• ४ पुस २०८२, शुक्रबार

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

blog

जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका पत्रकारलाई सम्मान गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल । तस्बिर: सुजन गुरुङ

काठमाडौँ, पुस ४ गते । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । 

शुक्रबार घाइते पत्रकारलाई नगदसहित सम्मान गर्न सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो घोषणा गर्नुभएको हो।

 जेनजी प्रदर्शनको क्रममा प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर चार जना पत्रकार घाइते भएका छन् । आन्दोलनको क्रममा घाइते भएका कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, नेपाल प्रेसडटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाललाई शुक्रबार मन्त्रालयमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै मन्त्री खरेलले घाइते पत्रकारहरुलाई निरन्तर सम्पर्कमा रहन आग्रह समेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘राज्यले तपाईंहरुको उपचार खर्च व्यहोर्नुपर्छ, व्यहोर्छ । मैले त्यतिबेला पनि भनेको थिएँ । आज पनि भन्छु । यत्रो दुनियाँको खर्च व्यहोरिरहेको सरकारले तपाईंको किन नव्यहोर्ने ? तर यसमा मिसइन्फरमेसन चाहिँ नहोस् । सरकारले वास्ता गरेन हैन, गर्छ । तर सम्पर्क त हुनुपर्‍यो ।’

मन्त्री खरेलले घाइते पत्रकारले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापन पत्रकार महासंघले गर्नुपर्नेमा जोड दिनुभयो ।