• १९ असार २०८१, बुधबार

स्क्रबटाइफस सङ्क्रमण बढ्दो

blog

दार्चुला, असार २५  गते । दार्चुलामा पछिल्लो समय स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पताल दार्चुलामा मात्रै एक वर्षको अवधिमा ३०५ जनामा स्क्रबटाइफसको सङ्क्रमण फेला परेका छन् । जिल्ला अस्पताल दार्चुलामा कार्यरत मेडिकल अधिकृत राजेश भट्टका अनुसार पछिल्लो केही महिनायता अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिने गरेको छ । दार्चुलामा स्क्रबटाइफसको जोखिम बढ्दै गएको भट्टको भनाइ छ ।

अस्पतालले ज्वरोका बिरामीमा स्क्रब टाइफसको परीक्षण गर्ने गरेको छ । मेडिकल अधिकृत भट्टका अनुसार विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रबटाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो । गत साउनदेखि हालसम्म दार्चुलामा ३०५ जनामा सङ्क्रमण भेटिएको तथ्याङ्क भए पनि अझै कतिपय बिरामी परीक्षणको पहुँच बाहिर हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । यो वर्ष जिल्ला अस्पतालमा मात्रै एक हजार पाँच जनामा परीक्षण गर्दा ३०५ जनामा स्क्रबटाइफस देखिएको मेडिकल अधिकृत भट्टले बताउनुभयो । गम्भीर समस्या देखिएका एक जना बिरामीलाई रेफर गरिएको छ ।

वर्षात्को समयमा किर्नालगायतका कीराले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामी पनि बढी देखिने गरेको दार्चुला अस्पतालका डा. आदर्श लिम्बूले बताउनुभयो । बिरामी हुने बढीजसो महिलामा पशु चौपायासँग घुलमिल हुँदा किर्नाले टोक्ने, त्यसपछि स्क्रबटाइफस देखिने गरेको छ । स्क्रबटाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार भइरहेको उहाँको भनाइ छ ।

दार्चुला अस्पतालमा डेङ्गुका बिरामी पनि बढदै गएको पाइएको छ । एक वर्षको अवधिमा अस्पतालमा पुगेका ८८२ जनाको परीक्षण गर्दा छ जनामा डेङ्गु देखिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालले हालसम्म ८०५ जनाको कालाजार परीक्षण गर्दा दुई जनामा कालाजार देखिएको छ ।

झाडापखाला, टाइफाइडअन्तर्गत दुई सय जनामा विभिन्न रोगको परीक्षण गर्दा ९४ जनामा झाडापखाला, टाइफाइड देखिएको छ । वर्षात्को समयमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोगको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन तथा पानी शुद्धीकरण गरेर मात्रै पिउन चिकित्सकले अनुरोध गरेका छन् ।