण, प्रवर्धन र दिगो विकासका लागि शीघ्र पहल गर्नुपर्ने माग गरेका छन् ।