• २६ मङ्सिर २०८२, शुक्रबार

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

blog

जाकार्ता, मङ्सिर २६ गते । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्णरूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ । सरकार बायोडिजेल कार्यक्रमलाई तीव्र गतिमा विस्तार गर्दै छ र घरेलु तेल प्रशोधन क्षमतामा वृद्धि गरिरहेको छ ।

जसले विदेशी इन्धनमा निर्भरता कम गर्नेछ । देशभर लागु गरिने नयाँ ‘बी-५० बायोडिजेल’ मिश्रण यस योजनाको मुख्य आधार हो र सन् २०२६ देखि यसको प्रयोग सुरु हुने लक्ष्य राखिएको छ । ऊर्जा तथा खनिज स्रोत मन्त्री बाहलिल लाहादालियाका अनुसार, बी-५० कार्यक्रम र तेल शोधन गृहको क्षमता वृद्धिले इन्डोनेसियालाई डिजेल आयात रोक्ने अवस्थामा पुर्‍याउ छ । 

बलिकपापन शोधन गृह विस्तारपछि यसको दैनिक प्रशोधन क्षमता ३६० हजार ब्यारेल पुग्नेछ, जसले घरेलु उत्पादन बढाएर डिजेल आयातमा दीर्घकालीन कमी ल्याउने अपेक्षा गरिएको छ । इन्डोनेसिया लामो समयदेखि यातायात, औद्योगिक कार्य र विद्युत् उत्पादनका लागि आयातित डिजेलमा निर्भर थियो । 

तर बढ्दो विश्व बजार मूल्य र आयात खर्चका कारण सरकारले घरेलु विकल्प विकासमा जोड दिएको छ । पाम तेलबाट तयार हुने बायोडिजेलले किसानको आय बढाउन, उद्योग विस्तार गर्न र ऊर्जा मिश्रणलाई विविधीकरण गर्न महत्वपूर्ण योगदान दिएको छ । हाल इन्डोनेसियामा बी-४० बायोडिजेल नीति लागु छ र बी-५० मा रूपान्तरणपछि देश विश्वमै ठूलो मात्रामा बायोडिजेल प्रयोग गर्ने अग्रणी राष्ट्रको सूचीमा अझ मजबुत रूपमा उभिने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा