• २३ मङ्सिर २०८२, मङ्गलबार

लैङ्गिक हिंसा रोक्न पारिवारिक सचेतना जरुरी छ : सामाजिक विकासमन्त्री तिमिल्सेना

blog

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना ।

साबित्री गिरी 

कोहलपुर,मंशिर २३ गते । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले लैङ्गिक हिंसा रोक्नका लागि पारिवारिक सचेतना जरुरी रहेको बताउनुभएको छ । 

उहाँले घरभित्र र घरबाहिर हुने हिंसाबारे सबैजना जागरुक हुनुपर्ने बताउनुभयो ।उहाँले लैङ्गिक हिंसाको स्वरुप परिवर्तन हुँदै गएको सन्दर्भमा प्रविधिका कारण हुने लैङ्गिक हिंसा प्रति संवेदनशील हुनु पर्नेमा जोड दिनुभयो । 

 लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला समुत्थान परियोजनाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रविधिबाट हुने हिंसा रोक्न सचेत हुनु पर्ने बताउनुभयो । 

शैक्षिक रूपान्तरण बिना हिंसा न्यूनीकरण सम्भव नहुने भन्दै मन्त्री तिमिल्सिनाले घरैबाट सबैले हिंसा विरुद्धको अभियान थाल्नु पर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “पारिवारिक पीडा नै सामाजिक पीडा हो । यसर्थ समाज बनाउने जिम्मा तपाई–हामी सबैको हो । प्रविधि आफैमा गलत कुरा होइन । यसको प्रयोग कसले र कुन नियतले गरिरहेको छ भन्ने कुरामा सदुपयोग वा दुरुपयोग भन्ने हो। यसकारण पनि हिंसा नहोस् भन्नका लागि प्रविधिको सहि सदुपयोग गर्न जरुरी छ ।” 

हिंसा रोक्ने अभियान आफैँबाट सुरु गरे मात्रै सम्भव हुने उहाँको भनाई थियो । प्रविधि प्रयोगका कारण हुने लैङ्गिक हिंसा रोक्न सबैले अविभावकले आफ्ना सन्तानहरूलाई डिजिटल साक्षरतालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । 

प्रविधिका कारण हुने हिंसाका स्वरुप र आयामहरू बदलिदै गएको सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका बरिष्ठ महिला विकास अधिकृत सम्झना सुवेदीले बताउनुभयो । 

समाजका सबै तह र तप्काले लैङ्गिकताको मुद्दालाई १६ दिनसम्म मात्र सीमित नराख्न उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश बिष्ट र लुम्बिनी प्राविधिक विश्वविद्यालयका वरिष्ठ उपप्राध्यापक प्रतिक चन्दले प्रविधिको दुरुपयोग र लैङ्गिक हिंसाबारे छुट्टा–छुट्टै प्रस्तुतिकरण दिनु भएको थियो । 

त्यस अवसरमा सहभागि बिच लुम्बिनी प्रदेशको लैङ्गिक हिंसा,त्यसका कारणहरू र हिंसा रोक्न खेल्न सकिने भूमिका बारे प्रस्तुतिकरण छलफल तथा अन्तरक्रिया गरिएको थियो । 

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय सुशिलावादी तथा सञ्जु कुमारी चौधरी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद ढकाल, जिसस बाँके प्रमुख ज्ञानेन्द्र चौधरी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्र भट्ट तथा पत्रकार महासङ्घ लुम्बिनी अध्यक्ष सुक्रऋषि चौलागाईं लगायतले लैङ्गिक हिंसा रोक्न सबैले भूमिका खेल्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो । 

कार्यक्रममा मन्त्री तिमिल्सेना सहितका सहभागीले लैङ्गिक हिंसा हुन नदिन सामूहिक रुपमा लिखित प्रतिबद्धता जनाएका थिए ।