कमल शर्मा
दैलेख, मङ्सिर २४ गते । दैलेखका गाउँ गाउँमा केही वर्षअघि भत्काइएका छाउगोठ फेरि नयाँ रूपमा ठडिन थालेका छन् । केन्द्र सरकारले छाउपडीलाई दण्डनीय अपराध घोषणा गर्दै स्थानीय तहलाई अभियान सञ्चालन गर्न निर्देशन दिएपछि धेरै स्थानमा पुराना छाउगोठ भत्काइएका थिए । अहिले त्यही ठाउँमा फेरि नयाँ संरचना निर्माण हुन थालेको स्थानीयवासी बताउँछन् । आठबिस नगरपालिका–१, सात्तलाका वडाध्यक्ष बमबहादुर रावतका अनुसार वडामा रहेका ६५२ घरधुरीमध्ये करिब २५० भन्दा बढी घरमा छाउगोठ पुनः बनेका छन् । “अभियानका बेला धेरैले भत्काए,” वडाध्यक्ष रावत भन्नुहुन्छ, “तर अहिले सुधार गरिएका छाउगोठ फेरि बनाइदिएछन् ।”
छाउगोठ भत्काउने अभियान अन्तर्गत स्थानीय सरकारले महिनावारीका बेला महिलालाई अलग बसाल्ने परिवारलाई सरकारी सुविधा नदिने निर्णय गरेको थियो । घर निर्माण अनुदानदेखि स्वास्थ्य तथा कृषि कार्यक्रममा सहभागी हुन पनि सामाजिक व्यवहार सुधार अनिवार्य गरिएको थियो तर व्यवहारमा उक्त निर्णय प्रभावकारी रूपमा लागु हुन सकेन । वडाध्यक्ष रावत भन्नुहुन्छ, “हामीले सुविधा रोकेर दबाब दिन खोज्यौँ तर धार्मिक आस्था, देवीदेवताको डर र सामाजिक दबाब प्रशासनभन्दा बलियो रहेछ ।”
आठबिस नगरपालिकाका पूर्वकार्यपालिका सदस्य कमला थापाले छाउगोठ पुनर्निर्माण गरिएका विषयमा अनभिज्ञता व्यक्त गर्नुभयो । उहाँका अनुसार पहिले जस्तो ‘छाउपडी’ अब नरहेको भए पनि ‘छाउ बार्ने’ प्रथा भने अहिले पनि निरन्तर छ । उहाँले भन्नुभयो, “छाउ बार्ने प्रथा छैन भन्न सकिन्न तर पहिलेको जस्तो अवस्था अवश्य छैन ।” यद्यपि वडाध्यक्ष रावत र पूर्वसदस्यको भनाइ बाझिए पनि, स्थानीय महिला महिनावारी वा छाउ प्रथाबारे खुलेर बोल्न नसक्ने अवस्था अझै देखिने गरेको छ । आठबिस नगरपालिका–१ सात्तलामा रहेको सामाजिक सुधार अध्ययन केन्द्रका जौधरा आचार्यले अध्ययन केन्द्रमा छाउपडी प्रथाका विषय जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले आफूहरू छाउपडी प्रथा नमान्ने गरेको बताउँदै अहिले आंशिक रूपमा छाउ प्रथा कायम रहेको स्वीकार गर्नुभयो । स्थानीय वीरबहादुर नेपालीले “सामाजिक दबाबकै कारण छाउपडी यहाँ अझै कायमै रहेको जनाउनुभयो । छाउपडी नियन्त्रण कानुन– २०७४ अनुसार महिलालाई महिनावारी वा प्रसूति हुँदा घरभन्दा अलग बस्न बाध्य बनाइएमा कारबाही गरिने कानुनी व्यवस्था भए पनि कानुन कार्यान्वयनमा फितलो भएका कारण दुर्गम गाउँमा छाउ प्रथा हट्न सकेको छैन ।
महिनावारीका बेला चिसो ठाउँमा बस्नुपर्ने, राति एक्लै बस्ने, दुध र दही नछुने जस्ता प्रतिबन्धले महिलामा पोषणको अभाव, मानसिक तनाव र स्वास्थ्यमा गम्भीर असर पारिरहेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मनोज विश्वकर्माले समाजमा रहेका विभिन्न कुरीतिका कारण महिलामा असर पर्ने र उनीहरूबाट जन्मेका शिशुमा समेत समस्या हुने गरेको बताउनुभयो । सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले छाउपडीसम्बन्धी विगतमा विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि पछिल्लो समय अन्य कार्यक्रममा समेत छाउपडी प्रथाका सवाललाई राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । दैलेखमा तत्कालीन समयमा २४१ वटा छाउगोठ भत्काइएको थियो ।