• १२ पुस २०८१, शुक्रबार

चेरीले बढाएको सौन्दर्य

blog

बसन्ती शाही

अमेरिकास्थित सान्फ्रान्सिस्कोको पहिलो अवतरण र बसाइ निकै यादगार रह्यो । डाउनटाउनमा आन्टी (सानुमुवा)कै घरमा एक हप्ता बसियो । म गएपछि आन्टीले काममा बिदा माग्नुभएको रहेछ । हेर्दा उहाँ खुसी नै देखिनुहुन्थ्यो । सँगै रहँदाबस्दा भलाकुसारीको क्रममा आन्टीले भन्नुहुन्थ्यो– पकाउने ग्यास सकिएला भन्ने पीर छैन । बिजुलीको मिटरबक्समा युनिट धेरै चढ्ला र बिल धेरै आउला भन्ने पीर छैन । ग्यासको सिलिन्डर भर्न लैजानका लागि मान्छे खोज्नुपर्दैन । ग्यासको सिलिन्डर किन्नका लागि पैसाको जोहो गर्नुपर्ने चिन्ता पनि छैन । धारामा पानी नआउला भन्ने चिन्ता पनि छैन । पानीको धारा कहाँबाट आउँछ, त्यो त थाहा छैन तर कहिल्यै पनि धारामा पानी सकिँदैन । यति कुरा भएपछि घर चलाउन आनन्द हुने रहेछ । यहाँभन्दा बढी के चाहियो र ! 

काठमाडौँमा रहँदा ग्यासको कारणले उहाँले धेरै दुःख पाउनुभयो रे । रातभरि ग्यासको लाइनमा बसेको तितो अनुभव उहाँसँग छ । जब भारतीय नाकामा केही गडबडी भएको समाचार आउँथ्यो, तब ग्यास त रातारात बन्द । पसलेले ग्यास लुकाइहाल्ने । ग्यास पसलेले नाम लेखाएर जाऊ, ग्यास आयो भने पठाइदिन्छु भन्थे तर त्यसरी लेखाएको नामबाट कहिल्यै पनि ग्यास आएन । ग्यास पसलेले फोन गरेर तपार्इंको पालोको ग्यास आयो, लिन आऊ अथवा लिएर जाऊ कहिल्यै पनि भनेनन् । बजेट भाषण हुने बेलामा त प्रायः सबै वस्तुको अभाव भइहाल्ने । त्यसपछि त सबै कुरामा भाउ बढ्ने, ग्यासमा पनि बढाउने र पहिलाकै मूल्यमा ल्याएको ग्यास पछि बढेको मूल्यमा बेच्ने । कति दुःख दिन सकेको जनतालाई । यस्तो दुःख पाएको सम्झँदा त साह्रो मन कुडिन्छ । देश चलाउने तरिका फरक होला सायद, यहाँ र त्यहाँ ।

यहाँ (अमेरिका) आएपछि त यस्तो कुरामा धेरै आनन्द छ । ग्यास सकिएला कि भन्ने पीर गरिराख्नुपर्दैन । ग्यासको पाइप भान्सामा जडान गरिएको छ । कहाँबाट कसरी आउँछ थाहा छैन । चाहिएको बेलामा खोले भयो ।  नेपालमा एकताका ग्यासको पाइपलाइन जोड्ने रे भन्ने हल्ला सुनिएको थियो । ग्यासको पनि पाइप हुन्छ र ! भन्ने लागेको थियो तर साँच्चै ग्यासलाई पाइपबाट ल्याउन मिल्ने रहेछ, यहाँ आएपछि देखेर पो थाहा भयो । काठमाडौँमा ग्यास पाइपलाइन जोडिएको भए सायद समाचार सुनिन्थ्यो होला । भाषण मात्रै हो क्यारे । 

काठमाडौँमा बस्दा पानीको कारण पनि उहाँले साह्रै दुःख पाउनुभयो रे । धारामा पानी कहिले आउने हो थाहा नै नहुने । पानी आउँछ भन्ने सूचना पाएअनुसार लाइनमा बस्यो, पानी नै नआउने । धारामा राति कति बेला पानी आउँछ भनेर अनिँदो बसेको तितो अनुभव छ उहाँसँग । कुनै दिन त रातभर पानीको पर्खाइमा बस्दा–बस्दा पानी नै नआई उज्यालो हुन्थ्यो रे । काममा जानु कि, बच्चाहरूको रेखदेख गर्नु कि, खाना बनाउनु कि, पानीका लागि कुर्नु । नेपालमा रहँदा के गर्ने के नगर्नेको द्विविधाले सधैँ पिरोलिरह्यो उहाँलाई । मानिसलाई चाहिने न्यूनतम आवश्यकतालाई पनि ध्यान दिन सकेनन् । ट्याङ्करलाई पानी सकिएको छ ल्याइदिनुस् न भनेर अनुरोध ग¥यो, उसले पनि भनेको बेलामा नल्याइदिने । सात हजार लिटर पानीको ट्याङ्करलाई दुई हजार रुपियाँ तिर्दा पनि ल्याउन आनाकानी गर्ने ट्याङ्करवालाले । मुस्किलले ल्याएको पानी पनि काठमाडौँको खाल्डाखुल्डी भएको बाटोमा छचल्की छचल्की घर आउँदासम्म त एकतिहाइभन्दा बढी पानी पोखिएर सकिएको हुन्थ्यो । त्यही पानी पनि कस्तो ल्याउँथे थाहा छैन । खान र धुन मिल्ने हो वा होइन, शङ्कै गर्नुपर्ने । काठमाडौँ बस्दा जहिले पनि पानीको दुःखले पिरोलिरह्यो रे उहाँलाई । 

