• २६ मङ्सिर २०८२, शुक्रबार

केन्द्रीय प्रसारण लाइन जोडिएसँगै लाप्राकवासी खुशी

blog

लाप्राक गाउँ ।

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर २६ गते । उत्तरी गोरखाको हिमालको काखमा बसेको लाप्राक गाउँ चार वर्षदेखि अन्धकारको गर्भमा निदाइरहेको थियो । रातको गहिरो मौनताभित्र लुकिरहन्थ्यो स्थानीयको अपेक्षा, दिनको उज्यालोले मात्र काम चलाइदिएको बाध्यता र लघु जलुविद्युतले कहिल्यै भरिन नसक्ने उर्जाको प्यास अहिले भने लाप्राकको आकाश केही फरक देखिएको छ । 

वर्षौंदेखि पर्खाइमा बसेको उज्यालो अन्ततः गाउँको ढोकामा आएपछि सिङ्गो लाप्राकबासी खुशीले गदगद भएको धार्चे गाउँपालिका–४ लाप्राकका वडा अध्यक्ष किसान गुरुङले बताउनुभयो। धार्चे गाउँपालिका–४ लाप्राकमा करिब चार वर्षअघि ११ केभीको क्षमताको प्रसारण लाइन त बिछ्याइएको थियो । तर आवश्यक मर्मत, खराब उपकरण र अपूर्ण कामको कारण विद्युत् प्रवाह हुन सकेको थिएन । 

स्थानीयले एकपछि अर्को समस्या भोग्दै आउँदा बिजुली कहिले केन्द्रीय प्रसारण लाईनसँगै हिमाली बस्ती लाप्राकमा झिलिमिली होला भन्ने प्रश्न नै दैनिक जीवनको पीडादायी अवस्था बनेको थियो । अब भने सिरानचोक गाउँपालिका–२ थालाजुङको ठुलोस्वाँरा सबस्टेशनबाट विधिवत् रुपमा विद्युत् सुचारु भएसँगै लाप्राकको ६ सय घरधुरी नयाँ जीवन चक्रमा प्रवेश गरेको छ ।

गुप्सीपाखामा १०० केभी क्षमताको एक ट्रान्सफर पुरानो बस्तीमा ५०–५० केभी दुईवटा ट्रान्सफर र बलियो बितरण लाईन निर्माणसँगै लाप्राकको संरचना आधुनिक उज्यालोमा रुपान्तरित हुँदै गएको छ । 

उत्तरी हिमाली बस्ती लाप्राकमा विद्युत् नहुँदा राम्रोसँग मोबाइल चार्ज गर्न नसक्ने, इन्टरनेट चलाउन नसक्ने साँझ परेसँगै काम रोक्नुपर्ने अवस्था हट्दै जाँदा लाप्राकबासीको मुहारमा अहिले छुट्टै चमक छ। केही दिनदेखि बिजुली आएसँगै लाप्राकबासीले उज्यालोको महसुस गरेका छन् । 

चार वर्ष अन्धकार चिरेर आएको यो उज्यालो केबल लाप्राकको घर घरमा बलिरहेको बिजुली मात्र होइन, यो आशा विकास र नयाँ सुरुवातको दीप हो जसले हिमाली बस्तीलाई फेरि जीवन्त बनाइदिएको छ । 

हिमालको काखमा रहेको लाप्राकमा बिजुली बलेसँगै आन्तरिक तथा बाह्रय पर्यटकहरुको चहलपहल बढ्ने विश्वास गरिएको वडा अध्यक्ष किसान गुरुङले बताउनुभयो । 

लाप्राकमा केन्द्रिय प्रशारण लाईन जोडिएसँगै अहिले झण्डै दुई सय मिटरबक्सको गइसकेको र अन्य घरधुरीले मिटरबक्सको लागि निवेदन आएकाले लाप्राकका सबै घरमा विद्युत् पुग्ने भएपछि लाप्राकमा विद्युत् वितरण केन्द्र गोरखाबाट दुई जना प्राविधिक खटाइएको विद्युत् वितरण केन्द्र गोरखाले जनाएको छ ।