गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २४ गते । जिल्ला अदालत काठमाडौँले तिब्बतीयन ओरिजिनल ब्लड (टिओबी) ग्रुपका तेन्जिन दावा लामा भन्ने तेन्जिन राप्तेनलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । एकीकृत कसुरको माग दाबीसमेतका दुई मुद्दामा अदालतले लामालाई धरौटीमा रिहाको आदेश गरेको हो । न्यायाधीश तेजबहादुर खड्काको इजलासले लामासँग दुई मुद्दामा पाँच लाख २० हजार धरौटी माग गरेको हो । लिखत किर्ते, नागरिकता र राहदानी ऐनसम्बन्धको एकीकृत कसुरमा पाँच लाख र लागुऔषध मुद्दामा २० हजार रुपियाँ धरौटी माग भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा उक्त समूहको संलग्नताबारे प्रश्न उठेपछि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानका क्रममा लामासँग नक्कली जन्मदर्ता, नक्कली शैक्षिक प्रमाणपत्र तथा राहदानीसमेत फेला परेको भन्दै उक्त कसुरमा मुद्दा दर्ता भएको थियो । पक्राउपछि खानतलासीका क्रममा लागुऔषध गाँजासमेत फेला परेपछि उक्त कसुरमा समेत मुद्दा दर्ता भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार लामाविरुद्ध दुई फरक मुद्दा दर्ता गरेको थियो । अदालतमा बयानपछि थुनछेक आदेश मङ्गलबार भएको थियो । अदालतले दुवै कसुरमा लामालाई धरौटी सुविधा दिएको हो ।
यस्ता थिए अभियोग
लामाले जन्मदर्ता किर्ते र एसएलसीको प्रमाणसमेत नक्कली बनाएको, झुटा विवरणका आधारमा नागरिकता बनाएको र नागरिकताका आधारमा राहदानीसमेत लिएको आरोप लगाइएको छ । यस्तै लागुऔषध कसुरमा पनि मुद्दा दर्ता भएको छ । एकीकृत कसुरमा सजायको मागदाबी पनि भएको छ । झुटा विवरणका आधारमा लिइएको नागरिकता स्वतः रद्दको माग पनि गरिएको छ ।
अभियोगबारे बयानमा लामाले जन्मदर्ता आफूले किर्ते नगरेको र आमाबाट प्राप्त भएको उल्लेख गर्नुभएको छ । साथै शैक्षिक प्रमाणपत्र किर्ते नगरेको, नागरिकता आमाले बनाइदिएकाले प्राप्तिबारे जानकारी नभएको बयान दिएका छन् । नागरिकताका आधारमा आफूले राहदानी लिएको भने उहाँले बयानमा स्वीकार गर्नुभएको छ ।
लिखतसम्बन्धी कसुरमा दोषी ठहर भएमा सात वर्षसम्म कैद र ७० हजार रुपियाँ जरिबाना हुने छ । यस्तै झुटा विवरण दिई नागरिकता लिएको कसुरमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपियाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ ।
यस्तै झुटा विवरणका आधारमा राहदानी लिएमा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुई लाख रुपियाँदेखि पाँच लाख रुपियाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ । व्यक्तिगत घटना दर्ताका क्रममा झुटा विवरण पेस गरेमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनबमोजिम सजायको व्यवास्था छ । सोही अनुसार लामालाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद र २० हजारदेखि ५० हजार रुपियाँसम्म जरिबानाको कानुनी व्यवस्था छ ।
लामालाई मुलुकी अपराध संहिताको व्यवस्था अनुसार एकीकृत कसुरमा समेत सजाय माग दाबी गरिएको छ । जस अनुसार एकीकृत कसुरमा सबैभन्दा बढी सजाय हुने कसुरमा सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुरबापतको सजायमा आधा थप हुने कानुनी व्यवस्था छ ।
लागुऔषधमा पनि मुद्दा
असोज २७ मा पक्राउ परेका लामाको कपन पैयाँटारको कोठामा छापा मार्ने क्रममा प्रहरीले ११३ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बिक्रीको उद्देश्यले भण्डारण गरेको आरोपमा पनि मुद्दा दर्ता भएको हो । बयानमा भने उहाँले गाँजा एक वर्षअघि नै शिवरात्रिमा सेवनका लागि एक सय रुपियाँमा खरिद गरेको स्वीकार गर्नुभएको छ । आफूले शिवरात्रिबाहेक गाँजा सेवन नगरेको र बिक्रीका लागि पनि नराखेको उहाँको बयान अभियोगपत्रमा उल्लेख छ ।
लागुऔषध नियन्त्रण ऐन अनुसार सजायको माग दाबी लिइएको छ । कसुर ठहर भएमा लामालाई एक महिनादेखि एक वर्षसम्म कैद र एक हजार रुपियाँदेखि पाँच हजार रुपियाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ ।