नवराज नेपाली
बागलुङ (गलकोट), मङ्सिर २६ गते । खस्कँदै गरेको व्यापार बढाउने र आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले बागलुङकै सबैभन्दा ठुलो मेलाको रुपमा लिएको बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव गर्न थालेको छ ।
महोत्सवले बागलुङको व्यापारमा सघाउने लक्ष्य लिइएको छ । सातवटा महोत्सव बागलुङ बजारको मुटु धौलागिरी क्याम्पसमा गरिदैआएको थियो । यस पटकबाट बाङ्गेचौर खेल मैदानमा गर्न थालिएको छ । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्ध बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो । अध्यक्ष शाक्यले महोत्सवलाई मौलिक र पृथक् बनाउने प्रयास गरिने बताउनुभयो । उहाँले महोत्सवमा यानीमाया, सोरठीजस्ता नृत्य देखाइने बताउनुभयो ।
पर्यटनको प्रवर्धन, जिल्लाको विकास निर्माणमा महोत्सवले सघाउने शाक्यको भनाइ छ । महोत्सवमा ८ लाख देखि १० लाख दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको छ। महोत्सवको मुनाफाबाट कोसेली घर व्यवस्थित गर्ने, सडक मानवमुक्त नेपाल बनाउने मानव सेवा आश्रमको अभियानलाई सफल बनाउन महोत्सवको टिकटबाट प्रतिटिकट १० रुपियाँ सहयोग गर्ने, खेलकुदको विकासका लागि कोष स्थापना गर्ने, उद्योग वाणिज्य सङ्घबाट सञ्चालन गरिने सदस्य कल्याणकारी कोष सञ्चालनका लागि पाँच लाख रुपियाँ जम्मा गर्ने लगायतको सामाजिक उद्देश्यसहित महोत्सव आयोजना गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
महोत्सवमा जिल्ला र प्रदेशका पर्यटकीय स्थलको वृत्तचित्र प्रर्दशनी, टिकटक च्यालेन्ज, फोटो कन्टेन्ट प्रतियोगिता, हाइकिङ एण्ड टुर प्याकेज, ‘मेड इन बागलुङ’ कक्ष स्थापना गरी स्थानीय भागो, गुन्द्रुकजस्ता उत्पादनको प्रचार–प्रसार गर्ने गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सवमा रैथाने बाली र पशुजन्य उत्पादनको बिक्री, मौलिक जातीय झाँकी प्रदर्शन, सूचना प्रविधिसम्बन्धी परामर्श र बिक्री, शैक्षिक परामर्श, जातीय खानाका परिकारको स्टल तथा ‘एक गाउँ एक उत्पादन’को सामग्रीसहितको प्रदर्शनी राखिनेछ ।