• २५ मङ्सिर २०८२, बिहिबार

निर्वाचनमा सहयोग गर्ने भारतको वचन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर २४ गते । प्रधानमन्त्री सुशीला कार्की र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबिच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार भएको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्यसहितका विषयमा संवाद भएको छ । उहाँहरूबिच विकासनिर्माणसँगै फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहयोग गर्ने सन्दर्भमा पनि परामर्श भएको छ । 

यसै गरी गृहमन्त्री ओमप्रकाश अर्यालसँग अतिरिक्त सचिव महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आइतबार नेपाल आइपुग्नुभएका महावर र गृहमन्त्री अर्यालबिच भेटका क्रममा गृहमन्त्री अर्यालले दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणलाई पनि तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  गृहमन्त्री अर्यालले सीमाक्षेत्रमा हुने अपराध, चोरी, डकैती, अवैध वस्तु व्यापारको ओसारपसारमा नियन्त्रण र आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि दुवै पक्षका सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने, काउन्टर पार्टमा सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काभ्रेको पनौतीमा बन्दै गरेको नेपाल प्रहरी प्रतिष्ठानको निर्माणलाई दुवै पक्षबाट तीव्रता दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

भेटमा अतिरिक्त सचिव महावरले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विभिन्न विपत्बाट क्षति भएका संरचनाको पुनस्र्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । भैरहवामा निर्माण हुँदै गरेको एकीकृत जाँच चौकी र नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनालाई समयमै सम्पन्न गर्न सघाउनेसमेत उहाँले बताउनुभएको जनाइएको छ । अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तोसमेत दिनुभएको छ । 

प्राथमिकताका क्षेत्रमा सहयोग हुन्छ 

यसै गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबिच मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा भएको शिष्टाचार भेटमा नेपाल र भारतबिचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान सरकारको प्राथमिकताका सम्बन्धमा छलफल भएको छ । छलफलमा सञ्चारमन्त्री खरेलले सरकारले तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गर्नुभयो । साथै मन्त्री खरेलले भारत सरकारका तर्फबाट नेपालको सूचना प्रविधिको क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्नुभयो । उक्त भेटमा अतिरिक्त सचिव महावरले नेपालले तय गरेको प्राथमिकताका क्षेत्रमा भारत सहयोग गर्न तत्पर रहेको जानकारी गराउनुभयो ।

ऊर्जा र सिँचाइमा छलफल 

यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग पनि अतिरिक्त सचिव महावरबिच भेटवार्ता भएको छ । सो क्रममा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, विद्युत् व्यापार तथा प्रसारण लाइन विस्तार, भारतीय सरकारी कम्पनीको लगानीमा निर्माणाधीन आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो ।  

ऊर्जा तथा जलस्रोत क्षेत्रका द्विपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण) को नहरबाट सुक्खायाममा नेपालतर्फ पानी पठाउने, भारतीय सरकारी कम्पनीबाट निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृति, हिउँदयामका महिनामा विद्युत् आयातलगायतका विषयमा भेटमा छलफल भएको जानकारी दिइएको छ ।

मन्त्री घिसिङले हिउँदयामका केही महिनामा नेपालमा आवश्यक पर्ने निश्चित परिमाणको विद्युत् आयात गर्न पुसको दोस्रो हप्तासम्मका लागि मात्र स्वीकृति पाएकाले त्यसपछिका केही महिना पनि चौबिसै घण्टा आयात गर्न पाउने व्यवस्था गरिदिन आग्रह गर्नुभयो । 

भारतको प्रतिस्पर्धी डे अहेड र वास्तविक समय (रियल टाइम) मार्केटमा विद्युत् निर्यात गर्दा हरेक वर्ष स्वीकृति लिनुपर्ने प्रक्रियालाई एक पटक स्वीकृति लिएपछि पुनः लिनु नपर्ने व्यवस्था गरिदिन र भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशतर्फ थप २० मेगावाट विद्युत् पठाउन सकिने देखिएकाले त्यसका लागि आवश्यक सहमति उपलब्ध गराइदिन घिसिङले आग्रह गर्नुभयो । तल्लो अरुण र अरुण तेस्रोमा वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या समाधानका लागि मन्त्रालय र लगानी बोर्डका तर्फबाट आवश्यक समन्वय र सहजीकरण भइरहेको उल्लेख गर्दै उहाँले प्रसारण लाइन निर्माणका लागि भारतको निर्यात–आयात (एक्जिम) बैङ्कको लाइन अफ क्रेडिटबाट थप सहायता उपलब्ध गराउन आग्रह गर्नुभयो । 

अतिरिक्त सचिव महावरले भारतका कम्पनीले नेपालमा निर्माण गरिरहेका जलविद्युत् आयोजनाले बेहोरिरहेका समस्या समाधानका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो । उहाँले भारत–नेपालबिचको विद्युत् व्यापार र प्रसारण पूर्वाधार विस्तार क्रमिक रूपमा नयाँ चरणमा प्रवेश गरेर ठुलो सफलता हासिल भइरहेको बताउनुभयो । 

भेटवार्तामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवद्वय सरिता दवाडी तथा चिरञ्जीवी चटौत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, परराष्ट्र मन्त्रालय दक्षिण एसिया महाशाखाका शाखा प्रतिनिधि र नेपालस्थित भारतीय दूतावासका अधिकारीको उपस्थिति थियो ।