कपिल ज्ञवाली
सिद्धार्थनगर, मंसिर २३ गते । रुपन्देहीमा शुद्धोधन उद्योग बाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुनेभएको छ ।
शुद्धोधन गाउपालिका वडा –६ फर्साटिकरमा मंसिर २४ गतेदेखि पुस ६ गतेसम्म महोत्सव हुन लागेको हो । तीन लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा ५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा संघको रहेको छ ।
शुद्धोधन उद्योग बाणिज्य संघले दोस्रो संस्करणमा गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । महोत्सवबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष लालमणी श्रेष्ठले स्थानीय उत्पादनको प्रवर्धन, कृषि, पशुपालन, तरकारी, खाद्यान्न, फलफूल, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजार सम्भावनासहित सार्वजनिक प्रदर्शनी महोत्सवमा गरिने बताउनुभयो ।
महोत्सवमा शुद्धोधनका ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यहरुको प्रचार प्रसार गरिने संघका महासचिव विष्णु पंगेनीले बताउनुभयो । संघका उपाध्यक्ष तथा मेला संयोजक कृष्णप्रसाद सुवेदीले महोत्सवको माध्यमबाट स्थानीय वस्तुको प्रचारका साथै छपियाको माछालाई प्रवर्धन गर्न सकिनेगरी आफूहरु लागिपरेको बताउनुभयो । महोत्सवमा १२० बढी स्टल हुनेछन् ।