गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २३ गते । नेकपा (एमाले) का सचिव तथा एमाले महाधिवेशनको खाद्य व्यवस्थापन समितिका संयोजक लेखराज भट्टले पार्टीको आगामी महाधिवेशन विचार र नेतृत्व निर्माण गर्ने महत्वपूर्ण मञ्च सावित हुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको आयोजनामा मंगलबार यहाँ भएको साक्षात्कार कार्यक्रममा भट्टले सो कुरा बताउनुभयो । उहाँले मञ्च, खाद्य र प्रचार व्यवस्थापन समितिले आफ्नो जिम्मेवारीअनुसार कामको प्रगति प्रतिवेदन पेश गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको तयारी लगभग पूरा भइसकेको छ, आंशिक रूपमा बाँकी रहेका कामहरू समेत अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिहरूको परिचयपत्र बनाउने काम अन्तिम चरणमा रहेको उहाँको भनाइ छ ।
आफ्नो जिम्मेवारी खाद्य व्यवस्थापन रहेको उल्लेख गर्दै उहाँले व्यवस्थित ढंगले काम अघि बढिरहेको बताउनुभयो । महाधिवेशन केन्द्रित भएर नेतृत्वको इच्छा, आकांक्षा र महत्वाकांक्षा राख्नु स्वाभाविक प्रक्रिया भएको भन्दै उहाँले यो प्रक्रिया नेतृत्व र विचारमा केन्द्रित हुने स्पष्ट पार्नुभयो । महाधिवेशनले नेतृत्व निर्माण गर्ने र विचारको निर्धारण गर्ने भएकाले पार्टीका भावी गतिविधिको महाधिवेशनले तय गर्ने उहाँले बताउनुभयो ।
विधान महाधिवेशन हालै सम्पन्न भइसकेको स्मरण गराउँदै भट्टले त्यही विधान महाधिवेशनले भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै केपी शर्मा ओली नै हुने निधो गरिसकेको स्पष्ट गर्नुभयो । पार्टीभित्र वरिष्ठ उपाध्यक्षको अध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा देखिनु स्वाभाविक प्रक्रिया भएको उहाँले बताउनुभयो । यो महाधिवेशन विचार र नेतृत्व निर्माण गर्ने विषय हो, विचार जसको हुन्छ, नेतृत्व उसैको हुन्छ, उहाँले भन्नुभयो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सवालमा भारत र चीनसँगको चुनौतीपूर्ण अवस्थामा अध्यक्ष ओलीले दृढरूपमा राष्ट्रहितको पक्षमा उभिनु भएकाले उहाँको नेतृत्व नै अहिलेको आवश्यकता भएको उहाँले चर्चा गर्नुभयो । ओलीले ती भूभाग नेपालको हो भन्ने अडान लिँदै चुच्चे नक्सा सार्वजनिक गरेकाले विरोधी शक्तिहरु घेराबन्दी गर्न लागेको बताउँदै उहाँले राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्न र नेपालको पक्ष मजबुत राख्न सक्ने नेतृत्व ओली नै भएको जिकिर गर्नुभयो ।
पार्टीभित्र पुस्तान्तरण क्रमशः भइरहेको उहाँले बताउनुभयो । ‘थ्री इन वान’ अवधारणा अनुसार युवा, प्रौढ र वृद्धको सन्तुलनमा पार्टी अघि बढिरहेको उल्लेख गर्दै ३३ प्रतिशत महिलाको प्रतिनिधित्व, ४० वर्षमुनिका युवाको अनिवार्य सहभागिता जस्ता व्यवस्थालाई सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
पार्टीभित्र एकताको आवश्यकता रहेको भन्दै भट्टले नेतृत्व व्यवस्थापन आवश्यक भएको बताउनुभयो । लोकतान्त्रिक विधिअनुसार सकेसम्म सहमतिमा जाने र सहमति हुन नसके निर्वाचनमार्फत प्रतिनिधिबाट निर्णय गर्ने बाटो खुला रहेको उहाँले स्पष्ट पार्नुभयो ।
संसद पुनःस्थापना हुनुपर्छ भन्ने एमालेको अडान रहेको उल्लेख गर्दै उहाँले एमाले कुनै पनि समस्याबाट नभाग्ने बताउनुभयो । अवस्थाको वैचारिक रूपमा प्रतिवाद गर्दै छलफलको माध्यमबाट समाधान खोज्ने उहाँको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेपविरुद्ध प्रतिवाद गर्न सक्ने शक्ति एमाले नै भएको उहाँको दाबी छ ।
आगामी महाधिवेशनले नेपालको भविष्य, समाजवादि दिशातर्फको यात्रा तय गर्ने भन्दै उहाँले विकसित मुलुकमा समृद्धि भए पनि जनतामा सुख नदेखिएको उदाहरण प्रस्तुत गर्नुभयो ।
महाधिवेशन ओलीकै नेतृत्वमा एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । पार्टीभित्र एकता बढे जनताको काम अझ प्रभावकारी रूपमा अघि बढाउन सकिने उहाँको बुझाइ छ । विचार विनाको नेतृत्व सम्भव नहुने र विचार त पहिले नै विधान महाधिवेशनबाट पारित भइसकेको भन्दै उहाँले अब नेतृत्वमा स्पष्टता आवश्यक भएको बताउनुभयो ।