• २५ मङ्सिर २०८२, बिहिबार

खुल्ला पालिका स्तरीय क्रिकेटको उपाधी देवदह रुपन्देहीलाई

blog

उपाधी उचाल्दै देवदह रुपन्देही । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), मङ्सिर २४ गते ।
परिवर्तन युवा क्लव इस्मा गाउँपालिका–१ को आयोजनामा सञ्चालन भएको खुल्ला पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी देवदह रुपन्देहीले जितेको छ । जैढुङ्गा बिपि पार्कमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न स्थानका १० समुहले नकआउट प्रतिस्पर्धा गरेका थिए ।

रेसुङ्गा–१० सिमिचौरलाई उपबिजेतामा सिमित गर्दै देवदहले ५५ हजार रुपियाँ नगदसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिमिचौरले नगद २५ हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका अध्यक्ष यमबहादुर कुँवरले जानकारी दिनुभयो ।

विजेता खेलाडीलाई इस्मा गाउँपालिकाका प्रमुख भगतसिंह खडकाले सम्मान गर्नु भएको थियो । उहाँले खेल क्षेत्रको विकास र समृद्धिका लागि बिपि पार्कमा क्रिकेट मैदान समेत निर्माण भएकाले खेललाई उत्कृष्ट र व्यवसायीक बनाउन आग्रह गर्नुभयो । खेल स्वास्थ्य, अनुशासन र व्यवसायिक बन्न सके आर्थिक तथा पहिचानको दृष्टिले समेत महत्त्वपूर्ण भएकाले आफुभित्रको खेल प्रतिभा लुकाएर नबस्न खड्काले आग्रह गर्नुभयो ।

इस्मा गाउँपालिका–१ का वडा अध्यक्ष शेरबहादुर कुँवरले युवा क्लबले युवाहरूको भावनालाई एकताबद्ध बनाउदै चर्चित क्रिकेट खेल आयोजना गरेर इस्मा र बिपि पार्कको पहिचान दिलाउन सफल भएको बताउनुभयो ।

पालिका भित्र खेल क्षेत्रको विकाससँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले छल्दी खोलामा पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । छल्दी खोलाको किनारमा निर्माण भएको खेल मैदानसहितको पार्क जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने गाउँपालिकाको लक्ष्य रहेको छ ।

पार्क तथा खेल मैदान ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । अहिले पार्कको ग्राउन्ड मिलाउने, बाल तथा नाली निर्माण, घेरा बार निर्माणको काम सम्पन्न भएका छन् ।

पार्कमा खेल मैदान तयार गर्न दुबो रोपिएको छ । पार्क भित्र पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीका लागि प्लेजोन, पिकनिक स्पोर्ट, स्विमिङ्ग पुल, बिचबिचमा पैदलमा मार्ग शौचालय, टिकट काउन्टर, पार्किङ संरचना रहनेछन् ।

पार्क निर्माणका लागि गाउँपालिकाले पछिल्लो चरणमा एक करोड २५ लाख रुपियाँको लागतमा विभिन्न संरचना निर्माण गरेको छ ।