• २६ मङ्सिर २०८२, शुक्रबार

कार र ट्रक एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

blog

दुर्घटनाग्रस्त कार । तस्बिर सौजन्य : जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट

प्रवीणकुमार शर्मा 
रौतहट, मङ्सिर २६ गते ।
रौतहटको  चन्द्रपुर नगरपालिका –४ स्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार  बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छ ।

चन्द्रपुर नगरपालिका –४ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फको पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कार ओभर ट्रयाक गर्ने क्रममा ट्रकमा ठोक्किएको हो ।

दुर्घटनामा कारमा सवार बारा निजगढ नगरपालिका –३ सिगौलका ७९ वर्षीय भक्तबहादुर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।

दुर्घटनामा कार चालक बारा निजगढका  दिनेश थपलिया र कारमा सवार रौतहट चन्द्रपुर –६ का २० वर्षीय डोरमणि सापकोटा घाइते भएको उहाँले बताउनुभयो । घाइते दुवै जनाको उपचार चन्द्रनिगाहपुरमा रहेको  सिभिल अस्पतालमा  भइरहेको र अवस्था सामान्य भएको उहाँले जानकारी दिनुभयो ।

कार, ट्रक र ट्रक चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका –७ का ५३ वर्षीय श्यामबहादुर तितुङ नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।