• १३ साउन २०८१, आइतबार

अस्पतालको स्वामित्व विवाद उत्कर्षमा

blog

रामकुमार–उमाप्रसाद स्मारक अस्पतालको नाम परिवर्तन गरिएको प्रादेशिक अस्पताल लहान ।तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

सिरहा, असार २५ गते । लहानस्थित ‘रामकुमार–उमाप्रसाद स्मारक अस्पताल’को नाम परिवर्तन भई ‘प्रादेशिक अस्पताल लहान’मा रूपान्तरण भएपछि उक्त अस्पतालले चर्चिएको जग्गाको स्वामित्व विवाद उत्कर्षमा पुगेको छ । सगरमाथा अञ्चलका पुराना सरकारी अस्पतालमध्ये उक्त अस्पताललाई प्रमुख मानिएको हो । लहानका स्थायी बासिन्दासमेत रहेका मुलुकका अग्रणी व्यापारिक घराना मुरारका तथा शारडा परिवारका अग्रजले ४० वर्षअगाडि जग्गा खरिद र भवन निर्माण गरी उक्त अस्पताल सरकारलाई हस्तान्तरण गरेका थिए । 

पूर्व–पश्चिम लोकमार्गको सानो बजारका रूपमा रहेको तत्कालिन लहानलाई व्यापारिक नगरीका रूपमा बिस्तार गर्ने योजना बनाएर दुवै व्यापारिक घरानाले संयुक्त रूपमा जग्गा खरिद र भवन निर्माण गरेपछि उक्त अस्पताल दुवै परिवारका अग्रज व्यक्तित्वको सम्झनामा ‘रामकुमार–उमाप्रसाद स्मारक अस्पताल’का रूपमा सञ्चालन हुँदैआएको थियो । 

दाता परिवारको तर्फबाट आत्माराम मुरारका र शिवरतन शारडा तथा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सेवा विभागका तत्कालिन निमित्त प्रशासकीय अधिकृत मदनदेव आचार्यबीच २०३५ साल भदौ २९ गते भएको सम्झौताको बुँदा नम्बर १ मा दाता परिवारले खरिद गरेको जग्गा तथा निर्माण सम्पन्न भएको भवन २०३८ सालमा सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ । सम्झौतामा रहेका अन्य सर्तमध्ये दाता परिवारले आफूहरूलाई अस्पताल विकास समितिमा मनोनित गर्नुपर्ने र अस्पताललाई २५ श-यासरहको सेवा सुविधा उपलब्ध गराउनुपर्ने सर्त सरकारको तर्फबाट पालना नभएको कारण उक्त अस्पताल र त्यसले चर्चिएको जग्गा सरकारलाई हस्तान्तरण गर्न मानेका थिएनन् ।

दाता परिवारले अस्पताल र जग्गा हस्तान्तरण नगरे पनि स्वास्थ्य सेवा विभागले २०३८ सालदेखि नै अस्पताल सञ्चालन गर्दै आइरहेको छ । सम्झौताको विषयलाई लिएर भएको विवादका कारण सम्झौतामा उल्लेख भएको दुलिचन्द शारडा महेश्वरी र परमेश्वरीलाल मुरारकाको संयुक्त नाममा रहेको एक बिघा १५ कट्ठा १० धुर जग्गा अस्पतालको नाममा नामसारी गरिएको छैन । अस्पताल सञ्चालन भएदेखि नै मन्त्रालयले उक्त अस्पताललाई १५ शøयास्तरको सेवा सुविधा र बजेट भने दिँदै आएको छ ।

“अस्पतालको नाममा जग्गा हस्तान्तरण नहुँदा उक्त अस्पतालको सेवा सुविधा थप गर्न नसकेका कारण यसअगाडिका अस्पताल विकास समितिले पटक–पटक दाता परिवारसँग जग्गाको स्वामित्व हस्तान्तरण गर्न माग गरेको थियो,” समितिका पूर्वअध्यक्ष फुलेश्वर महतोले भन्नुभयो, “ प्रत्येक भेटमा दाता परिवारले सोही सर्त विभागले पालना नगरेसम्म जग्गा हस्तान्तरण नगर्ने भन्दै अडान राख्दै आएको थियो ।”

अस्पतालको जग्गा स्वामित्वमा किचलो भइरहेकै अवस्थामा मधेश सरकारले गत २०७८ साल पुस १ गतेको मन्त्रिपरिषद्को निर्णयबाट अस्पतालको नाम परिवर्तन गरेको छ । मधेश सरकारको उक्त निर्णयबाट अस्पतालको नाम ‘रामकुमार–उमाप्रसाद स्मारक अस्पताल’को सट्टा ‘प्रादेशिक अस्पताल लहान’ रहनेगरी परिवर्तन भएको छ । यो निर्णयबाट असन्तुष्ट भएका कारण अस्पतालको जग्गाको स्वामित्व विवाद पुनः उत्कर्षमा देखिएको छ ।

“हामीले पटक–पटक दाता परिवारकहाँ गई अस्पतालले चर्चेको जग्गा अस्पतालकै नाममा स्थानान्तरण गर्न पछिल्लो पटक मनाइसकेका थियौँ तर मधेश सरकारले एक्कासि दाताको नाम हटाउने गरी गरेको निर्णयले हाम्रो सबै प्रयास असफल भएको छ,” अस्पताल अवस्थित लहान नगरपालिका–३ का वडाध्यक्ष रामदयाल महतोले भन्नुभयो, “जुन दाताले जग्गा किनेर सुविधा सम्पन्न भवन निर्माण गरी अस्पताल सञ्चालन गराए, उनै दाताको नाम हटाएर मधेश सरकारले उहाँहरूको अपमान ग-यो, यसबाट हामीसमेत दुखी छौँ ।”

दाता परिवारमध्ये शारडा परिवारको प्रतिनिधित्व गरिरहनुभएका पवन शारडाले अब कुनै पनि हालतमा उक्त जग्गा अस्पताललाई हस्तान्तरण नगर्ने बताउनुभयो । उहाँले सम्झौताका सर्तलाई पालना गर्नुको साटो मधेश सरकारले दाता परिवारको मानमर्दन गरेको गुनासो गर्नुभयो । “अब परिआएको खेप्छौँ तर जग्गा हस्तान्तरण नगर्ने सवालमा हामी मुरारका र शारडा परिवारबीच कुरा भइसकेको छ,” उहाँले थप्नुभयो ।