साहारा लिम्बू
फुङलिङ, मङ्सिर २४ गते । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख गरेकोभन्दा फरक प्रजातिका भारतीय माछा भएकाले बरामद गरी नष्ट गरिएको हो ।
गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमोद प्रकाश पाठकका अनुसार करिब छ सय ३० किलोग्राम माछालाई गुल्मकै परिसरमा खाडलमा गाडेर नष्ट गरिएको छ । बिलमा पंगास प्रजातिको माछाको विवरण उल्लेख गरिएको तर रौँ, पोथ्री प्रजातिका भारतीय माछाहरू फेला पारिएकाले चेक पोष्ट बाटै बरामद गरि गुल्मको परिसरमा नष्ट गरिएको बताइएको छ ।
गत भदौमा समेत कागजात अर्थात बिल नै उल्लेख नभएको माछा जिल्ला भित्रिएको पाइएपछि नियन्त्रणमा लिई करिब दुई सय ५० केजी माछा नष्ट गरिएको थियो । सोही समयमा समेत व्यवसायीलाई सचेत गराइएको तर अटेर गरी पुन बिलमा उल्लेख गरिएको भन्दा भारतबाट फरक प्रजातिको माछा भित्र्याएकाले नियन्त्रणमा लिइएको गुल्मपति पाठकले बताउनुभयो । माछा जनप्रतिनिधि, नेपाल प्रहरी, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा खाल्डोमा पुरी नष्ट गरिएको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार माछा ढुवानीका लागि सम्बन्धित माछा फर्म वा सप्लायर्सबाट कुन ठाउँदेखि कुन ठाउँसम्म माछा पुग्ने भन्ने पूर्ण विवरण खुलेको बिल जारी भएको अनिवार्य हुनुपर्नेमा नपाइएकाले बरामद गरिएको हो ।
जुन स्थानदेखि माछा ढुवानीका लागि उठाइएको हो, त्यो जिल्लाको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट समेत कागजात अनिवार्य गरिएको छ । विदेशबाट माछा आयात भएको भए क्वारेनटाइन स्वास्थ्य प्रमाणपत्र जारी भएको कागजात समेत हुनुपर्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।