• ४ पुस २०८२, शुक्रबार

खेजेनिममा क्लबस्तरीय फुटबल प्रतियोगिताको तयारी

blog

सांकेतिक तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ४ गते। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा प्रथम मानाभरा आमन्त्रित क्लबस्तरीय कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। आउँदो पुस १५ देखि १९ गतेसम्म खेजेनिममा प्रतियोगिता सञ्चालन हुने भएको हो।

स्थानीय मानाभरा युथ स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रथम मानाभरा आमन्त्रित क्लबस्तरीय फुटबल प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ। आयोजक क्लबका संरक्षक एवम् फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास) का अनुसार ताप्लेजुङ बाहिरको एउटा टोली (टिम) सहभागी हुने छ। 

प्रतियोगितामा सहभागी हुने जिल्ला बाहिरको टोलीको भने निश्चित भइनसकेको गाउँपालिका उपाध्यक्ष साम्राले जानकारी दिनुभयो। जिल्लाभित्रका आयोजक मानाभरा युथ स्पोर्टिङ क्लब, लालीगुराँस फुटबल क्लब सुरुम्खिम, सिँवा स्पोर्टिङ क्लब लिङ्खिम, नवप्रयास युनाइटेड क्लब हाङ्देवा प्रतियोगितामा सहभागी हुने छन्। यस्तै प्रगतिशील युथ क्लब लिङ्तेप, माछापोखरी फुटबल क्लब चाँगे र जनसेवा स्पोर्टिङ क्लब ढुङ्गेसाँघु सहभागी हुने भएको आयोजकले जनाएको छ।

यता प्रतियोगितामा बिजेताले तीन लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ। उपविजेताले एक लाख ५२ हजार ८२ रुपियाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा खेलाडीले सबोत्कृष्टसहित विभिन्न विधागत पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिता खेजेनिमको आहालेटार खेलमैदानमा सञ्चालन हुने छ।