उहाँ सम्झनु हुन्छ, कपाल नुहाउँदा बाटामा थापेर नुहाउनुपथ्र्याे । त्यही कपाल नुहाएको पानीमा धुने कपडा भिजाउनुपथ्र्यो । भाँडा धोएको पानीले ट्वाइलेट पखाल्नुपर्ने, गमलाहरूमा हाल्नुपर्ने, दालचामल र तरकारी धोएको पानी पनि जम्मा गरिराख्नुपर्ने । कस्तो आपत् । यहाँ त धारामा पानी कहिल्यै सुकेको छैन । कहाँबाट आउँछ त्यो पनि थाहा छैन । यस्ता आधारभूत सुविधा भइरहने हो भने त दिमागी तनाव पनि हुँदैन । तनाव लिइरहनु नपर्ने भएपछि काममै ध्यान जाने भयो । जसले गर्दा काम राम्रो र चाँडो सकिने भयो । अरू काम गर्नका लागि समयको पनि बचत भयो । 

जन्मेको देश भनेर माया लाग्छ । साथीसङ्गीहरू, इष्टमित्रहरूको साह्रै याद आउँछ । सँगै काम गरेका साथीहरूको याद आउँछ । छरछिमेकमा बाँडीचुँडी खाएको याद पनि आउँछ । चाडबाडमा गाउँघरको याद आएर साहै्र नरमाइलो लाग्छ । नत्र त नेपाल छोडेकोमा पछुताउनुपर्ने कुनै कारण छैन । यहाँ त सबै कुरा सिस्टममा चल्छ । नियमको पूरा–पूरा पालना भएको छ । नागरिकमा अधिकारभन्दा पनि कर्तव्यको चिन्ता छ । समयका बारेमा सचेत छन् यहाँका नागरिक । यहाँ कामको इज्जत र कदर गरिन्छ । चाहे जस्तोसुकै काम नै किन नहोस् गर तर खाली नबस भन्ने मानसिकता छ यहाँका नागरिकमा । यहाँको सरकारले नागरिकको जिउधन र स्वास्थ्यको ख्याल राख्छ । पैसा नभए पनि औषधि उपचारको अभाव हुन्न । उहाँको नजरमा अमेरिकाका नागरिक सुखी छन् । साथै उहाँ पनि । 

वास्तवमै भन्नुपर्दा प्राकृतिक सौन्दर्यको हिसाबले मलाई पनि सान्फ्रान्सिस्को साह्रै राम्रो लाग्यो । यो सहरको आफ्नै विशेषता छ । यहाँ बाह्रै महिना एकनासको हावापानी रहन्छ । यहाँ धेरै गर्मी पनि छैन र धेरै जाडो पनि कहिल्यै नहुने । यो सहरमा कहिले पनि हिउँ पर्दैन । साना–साना थुम्काजस्ता डाँडाले घेरिएको, डाँडैभरि मानव बस्तीका लागि निर्माण गरिएका एकनासका शोभायमान घरहरू र अगाडि मुख्य बजार क्षेत्र । सँगै जोडिएको पोर्टसहितको समुद्रले सहरको शोभा बढाइदिएको छ । सहरको केही पर रहेको नापा भ्यालीमा अत्यधिक मात्रामा अङ्गुरको उत्पादन हुने रहेछ । सयौँ हेक्टरमा गरिएको अङ्गुर फार्मको साथमा रहेका वाइन बनाउने कारखाना (वाइनरी)हरूले शोभा दिइरहेका । यी कारखानाहरू भ्यालीका शोभा मात्र नभएर आम्दानीका स्रोत पनि हुन् । त्यहाँ विभिन्न किसिमका उच्च स्तरका वाइन बन्ने रहेछन् । त्यहाँ घुम्न आउनेहरूलाई विभिन्न किसिमका वाइन चाख्न दिने चलन रहेछ । 

चेरी पाक्ने समय भएको रहेछ । सहरका मानिसहरू परिवारसहित चेरी भ्यालीमा सप्ताहान्त मनाउन जाने रहेछन् । बिदाका दिनमा चेरी भ्याली घुम्नेको लर्काे लाग्ने रहेछ । व्यावसायिक हिसाबले हजारौँ हेक्टर जमिनमा लगाइएको चेरीको फल सायद विश्वभरि पुुग्दो हो । चेरी फुल्दा झन् भ्याली नै आँखामा राखिरहँुजस्तो देखिन्छ रे । 

राज्यलाई चाहिने अत्यावश्यक कुरा जल, जमिन र जङ्गल हो । यी तीनवटै कुरा अमेरिकामा प्रशस्तै छ । एक ठाउँबाट अर्काे ठाउँ सजिलै जोड्न मिल्ने गरी जल, स्थल र हवाईमार्गको पर्याप्त विकास भएको छ । कानुनको पालना भएको छ । अञ्जानमा सानो गल्ती भइहाले पनि सरकारले कानुनअनुसार सजाय दिन बेर लगाउँदैन । यो कुरामा नागरिक सचेत छन् । काम नपाएर भौँतारिनुपर्दैन । कामअनुसारको भुक्तानी हुन्छ । त्यसैले त विश्वका मानिसको अन्तिम गन्तव्य बनेको होला अमेरिका ।