• २४ मङ्सिर २०८२, बुधबार

सुस्तामा १० करोडको लागतमा १० शय्याको अस्पताल

blog

अस्पताल निर्माणको शिलान्यास गरिँदै । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी 
पश्चिम नवलपरासी, मङ्सिर २४ गते ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२, धरमपुरामा १० शय्याको पालिकास्तरीय अस्पताल निर्माण कार्यको सुरुवात भएको छ । मङ्गलबार एक विशेष कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले अस्पताल निर्माणको शिलान्यास गर्नुभएको हो ।

१३ करोडको लागत अनुमानमा, नौ करोड ९० लाखमा ठेक्का सम्झौता 
झन्डै पौने नौ कठ्ठा जग्गामा बन्ने यस अस्पताल भवनको कुल लागत अनुमान १३ करोड ७५ लाख रुपियाँ रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार निर्माणका लागि सुरेन्द्र अर्बिट–शिवदेव जेभी कम्पनीसँग नौ करोड ९० लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको छ ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
२०८२ मङ्सिर १५ मा ठेक्का सम्झौता भएको यस अस्पताललाई २०८३ मङ्सिर भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अध्यक्ष उपाध्यायले आफ्नै कार्यकालमै अस्पताल निर्माण सम्पन्न गरी स्थानीयलाई पालिकाभित्रै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“यहाँ अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि नागरिक अन्यत्र धाउनु पर्ने अवस्था थियो । हाम्रो प्रयासपछि आज शिलान्यास भएको हो । समयमै निर्माण सम्पन्न हुनेमा हामी विश्वस्त छौँ,’’ उहाँले भन्नुभयो ।

स्थानीयको सहयोग र साझेदारी
यो अस्पताल निर्माण सङ्घीय सरकारको अनुदान र पालिकाको लागत साझेदारीमा हुन लागेको हो । निर्माणका लागि आवश्यक जग्गामध्ये स्थानीय चेतनारायण न्यौपानेले ४ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ भने बाँकी जग्गा खरिद गर्न स्थानीयवासीबाट पनि आर्थिक सहयोग प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आधारभूत उपचारदेखि आकस्मिक सेवासम्म आफ्नै पालिकामा पाउन सक्नेछन् ।