• १२ असार २०८१, बुधबार

जडीबुटी खाँदा एकको मृत्यु, एक घाइते

blog

अछाम, असार २७ गते । घरबाट भारत जान भन्दै आएका एक व्यक्तिले दिएको जडीबुटी खाँदा अछाममा एक व्यक्तिको ज्यान गएको छ भने एक गम्भीर घाइते भएका छन् । चौरपाटी गाउँपालिका–४ पालयका ४२ वर्षीय गणेश खत्रीको नचिनेको जडीबुटी खाएर ज्यान गएको मृतकका दाजु दीपक खत्रीले जानकारी दिनुभयो । 

खत्रीको साथमै जडीबुटी खाएका साँफेबगर नगरपालिका–७ का वडा सदस्य रहेका २९ वर्षीय किशोर भाट घाइते भएपछि बयलपाटा अस्पतालमा उपचार भइरहेको छ । मृतक खत्रीको शवको पाेष्टमार्टमका लागि सदरमुकाम मङ्गलसेनस्थित जिल्ला अस्पताल ल्याइएको छ । दुवै जनाले आइतबार दिउँसोतिर साँफेबगरमा नचिनेको जडिबुटी सेवन गरेको बताइएको छ ।  

“निगुरोको डाँठ जस्तो तेलमा तारेको कुन जडिबुटी हो, पोलथिनमा केही भेटिएको छ ।” मृतकका दाजु दीपकको भनाइ छ । उक्त जडीबुटी खाएपछि शरीरको तापक्रम निकै बढेपछि स्थानीय प्रभाली खोलामा नुहाउन गएको र त्यहीँ ढलेपछि स्थानीयले अटोरिक्सामा राखेर बयलपाटा अस्पताल पुर्याइएको बताइएको छ । अस्पताल पुर्याएको केही छिनमै गणेशको मृत्यु भएको मृतकका दाजु दीपकको भनाइ छ । जडीबुटी दिने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । 


Author

शिवराज ढुंगाना