• ८ मंसिर २०८१, शनिबार

सम्पदाले सम्पन्न तानसेन

blog

भीष्म बाँस्कोटा

नेपालको लुम्बिनी प्रदेशमा पर्ने पाल्पा जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक  सम्पदाले भरिपूर्ण छ । यो जिल्ला काठमाडौँबाट ३०० किलोमिटर र पोखराबाट १२९ किलोमिटरको दूरीमा अवस्थित छ । २७.३४ डिग्रीदेखि २७.५७ डिग्री उत्तरी अक्षांश र ८३.१५ देखि ८४.२२ डिग्री पूर्वी देशान्तरमा यो जिल्ला फैलिएर रहेको छ । पाल्पाको सदरमुकाम तानसेन काठमाडौँ र ललितपुरपछिको तेस्रो तथा पहाडी जिल्लाका नगरपालिकामा पहिलो नगरपालिका हो । २००७ सालमा तानसेन नगरपालिका भएको थियो । यो नगरपालिकाको उत्तरतर्फ कालीगण्डकी करिडोर र दक्षिणतर्फ सिद्धार्थ राजमार्ग रहेको छ । धरातलको हिसाबले पाल्पालाई महाभारत शृङ्खला, भित्री मधेश, चुरे पर्वतमाला र बाहिरी मधेश गरी चार क्षेत्रमा विभाजन गर्न सकिन्छ । ज्यादै सुन्दर भूपरिदृश्यका रूपमा रहेको तानसेन सहरलाई ‘पहाडकी रानी’ भनेर पनि चिनिन्छ । श्रीनगर पहाडको फेदीमा रहेको तानसेन ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा जति  महत्त्वपूर्ण र विविधतापूर्ण छ, भौगोलिक दृष्टिकोणले पनि उत्तिकै आकर्षक स्थलका रूपमा परिचित छ । पुरानो नेवार बस्ती, मठमन्दिर, व्यापार, परम्परागत धातुकला शिल्प र ढाका टोपीका लागि यो जिल्ला प्रसिद्ध छ । काठमाडौँ उपत्यका बाहिरका महत्त्वपूर्ण सम्पदा बस्तीहरूमध्ये तानसेन पनि एक हो । 

नामकरण

चौबिसी राज्यहरूमा शक्तिशाली राज्यका रूपमा रहेको पाल्पा सेनहरूको राज्य थियो । सेनहरूको शासन हुनु पहिले यहाँ मगर शासकहरू थिए । त्यसैले यस क्षेत्रलाई मगरात पनि भनिन्छ । मगरात खास गरी बाह्र मगरातको भू–भागभित्र समेटिएको पाल्पा पश्चिम नेपालको एक प्राचीन नगर हो । पूर्वमध्यकालतिर पाल्पा मगरात (मगरात राज्य) को नामले प्रसिद्ध थियो । पाल्पाका प्रसिद्ध इतिहासकार निर्मल श्रेष्ठले आफ्नो ‘सेनकालीन इतिहास, कला र संस्कृति’ (वि.सं. २०७५) पुस्तकमा पालहरूका बारेमा यस्तो लेखेका छन्– ‘ईस्वी संवत् ७०० पछि पाल राज्यहरूको विघटन हुन गयो । यसपछि ती भू–भाग पालहरूबाट छुट्न गयो । छुटेको भू–भागलाई ‘पाल–पा’ भनियो ।’  स्थानीय मगर भाषामा ‘पा’ भनेको ‘छुटेको’ भन्ने हुन्छ । पाल्पा र पाल्पा वरिपरिका अधिकांश ठाउँको नामकरण मगर भाषामा रहेको पाइन्छ । योगी नरहरिनाथका अनुसार ‘पल्लव’ शब्दबाट पाल्पा बन्न गएको हो । अर्को मतअनुसार ‘पालु’ नामक गणेशले पालन गरेको क्षेत्र भएको हुँदा यसको नाम पालुपाल–पालपा–पाल्पा बन्न गएको भन्ने भनाइ छ । भोट–बर्मेली भाषा परिवारमा बासस्थान वा घरको अर्थमा पालपा शब्द प्रयोग हुने गरेको र सोही शब्द पाल्पा बन्न गएको अनुमान गरिएको छ । यस्तै तनसेन शब्द पनि मगर भाषाबाट नै रहेको भनाइ छ । मगर भाषामा ‘टासिङ’ भनी यो ठाउँलाई सम्बोधन गरिन्थ्यो । टासिङ शब्दलाई नै पछि गएर तानसेन भन्न थालियो । 

