धनगढी समाचारदाता
धनगढी, मङ्सिर २४ गते । सरकार र राजनीतिक दल निर्वाचनको तयारीमा जुटिरहेका बेला मतदाता रोजगारीको खोजीमा भारततर्फ जान थालेका छन् । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकार र दलहरू तयारीमा अगाडि बढिसकेका छन् तर सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लाका ग्रामीण भेगका जनतालाई भने निर्वाचनभन्दा पनि गुजाराको चिन्ता छ । भारतको विभिन्न ठाउँमा अल्पकालीन समयका लागि काम गर्न जानेको नेपाल–भारत सीमानाकामा लर्को देखिन्छ । दसैँतिहार मनाउन आएका प्नि फर्किन थालेका छन् । पछिल्लो समय सीमानाकामा सुरक्षा चेकजाँचमा कडाइ भएकाले उनीहरू नाकामै घन्टौँ लाइनमा बस्ने गरेका छन् ।
कैलालीको गौरीगङ्गा नगरपालिकास्थित राजीपुरका निर्मल चौधरीले आफूसहित गाउँका धेरै व्यक्ति भारतको रत्नागिरितर्फ लागेको सुनाउनुभयो । आँपको बगैँचामा काम गर्न गाउँका ४०/५० जनाको एउटा टोली यसअघि नै गइसकेको बताउँदै उहाँले आफूहरू पनि सोही कामका लागि जान लागेको उल्लेख गर्नुभयो । रत्नागिरिस्थित आँपको बगैँचामा जेठसम्म काम हुने गरेकाले त्यसतर्फ प्रस्थान गरेका कामदारले सुनाएका छन् । अब एकैचोटि जेठमा मात्रै घर फर्किने राजीपुरकै भानुराम चौधरीले बताउनुभयो । “अघिल्लो सिजन काम गरेर जेठमै फर्केका थियौँ,” उहाँले भन्नुभयो, “अब पनि जेठमै फर्कन्छौँ ।” आँपको बगैँचामा काम गर्न जाने मजदुरले धान रोपाइँ गर्नेदेखि लिएर भित्र्याउने र हिउँदेबाली छर्ने काम पूरा गरेर त्यसतर्फ जाने गरेका छन् । खेतमा गहुँ छरेर जान थालेका उनीहरू अब गहुँ भित्र्याइसकेपछि मात्रै एकैचोटि रोपाइँ गर्न फर्कने जनाइएको छ । केही समयका लागि त्यता गएर काम गर्दा घरखर्च चलाउन सहज हुने गरेको कामदारको भनाइ छ ।
डोटीका ठम्मनसिंह बोहोराले पनि रत्नागिरि गइरहेको सुनाउँदै कमाइ ठिकै हुने गरेको बताउनुभयो । “फागुनमा हुने निर्वाचनमा हामीले भोट हाल्दैनौँ,” उहाँले भन्नुभयो, “हामी यहाँ हुँदैनौँ, कसरी भोट हाल्ने ? अनलाइन भोटिङको व्यवस्था भए उतैबाट भोट हाल्थेँ ।” प्रतिनिधि सभा सदस्यको चुनाव आउन अब तीन महिना मात्रै बाँकी छ तर स्वदेशमा रोजगार हुन नसकेका मतदाता भने यतिबेला बालबच्चासमेत बोकेर मजदुरीका लागि भारततर्फ गइरहेका छन् । उनीहरूले मुम्बई, पुने, दिल्ली, हरियाणालगायतका सहरमा काम गर्ने गरेको बताएका छन् । रोपाइँपछि साउन, भदौमा स्याउ टिप्नका लागि हिमाञ्चल प्रदेश, सिम्लालगायतका ठाउँमा गएर चाडपर्व मनाउन फर्केकाहरू पनि अब आँपको बगैँचा स्याहार्ने, समुद्रमा माछा मार्नेलगायतका कार्य गर्न भारततर्फ गइरहेका छन् । आधा महिनाअगाडि मात्रै काम गरेर मुम्बईबाट फर्केका कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बौनियाँका दिलबहादुर रम्तेलले अब रत्नागिरि गइरहेको बताउनुभयो । रत्नागिरिमा धेरै जसो नेपालीले समुद्रमा माछा मार्ने काम गर्छन् ।