झापा, असार २५ गते । झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा. केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षाकाे मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताउनुभयो ।
उहाँले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्या नआएको जानकारी दिनुभयो । डा. ढकालले रासससँग भन्नुभयो, “छाला रोगको विशषेज्ञ भएर सेवा दिएको १७ वर्ष भयो, प्रत्येक वर्ष यो समस्या देखा पर्छ । विगतमा भन्दा अलि बढी यसपालि देखिएको हो । डरलाग्दो र भयानक रोग भने होइन ।”
“हामी यसलाई पेडेरस डर्माटाइटिस भन्छौँ”, उहाँले भन्नुभयो, “यो नाइरोबी फ्लाई नामक कीराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि आउँछ । देख्नेबित्तिकै सफा पानीले धोएमा कुनै एलर्जी पनि हुँदैन ।” डा. ढकालले कीराले सङ्क्रमण गराइहालेमा पनि नआत्तिने र बढी चिलाए वा पोलेमा नजिकको स्वास्थ्यचौकी वा छालारोग विशेषज्ञलाई तुरुन्त देखाउन आग्रह गर्नुभयो ।
उहाँले विगतमा भन्दा मानिसमा स्वास्थ्यको चेतनास्तर वृद्धि भए पनि  सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका कारण सानो समस्या देखिनेबित्तिकै बढी आत्तिने गरेको बताउनुभयो । 
 
                                
                             
                                                -original-thumb.jpg) 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                