मध्यकालदेखिका कला र वास्तुकलाका असङ्ख्य नमुनाहरू, प्राचीन स्मारक, आकर्षक पाटीपौवा र मनमोहक उर्वर खेतीयोग्य फाँटले तानसेलाई सम्पन्न बनाएको छ । 

गण्डकी महात्म्यअनुसार विक्रमको १६/१७औँ शताब्दीतिर पाल्पाका सेनवंशी राजा मुकुन्दसेन प्रथमकालीन पाल्पाको राज्यसीमा पूर्व बराहक्षेत्र, पश्चिम रुरुक्षेत्र, उत्तर मुक्तिक्षेत्र र दक्षिण हरिहरक्षेत्र रहेको थियो । इतिहासकार निर्मल श्रेष्ठका अनुसार प्राचीन सेना वंशावलीमा मदर्रिया, दर्छा, पाल्पा, राजपुर, तनहुँ, मकवानपुर, रिसिङका सेनहरूको उल्लेख पाइन्छ । पश्चिमतर्फका कतिपय प्रान्तमध्ये गण्डीगुल्मविषय, मग्वरविषय सामन्तद्वारा शासित थिए । मध्यकालीन तानसेन नगर सेनहरूको राज्य थियो । प्राचीन सेनवंशावलीअनुसार चित्तौरका सिसौदियावंशी मदनरायका पनाति अभय राणाका एघारौँ पुस्तापछिका वंशज रुद्र सेन (वि.सं. १५५०–१५७५) ले पाल्पामा राज्य स्थापना गरेका थिए । ती सिसौदियावंशी सेनहरू सूर्यवंशी थिए । राजा पृथ्वीपाल सेनसम्मका स्यामोहरहरूमा रुद्रसेनद्वारा स्थापित राजधानी ‘पाल्पा’ नामोल्लेख गरी ‘मुकाम पाल्पा’ लेख्ने चलन रहेको कुरा इतिहासकार निर्मल श्रेष्ठले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार सेनवंशीय राजा रुद्रसेनको पालादेखि राजप्रासाद (राजदरबार) को रूपमा पुरानो कोट (पूर्णाकोट) थियो, यहीँबाट सेनहरूले धेरै लामो अवधिसम्म शासन सञ्चालन गरेका थिए । 

‘श्रीनगर’ नामकरण गरेर नगर बसाल्ने अभ्यास पहिलेदेखि नै चलेको चलन हो जसको उदाहरण हाम्रै देशमा रहेका विभिन्न स्थानलाई लिन सकिन्छ । यस क्रममा महादत्त सेनले वि.सं. १८४४ मा पाल्पामा श्रीनगर सहर नै बसाले । यसको दरिलो प्रमाण पाल्पा राज्य नेपालमा एकीकरण भएपछि पनि तानसेनलाई सरकारी लेखापढीमा ‘श्रीनगर सहर’ लेखिनुबाट थप स्पष्ट हुन्छ । ‘श्रीनगर सहर’ को नाम विभिन्न कालखण्डमा फेरिएको पाइन्छ । ‘श्रीनगर सहर’ लाई ‘तानसेन’ लेखिनु यसको उदाहरण हो । उन्नाइसौँ शताब्दीमा जारी भएका केही नेपाली लालमोहरहरूमा समेत ‘श्रीनगर’को नाम ‘तानसेन’ उल्लेख भएको पाइन्छ । ह्यामिल्टनले ‘श्रीनगर’ लाई ‘तानसेन द प्रिजेन्ट क्यापिटल’ भनेका छन् । 

