ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर २४ गते । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका टेकबहादुर खत्रीलाई यतिखेर सुन्तला टिप्न र बिक्री गर्न भ्याइनभ्याई छ । घर नजिकै रहेको सुन्तला बगैँचामा लटरम्म सुन्तला पाकेका छन् । सुन्तला खरिद गरेर लैजान सुन्तला बगैंचामा व्यापारी आएका छन् ।
तीन वर्ष मलेशिया र ६ वर्ष लेवनान गरेर नौ वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका खत्री गाउँ फर्किएर विगत एकदशक यता व्यवसायिक सुन्तला खेती गर्दै आउनुभएको छ । धान, मकै र कोदो लगाउने खेतबारीमा उहाँले सुन्तला खेती विस्तार गर्नुभयो । लगनशिल र परिश्रमीको पहिचान बनाउनुभएका ५२ वर्षीय खत्री गाउँको नमूना कृषक समेत हुनुहुन्छ ।
गाउँका छरछिमेकले खेतबारीमा सुन्तलाका विरुवा रोप्न थालेपछि मैले श्रीमानलाई फर्किन भने मेककुमारी खत्रीले भन्नुभयो, ‘‘सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भन्दै गाउँका छरछिमेकीले धमाधम सुन्तलाका विरुवाहरु रोप्न थाले । मैले पनि आफ्नो श्रीमानलाई विदेशबाट बोलाएर कोदो, मकै र धान हुने खेतमा नगदे बालीका रुपमा रहेको सुन्तला खेती विस्तार गरे ।’’ दुबैजना मिलेर सुन्तला खेती विस्तार गरेपछि नियमित आम्दानीको स्रोत बनेको उहाँको भनाइ छ ।
सुन्तला लगाएको चार वर्षपछि फल दिन थालेसँगै आन्दानी हुनथालेपछि श्रीमानले विदेश भुलेको उहाँको भनाइ थियो । उहाँले गत वर्ष नौ लाख रुपियाँको सुन्तला बिक्री गर्नुभएको थियो । यसपाली गत वर्षभन्दा राम्रो फलेका कारण १० लाख रुपियाँ आम्दानी हुने उहाँले बताउनुभयो ।
खत्रीले भन्नुभयो, ‘‘विदेश भन्दा आफ्नै माटोमा परिश्रम गर्दा आनन्द मिलेको छ । विदेशमा काम गर्दा अरुको आदेश मान्नुपर्ने, सम्मान नपाइने र परिवारसँग पनि टाढा हुनुपर्ने त्यसैले विदेशबाट फर्किएर सुन्तला खेती थालेको हुँ । अहिले यहीँ सुन्तला खेतीमा परिवार नै रमाएका छौं ।’’
सुन्तला बिक्री गरेर राम्रोसँग घरपरिवारको खर्च चल्नुका साथै छोराछोरीलाई पढाउन कसैसँग पैसा ऋण माग्न नपरेको मेककुमारीले बताउनुभयो । नौ वर्ष अघि पाँच रोपनी क्षेत्रफलमा उहाँले एकसय ८५ बोट सुन्तलाका विरुवा लगाउनुभएको थियो । सुन्तला खरिद गर्न व्यापारीहरु असोज महिनामा आएर अग्रिम पेश्की दिएर गएको र अहिले टिपेर लैजान आएको खत्रीले बताउनुभयो ।