इमान सिं राना
रामपुर (पाल्पा), मङ्सिर २६ गते । पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रारम्भिक विवरण अनुसार दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको र आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो ।
मृतक र घाइतेहरुको पहिचान हुन बाँकी छ । उकालो सडकमा जिपले नतानेपछि यात्रु ओराल्ने क्रममा जिप ब्याक भएर दुर्घटना भएको स्थानीय जानकारी दिएका छन् । जिप सडकबाट झण्डै एक किलोमिटर तल खसेको छ । घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाइएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा विस्तृत जानकारी आउन बाँकी छ।