वि.सं. १५५० देखि १८६१ सम्म पाल्पाली सेनहरूको शासन अवधिमा मुकुन्द सेन प्रथम (वि.सं. १५७५–१६१०) र मुकुन्द सेन द्वितीय –वि.सं. १८०९–१८३९) को राज्यकाललाई चरम उन्नतिको काल भनिन्छ । पाल्पाका अन्तिम सेन राजा पृथ्वीपाल सेन (वि.सं. १८५०–१८६१) थिए । वि.सं. १८१६ मा जन्मिएका राजा पृथ्वीपाल सेन वि.सं. १८५० मा पाल्पाको राजगद्दीमा बसे । यी राजाको पालामा पाल्पाको सीमाना पूर्वमा देवघाट, पश्चिममा रुरुक्षेत्र, उत्तर दिशामा कृष्णगण्डकी (कालीगण्डकी) र दक्षिण दिशामा अवधसम्म विस्तारित थियो । उनीपछि पाल्पाराज्य विभिन्न राज्यमा टुक्रिन पुग्यो । मध्यकालमा देखापरेका बाइसी र चौबिसी राज्यमध्ये चौबिसी राज्यअन्तर्गत पर्ने पाल्पा सबैभन्दा शक्तिशाली राज्य थियो । पाल्पाली सेनाहरूले नेपाल उपत्यकामा पनि आक्रमण गरेका थिए । पाल्पा राज्य सर्वशक्तिमान राज्य भएकोले नै बहादुर शाहले वैवाहिक सम्बन्ध गाँसी यसलाई विजय गर्नुपरेको थियो । वि.सं. १९८३ मा स्थापना भएको पाल्पाको धवल पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय पनि हो, जुन पाल्पाको पहिचान र ऐतिहासिक धरोहर पनि हो । 

धार्मिक/सांस्कृतिक महत्त्व

मध्यकालमा रुद्र सेनद्वारा स्थापित तानसेन सहर एउटा व्यवस्थित सहर थियो । हिन्दु तथा बौद्धधर्मको केन्द्रका रूपमा रहेको यो सहरभित्र तत्धर्म र सम्प्रदायसँग सम्बन्धित देवदेवी र स्मारक एवं कलाकृतिहरूको अभूतपूर्व भण्डार छ । त्यसमा पनि सहरकै पहिचानका रूपमा रहेको अमरनारायण मन्दिर र भगवती मन्दिरको विशिष्ट महत्त्व छ । 

तानसेनका बासिन्दा हिन्दु धर्मअन्तर्गत शैवधर्म, शाक्तधर्म, वैष्णवधर्म र गाणपत्यजस्ता विभिन्न उपसम्प्रदायमा विश्वास र आस्था राख्छन् । सहरका चोक, खुला स्थल, साँघुरा गल्ली, मन्दिर, पाटी, पौवा, ढङ्गेधारा, चैत्य, विहार, पोखरीलगायतका स्थानमा यी सम्प्रदाय सम्बद्ध मूर्तिहरूको नित्य र नैमित्तिक रूपमा पूजाआजा अद्यापि हुने गरेको छ । तानसेन नगरी हिन्दु धर्मका अतिरिक्त बौद्धधर्मका दृष्टिकोणले पनि उत्तिकै  महत्त्वपूर्ण छ । यस सहरमा रहेका चैत्य, विहार, स्तूपले बौद्ध धर्म र कलाको सुन्दरतम प्रतिनिधित्व गरेका छन् । आनन्द विहार तानसेन सहरकै सबैभन्दा पुरानो विहार मानिन्छ । यो विहारमा शाक्य र बज्राचार्य समुदायका नेवारको चूडाकर्म (व्रतबन्ध) गर्ने चलन छ । यस्तै धर्मचक्र महाविहार र होलाङदीको विहार पनि महत्त्वपूर्ण बौद्ध सम्पदा हो । टक्सार टोलमा अवस्थित महाचैत्य विहार १९८५ सालमा तत्कालीन डिठ्ठा अमृतलाल बज्राचार्यको नेतृत्वमा स्थापित गरिएको हो । यो विहार शाक्य र बज्राचार्यहरूको चूडाकर्म गर्न स्थापना गरिएको हो । 

