ककनी, मङ्सिर २३ गते। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ककनीमा स्थानीयले स्वागत गरेका छन्। गाउँसम्म पिच सडक पुगेपछि महतलाई धन्यवाद दिँदै स्थानीयले स्वागत गरेका हुन्।
नेपाली कांग्रेस ककनीले मंगलबार आयोजना गरेको सडक निरीक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन रानीपौवा पुग्नुभएका महतलाई स्थानीयले स्वागत गरेका हुन्।
कार्यक्रममा डा. महतले अर्थमन्त्री हुँदा एक अर्ब ३२ करोड रुपैयाँको बजेट सुनिश्चित गरेर बहुवर्षीय योजनाका रूपमा सडक निर्माण थालिएको उल्लेख गर्दै कार्य समापनको चरणमा पुगेको देखेर खुशी लागेको बताउनुभयो।
उहाँले रानीपौवादेखि पिपलटारसम्मको सडक स्तरोन्नतीका लागि पनि पहल भइरहेको जानकारी दिनुभयो।
ककनी कांग्रेसका सभापति भाग्यश्री लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सभापति तथा प्रदेश सांसद रमेश महत, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, तादी गाउँपालिकाका पूर्व अध्यक्ष नारायण पाण्डेलगायत उपस्थित हुनुहुन्थ्यो।