• २ पुस २०८२, बुधबार

व्यवसायलाई प्रवर्धन गर्न महोत्सव

blog

सन्ताेष सुवेदी

कास्की, पुस २ गते । लेखनाथ उद्योग वाणिज्य सङ्घले यही पुस ३ गतेदेखि १४ गतेसम्म २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको उद्योग तथा व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्य छ ।

सङ्घका अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले जेनजी आन्दोलनबाट प्रभावित भएको उद्योग तथा व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको बताउनुभयो । वर्तमान विषम आर्थिक अवस्थाका बिच व्यवसायी र आम उपभोक्ताको खस्किएको मनोबल उच्च बनाउँदै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँको भनाइ थियो ।

पराजुलीले महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताबीचको साझा थलोका रूपमा विकास गर्ने अपेक्षा गरिएको जनाउनुभयो । लेखनाथ महोत्सवलाई ‘अनौपचारिक विश्वविद्यालय’का रूपमा स्थापित गर्ने लक्ष्य रहेको पराजुलीले उल्लेख गर्नुभयो ।

बिहीबारदेखि सुरु हुने महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकी  र्‍याली एवं सांस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको छ ।

त्यसबाहेक महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, बिउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी हुने भएको छ । महोत्सवमा पर्यटन प्रवर्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी समेत जानकारी प्राप्त गर्न सकिने भएको छ । महोत्सवमा उद्योग, व्यापार, व्यवसाय, सेवामूलक एवं सूचनामूलक सहितका ३ सय ३५ वटा स्टल राखिएको छ ।