काठमाडौँ उपत्यका बाहिर रहेका प्राचीन र ऐतिहासिक बस्तीमध्ये मगर एवं सेनकालीन तानसेन बस्ती एउटा  महत्त्वपूर्ण बस्तीका रूपमा प्रख्यात छ । पद्मपुराणमा कालीगण्डकीको समीपवर्ती रूपदेश र त्यसको राजधानी ‘पालपा पुरी’ भनिएको छ । परम्परागत नेवारी बस्तीका रूपमा विकसित पाल्पा नगरले छुट्टै ऐतिहासिक, सांस्कृतिक, धार्मिक, वास्तुकला एवं पुरातात्त्विक   महत्त्व र गरिमा बोकेको छ । सेनवंशीहरूको बस्ती झल्काउने ऐतिहासिक प्रसङ्ग, विभिन्न कला र वास्तुकलाका नमुनाहरू यहाँ छन् । यसको उदाहरणमा अमरनारायण मन्दिर, रानीमहल, भैरवस्थान, गणेश मन्दिर, भगवती मन्दिर आदि हुन् । यी स्थानले तानसेन सहरको प्राचीनता र वैभवतालाई पनि दर्शाएको छ ।

तानसेन बस्तीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वले गर्दा सन् २००८ जनवरी ३० मा यसलाई युनेस्कोले सम्भावित विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ । 

तानसेन नगरको सर्वोच्च भागमा अवस्थित श्रीनगर (गणेश) मन्दिर रहेको ठाउँबाट तानसेन नगरको सम्पूर्ण भाग देख्न सकिन्छ । यसको सामरिक महत्त्व उच्च छ । श्रीनगर स्थानबाट ऐतिहासिक पाल्पा दरबार (हाल पाल्पा दरबार सङ्ग्रहालय), भगवती मन्दिर, टुँडिखेललगायत स्थानको सहजै अवलोकन गर्न सकिन्छ । 

शैलीका दृष्टिले यहाँ तले (नेपाली) शैली र गुम्बज शैलीका मन्दिर छन् । तले शैलीका मन्दिरमा अमरनारायण मन्दिर, भगवती मन्दिर, सूर्यविनायक मन्दिर, गणेश मन्दिर, भीमसेन मन्दिरलगायत छन् भने गुम्बज शैलीका मन्दिरमा भगवतीटोलको बद्रेश्वर महादेव मन्दिर, टक्सारटोलको गणेशलगायत मन्दिर छन् । 

मल्लकालदेखि नै काठमाडौँ उपत्यकाबाट बाहिरिन थालेका बौद्ध नेवारहरूको तानसेनमा पनि बाक्लो बस्ती छ । तानसेन नगरका विभिन्न टोलमा विभिन्न किसिमका परम्परागत शैलीका निजी आवासहरू अद्यापि छन् । तानसेन बजारमा काठमाडौँ उपत्यकामा झैँ टोल र गल्लीहरूमा भीमसेनका मन्दिर छन् । यस सहरका उल्लेख्य टोलहरूमा नारायणटोल, असनटोल, भगवतीटोल, टक्सारटोल, मखनटोल, वडीज्ञानटोल, वसन्तपुर (टोपी) टोल, भीमसेन टोल मुख्य हुन् । ती टोलहरूमा माटो, ढुङ्गा, सुर्की, चुनबाट निर्मित घरहरू छन् । आधुनिकीकरणले गर्दा पछिल्लो समय ढलान घरहरू पनि बन्ने क्रम जारी छ । यहाँका अधिकांश टोलका नाम काठमाडौँमा रहेका टोलसँग मिल्दाजुल्दा छन् ।

विभिन्न सांस्कतिक परम्परा, जात्रापर्वहरूको खुला सङ्ग्रहालय नै हो तानसेन । यहाँका प्रत्येक टोल र गल्लीहरूले आ–आफ्नै विशिष्ट सांस्कृतिक परम्परा बोकेका छन् । तिब्बत जाने प्राचीन व्यापारिक पैदलमार्ग तानसेन हुँदै गएको छ । यो सहर मौलिक नेवारी परम्परा र रैथाने मगर संस्कृति तथा आर्यन संस्कारको सङ्गमका रूपमा स्थापित छ । यो सहरमा विभिन्न जातिले आआफ्ना धार्मिक आस्था, मूल्यमान्यता र आवश्यकता परिपूर्तिका लागि टोलटोलमा देवीदेवताको स्थापना, मठ, मन्दिरको निर्माण, मनोरञ्जन र सांस्कृतिक क्रियाकलापको आयोजनाका लागि खुला चोक र पोखरीको व्यवस्थापन गरे । तानसेनका बौद्धमार्गीहरूको  महत्त्वपूर्ण सांस्कृतिक पर्वोत्सव अष्टमी व्रत हो । चैत्य र विहारहरूमा गरिने पूजाआजा र उपासना अष्टमीमा गरिन्छ । मूर्त एवं अमूर्त सम्पदाहरूको भण्डार नै हो यो सहर । यत्रतत्र छरिएर रहेका विभिन्न धर्म र सम्प्रदायसँग सम्बन्धित सम्पदाले विभिन्न धर्म र सम्प्रदायको प्रतिनिधित्व मात्र नगरेर तत्धर्म र भक्तहरूको आस्था र विश्वासलाई पनि बाकेका छन् । 

कला र वास्तुकला

तानसेन सहर विभिन्न धर्म र सम्प्रदायसँग सम्बन्धित कला र वास्तुकलाको केन्द्र मानिन्छ । यहाँ असरल्ल छरिएर रहेका सांस्कृतिक कला र वास्तुकलाका नमुनालाई धार्मिक र लौकिक गरी दुई भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ । धार्मिक कला र वास्तुकला सम्बद्ध स्मारकहरूमा शैवधर्म, वैष्णवधर्म, शाक्त धर्म, गाणपत्य र बौद्धधर्म सम्बद्ध कलाकृतिहरू सहरका टोल, चोक, ढुङ्गेधारा, साँघुरा गल्ली, खुला स्थल, प्रवेशद्वार, मठमन्दिर, चैत्य, विहारलगायतका स्थानमा देख्न सकिन्छ । यस्ता धार्मिक वास्तुकलाका उत्कृष्ट नमुनामध्ये अमरनारायण मन्दिर, भगवती मन्दिर, भीमसेन मन्दिर, गणेश मन्दिर, वटुकभैरव मन्दिर, सत्तल, पाटीपौवा, चैत्य, विहार प्रमुख हुन् । त्यस्तै पाल्पा दरबार, मूलढोका (बग्गीढोका), शीतलपाटी लगायत वास्तुकलाका उत्कृष्ट लौकिक नमुना मानिन्छन् । वास्तुकलाका अन्य नमुनामा पाटीपौवा, धर्मशाला, पोखरी, परम्परागत नेवारी आवासगृह पर्दछन् । यसका अतिरिक्त तानसेन सहरमा ऐतिहासिक स्मारकहरू र राणाकालीन भवनहरू पनि छन् । अनियन्त्रित सहरी विकास, बढ्दो जनघनत्व एवं आधुनिकीकरणले गर्दा यहाँका कतिपय महत्त्वपूर्ण र प्राचीन सम्पदाहरूमा क्षति पुगेको छ । परम्परागत नेवारी घरहरू आधुनिक निर्माण सामग्रीहरूको उपयोग गरी निर्माण हुनाले मौलिकता हराउँदै गएको छ । 

अमरनारायण मन्दिर र यसको परिसरमा रहेका अनगिन्ती कलाकृति, भगवती मन्दिर तथा पाल्पा दरबार सङ्ग्रहालयजस्ता महत्त्वपूर्ण स्मारक र सम्पदाहरूले ऐतिहासिक तानसेन नगर भरिपूर्ण छ । त्यसैले यो क्षेत्र पुरातात्त्विक दृष्टिले  महत्त्वपूर्ण छ । आजसम्म यस बस्तीको मौलिकता र ऐतिहासिक प्रामाणिकता यथावस्थामा निरन्तर रहिआएको हुनाले यसको पुरातात्त्विक महत्त्व झनै बढ्दो छ जसलाई प्रमाणित गर्ने विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक कला र वास्तुकलाका नमुना अद्यापि यहाँ जीवित छन् । 


सम्भावित विश्वसम्पदा क्षेत्र

आ–आफ्नो सीमा क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिकोणले विश्वव्यापी महत्त्व बोकेका सम्पदाहरूलाई विश्वसम्पदा सूचीमा समावेश गरिन्छ । नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महìवका नगर बस्तीहरूमध्ये तानसेनले विशिष्ट र महत्त्वपूर्ण स्थान ओगटेको हुनाले संयुक्त राष्ट्रसङ्घले सम्भावित विश्वसपदा सूचीमा सूचीकृत गरेको छ । मूर्त र अमूर्त सम्पदाहरूको केन्द्रका रूपमा रहेको यो सहरको विभिन्न भागमा यत्रतत्र रूपमा छरिएरका कला र वास्तुकलाका अद्वितीय नमुनाहरू छन् । त्यस्तै वर्षभरि आयोजना गरिने अनेकन् सम्प्रदाय सम्बद्ध अमूर्त जात्रापर्व, उत्सव, संस्कार छन् । धारा, पाटी, पौवालगायतका सम्पदाहरू पनि छन् । तानसेन बस्तीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वले गर्दा सन् २००८ जनवरी ३० मा यसलाई युनेस्कोले सम्भावित विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ । 

सांस्कृतिक सम्पदाहरू हाम्रा चिनारी तथा वैभवताका प्रतीक हुन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक एवं पर्यटकीय महत्त्व बोकेको तानसेन सहर मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको भण्डार नै हो । मध्यकालदेखिका कला र वास्तुकलाका असङ्ख्य नमुनाहरू, प्राचीन स्मारक, आकर्षक पाटीपौवा र मनमोहक उर्वर खेतीयोग्य फाँटले तानसेलाई सम्पन्न बनाएको छ । यहाँको मुख्य आकर्षक भनेकै पाल्पा दरबार, एसियाकै ठूलो ढोका मानिने मूलढोका, रणउजीरेश्वरी भगवती मन्दिर, नेपालको एक प्रसिद्ध धाम मानिने रूरू रिडी धाम (ऋषिकेश धाम), प्रेमको प्रतीक मानिने खड्ग शमशेरद्वारा निर्मित रानीमहल, भैरवस्थान, परम्परागत पाल्पाली शिल्प करुवा र पाल्पाली ढाका टोपी, अमरनारायण मन्दिर, आनन्द विहार तथा अर्गेली दरबार हुन् । पाल्पालाई चिनाउने प्रसिद्ध धरोहर हुन् यी । यी धरोहरकोे संरक्षण, मर्मतसम्भार, जीर्णोद्धार तथा व्यवस्थापनको कार्यमा पनि हाम्रो ध्यान पुग्नु पर्छ । स्मारक र स्मारक क्षेत्रको ऐतिहासिकता, मौलिकता, संवेदनशीलता, आधिकारिकता र प्रामाणिकतालाई अक्षुण्ण राखी भावीपुस्तामा हस्तान्तरण गर्नु सम्बद्ध सबैको दायित्व हो ।